काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले देशका सातै प्रदेशमा पर्ने गरी प्रमुख १४ सहरमा डेटा सेन्टर स्थापना गर्ने भएको छ । अहिले संचालनमा रहेका डेटा सेन्टर अधिकतम प्रयोगमा रहेको र विश्वस्तरीय डेटा सेन्टर नभएकोले नयाँ डेटा सेन्टर स्थापना गर्न लागिएको हो ।
सरकारले लिएको डिजिटल नेपाल सपना साकार पार्नको लागि पनि डेटा सेन्टर आवश्यक परेको कम्पनीका अध्यक्ष दिलिप अग्रवालले बताए ।
‘सरकारले डिजिटल नेपाल बनाउने योजना अघि सारेको छ, डेटा सेन्टर विदेशमा राखेर डिजिटल नेपालको सपना पूरा गर्न सकिदैन, सरकारको सपना पूरा गर्नको लागि पनि हामीले यो प्रयास गरेका हौं,’ अध्यक्ष अग्रवालले भने ।
उनले डेटा सेन्टर बनाउनको लागि विज्ञदेखि प्रविधिसम्म आवश्यक पर्ने भएकोले विदेशी कम्पनीसँग सहकार्य गरेर अघि बढिने उनले जानकारी दिए । डेटा सेन्टरमा अन्य इन्टरनेट सेवा प्रदायक (आइएसपीहरु), टेलिकम सेवा प्रदायक कम्पनीहरु, बैंक वित्तीय संस्थाहरु, नेपाल सरकारका विभिन्न निकाय तथा कार्यालयहरु, गैरसरकारी संस्थालगायतले डेटा सेन्टर प्रयोग गर्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले जानकारी दिए ।
कम्पनीका चिफ टेक्निकल अफिसर (सीटीओ) समित जानाले दिएको जानकारी अनुसार कम्पनीले १४ सहरमा डेटा सेन्टर स्थापना गर्नको लागि करिब ३ अर्ब रुपैयाँ लगानी गर्ने योजना बनाएको जानकारी दिए ।
‘नेपालमा अहिले भएका डेटा सेन्टर अधिकतम उपयोगमा पुगिसकेका छन्, विश्वस्तरीय डेटा सेन्टर अहिलेसम्म बनेका छैनन्, पछिल्लो समय नेपालका विभिन्न स्थानबाट कन्टेन्ट आउने भएकोले नयाँ डेटा सेन्टर स्थापना जरुरी देखियो,’ सीटीओ जानाले भने ।
कम्पनीले अबको २ देखि ३ वर्षभित्रमा डेटा सेन्टर निर्माण गरिसक्ने जानकारी दिएको छ । डेटा सेन्टर बनाउनको लागि ३ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ ।
वल्र्डलिंकले काठमाडौं, भरतपुर, लेखनाथ, बुटबल, हेटौडा, दुहबी, भक्तपुर, बिरगन्ज, ढल्केबर, कोहलपुर, अत्तरिया, सुर्खेत, भैरहवा र काठमाडौंमा अर्काे डेटा सेन्टर बनाउन लागेको हो ।
यसरी डेटा सेन्टर बनाउनेमध्ये काठमाडौंमा बनाउन लागिएको पहिलो डेटा सेन्टर र भरतपुरको लागि जग्गा खरिद गरिसकिएको र भवन निर्माणको डिजाइन तयार भएको कम्पनीले जानकारी दिएको छ ।