एजेन्सी । अफ्रिकी मुलुक युगान्डाले फेसबुक लगायत अन्य सोसल मिडियामाथि प्रतिबन्ध लगाएको छ । युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनीले मंगलबार यस्तो कदम चालेका हुन् ।
यसै हप्ता युगान्डामा राष्ट्रपतिको चुनाव हुँदैछ । युगान्डाको राजधानी कम्पालामा भाषण गर्दै राष्ट्रपति योवेरीले सोसल मिडिया प्लेटफर्म प्रतिबन्ध लगाएको घोषणा गरेका हुन् । न्युयोर्क टाइम्स का अनुसार उनले फेसबुकलाई अहंकारी भएको आरोप समेत लगाएका छन् । केही दिन अघि मात्रै फेसबुकले दुई जना मुसेभेनिका समर्थकहरुको खाता बन्द गरिदिएको थियो । राष्ट्रको सुरक्षामाथि खतरा भएको भन्दै फेसबुक बन्द गरिएको उनले प्रतिक्रिया दिएका छन् ।
राष्ट्रपति मुसेभेनीले फेसबुक युगान्डा सरकारका विरुद्ध लागेको समेत आरोप लगाएका छन् । को असल, को खराब भन्ने अधिकार फेसबुकलाई नभएको उनले टिप्पणी गरेका छन् । ‘किन कसैले त्यसो गर्छ ?’ मुसेभेनीले भने, ‘मैले मेरा जनताहरुलाई फेसबुकको प्रयोग नगर्न भनेको छु ।’ फेसबुक लगायतका सोसल मिडिया प्लेटफर्म बन्द गर्नु दुर्भाग्य भएको बताउँदै उनले प्रयोगकर्ताहरुसँग माफी पनि मागेका छन् । सन् २०१६ को चुनावमा पनि युगान्डाले फेसबुकमाथि प्रतिबन्ध लगाएको थियो ।