एजेन्सी । सन् २०२० मा संसारभरको अर्थतन्त्रमा कोरोना महामारीले ठूलो असर पुर्यायो । तर, टेस्ला कम्पनीको सम्पत्तिको मूल्य भने ह्वात्तै बढ्यो । यो सँगै विद्युतीय कार उत्पादन गर्ने कम्पनी टेस्लाका सीईओ एलन मस्क संसारकै धनी व्यक्तिको सूचीमा उक्लिएका छन् ।
दक्षिण अफ्रिकामा जन्मिएका अमेरिकी उद्यमी तथा व्यापारी एलनको सम्पत्ति १ सय २८ बिलियन डलर अर्थात १ सय ५१ खर्ब ३८ अर्ब ५६ करोड रुपैंयाँ भन्दा बढी छ ।
स्पेसएक्सका संस्थापक एलन अमेजनका सीईओ जेफ बेजोसलाई पछि पार्दै संसारकै धनी व्यक्ति बन्न सफल भएका हुन् । कम्पनीको बजार पूँजीकरण बढेपछि अब फेसबुकभन्दा टेस्ला मूल्यवान कम्पनी बनेको छ । टेस्ला सन् २००३ देखि सञ्चालनमा आएको हो । ब्लुमबर्गका अनुसार टेस्ला गत बुधबार मात्रै ७ सय अर्ब डलर मूल्यको कम्पनी बन्न सफल भएको छ ।
एलनको नामका पछाडी थुप्रै पहिचानहरु जोडिएका छन् । लगानीकर्ता, उद्यमी साथै उनी पेशाले इन्जिनियर पनि हुन् । परोपकारी काममा पनि उत्तिकै सक्रिय भइरहने उनी स्पेसएक्सका संस्थापक हुन् । अन्तरिक्ष अन्वेषण प्रविधिको क्षेत्रमा सक्रिय यस कम्पनीले सन् २०१६ मा रकेट लन्च गरेको थियो । सन् २००२ मा स्पेसएक्सको स्थापना भएको थियो ।

महत्वकांक्षी एलन
दक्षिण अफ्रिकामा जन्मिएका एलन १७ वर्षकै उमेरमा क्यानाडा छिरे । त्यसपछि अध्ययनका लागी उनी अमेरिका हानिए । क्यानेडियन आमा र दक्षिण अफ्रिकी बुबाका सन्तान एलन विद्युतीय कारबाट पृथ्वीमा क्रान्ति गर्न चाहन्छन् । उनले स्थापना गरेको टेस्ला त्यसैको उपज हो । यसले विद्युतीय कारमा प्रयोग हुने पाट पुर्जा र ब्याट्री पनि उत्पादन गर्छ । यति मात्र होइन घरका लागी सोलार इनर्जी सिस्टम पनि उत्पादन गर्छ ।
एलन यति महत्वकांक्षी छन् कि अन्तरिक्षमा पनि बस्ति बसाउन सकिन्छ भन्ने मान्यता बोक्छन् । उनले चन्द्रमा र मंगल ग्रहमा बस्ती बसाउन सकिन्छ भन्ने सपना पालेका छन् । केही अघि उनले भनेका थिए, ‘आफ्नो कमाईको आधा सम्पत्ति पृथ्वीका समस्या समाधान गर्न र मंगल गृहमा बस्ती बसाउन खर्चिने छु ।’
सन् २००२ देखि उनले सञ्चालनमा ल्याएको स्पेसएक्स कम्पनीले रकेट उत्पादन गर्छ । एलन जस्तोसुकै जोखिम मोल्न पछि पर्दैनन् । सायद त्यही कारण उनी सफल छन् । २७ वर्षको उमेरमा मात्र उनले व्यवसायिक यात्रा सूरु गरेका हुन् । जिप-२ कम्पनी खोलेर उनले बिक्री गरेका थिए ।

एलनको बाल्यकाल
उनी कम्प्युटरमा बढी चासो राख्थे । १२ वर्षको उमेरमै उनले एउटा सफ्टवेयरको निमार्ण गरेका थिए, जसको नाम थियो ब्लास्टर । बायोग्राफी डट्कमका अनुसार स्कुलमा अध्ययनरत छँदा उनी अन्तर्मुखी स्वभावका थिए । कोर्ष बाहिरका पुस्तकमा पढ्नमा उनी विशेष रुचि राख्थे । १५ वर्षमै कराँते र रेस्लिङ सिकेका थिए ।
एलनको बाल्यकाल भाइ किम्बल र बहिनी टोस्कासँग दक्षिण अफ्रिकामा बित्यो । १७ वर्षको उमेरमा क्यानाडाको क्विन्स युनिभर्सिटीमा अध्ययनका लागी पुगे । त्यहाँ बस्दा उनले क्यानेडियन नागरिकता पनि लिए । उनी चाहन्थे, पछि अमेरिकी नागरिक बन्नका लागी बाटो सहज बनोस् । सन् १९९२ मा बिज्नेस र फिजिक्स अध्ययनका लागी अमेरिका पुगे । पछि अर्थशास्त्र र फिजिक्स पढे ।
क्यालिफोर्नियाको स्ट्यान्डफोर्ड युनिभर्सिटिमा इनर्जि फिजिक्स विषयमा पिएचडि गर्न पुगे पनि उनले बिचैमा छाडिदिए । इन्टरनेट बुमको बेला थियो त्यो । दुई दिनमै युनिभर्सिटि छाडेका एलनले सन् १९९५ मा जिप-२ कर्पोरेसन खोले । अनलाइन सिटी गाइडले द न्युयोर्क टाइम्स र सिकागो ट्रिब्युन का लागी कन्टेन्टहरु उत्पादन गर्थ्याे । यो कम्पनी बिक्री गरेर उनले ठूलो पैसा हात पारे । त्यसको ७ वर्षपछि त अमेरिकी नागरिक बन्ने उनको सपना पूरा भयो ।
अफ्ठ्यारासँग जुझ्दै एलन
एलनलाई पारिवारिक बियोगको पीडा खपे । कुनै बेला आर्थिक संकटले उनलाई यति गाँजेको थियो कि साथीभाईसँग उनले पैसा सापटि माग्नु पथ्र्यो । एलनकी आमा मये एक क्यानेडियन मोडल हुन् भने बुबा एरल अफ्रिकन इन्जिनियर हुन् । एलन हुर्किँदै गर्दा परिवार पाल्न उनकी आमाले ५ ठाउमा जागिर गरिन् । तर दुखद कुरा १० वर्षको छँदै उनका आमा, बुबाबीच डिभोर्स भयो । एलन पैसा, सम्पत्तिभन्दा पनि कामलाई बढी महत्व दिने व्यक्तिभित्र पर्छन् । कठिन परिस्थितिमा पनि जुधेर अघि बढ्ने एलन दूरदर्शी उद्यमी हुन् । तर, उनी आफूलाई एक इन्जिनियरका रुपमा चिनाउँन चाहन्छन् ।