काठमाडौं । सुन्दर शहरलाई कुरुपतातर्फ धकेल्ने मुृख्य काम गरिरहेका छन् लथालिङ्ग अवस्थामा रहेका गुजुल्टो परेका तार । शहरी क्षेत्रमा निजी इन्टरनेट सेवाप्रदायक, केवल अपरेटर तथा अन्य संघ संस्थाका तारले सौन्दर्य बिगारिरहेका छन् ।
दिनप्रतिदिन आउने केवल अपरेटर र विभिन्न तारका संघ संस्थाका तारहरुले शहर कुरुप देखिन थालेपछि नेपाल नेपाल दूरसञ्चार प्राधिकरणले पटक–पटक तार व्यवस्थित निर्देशन दिँदै आएको थियो । प्राधिकरणले दशैं अगाडि पनि त्यस्त अव्यवस्थित तार हटाउन आग्रह गरेको थियो । तयति बेलै पनि प्राधिकरणले तार नहटाए आफैं हटाइदिने चेतावनी दिएको थियो ।
प्राधिकरणको आग्रहलाई विभिन्न केवल अपरेटर तथा संघ संस्थाहरुले वेवास्ता गरेपछि अहिले प्राधिकरण त्यस्ता तारहरु हटाउन आफै सक्रिय बनेको हो । लत्रिएका तारहरुले शहरमा गम्भीर दुर्घटनासमेत भएको तर तार राख्ने निकायले त्यसप्रति कुनै जिम्मेवारी नै नलिएको भन्दै प्राधिकरणले तारहरु आफै हटाउने कदम चालेको हो ।
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले अव्यवस्थित तारका कारण शहरी क्षेत्रमा दुर्घटना बढेको र आगलागीका घटनामा समेत वृद्धि भएकाले नियन्त्रणका लागि विभिन्न समयमा आग्रह गर्दा पनि नमानेपछि प्राधिकरण आफै एक्सनमा उत्रिएको बताए ।
‘इन्टरनेट सेवाप्रदायक, केवल अपरेटर तथा अन्य सङ्घ संस्थाले टेलिफोन तथा बिजुलीको खम्बामा अव्यवस्थितरूपले शहरको सुन्दरतामा नै असर पारेका छन्, चोकचोकमा तारका कारण समस्या परेको छ, शहरको सुन्दरता र क्षतिको पूर्व मूल्यांकन गर्दै हामीले काम गर्न थालेका हौं,’ उनले भने ।
यस्तै इन्टरनेट सेवाप्रदायक, केवल अपरेटरले टाँगेका तार झुण्ड्याउने तथा सडक पार गराउने लगायतको कार्य गरेकाले शहरको सुन्दरतामा नै ह्रास आएको प्राधिकरणको भनाइ छ । गत साता ललितपूर क्षेत्रमा लत्रिएका तारहरुको व्यवस्थापन पनि प्राधिकरणकै पहलमा व्यवस्थित गरिएको छ ।
उक्त मापदण्ड अनुसार तारहरुबाट हुने जोखिमलाई कम गर्न फाइबर जडान गर्ने तथा लेबलिङ गर्ने बताइएको छ । यसरी तारहरु जडान गर्दा सुरक्षा र सुन्दरताका हिसाबले राम्रो हुने बताइएको छ ।
प्राधिकरणको पहिलो प्राथमिकतामा १५ वटा शहरहरु हरेका छन् । १५ वटा शहरमा भएका अव्यवस्थित तारहरुलाई वयवस्थित गर्ने प्राधिकरणको नीति तथा कार्यक्रममै उल्लेख छ । पहिलो चरणमा देशका महानगरपालिका र उपमहानगरपालिकामा पर्ने शहरहरुमा भएका अव्यवस्थित तारहरु व्यवस्थित गरिने अर्यालले बताए ।
६ मिटरभन्दा तलका तारहरु काटिने
विभिन्न केवल अपरेटरहरुले कतिपय स्थानमा अव्यवस्थित रुपमा तारहरु राख्दा त्यसको असर सुरक्षा र सुन्दरतामा देखिएको छ । तारहरु लत्रेर हिड्न अफ्ठयारो हुने अवस्था छ भने केही स्थानहरु विद्युतिय जोखिममा पनि छन् ।
जोखिम न्यूनिकरणकालागि ६ मिटर भन्दा तलका तारहरु तत्काल काट्ने प्राधिकरणको भनाई छ । ‘केही तारहरु प्रयोग बाहिर रहेका तारहरुपनि भेटिन्छन्, त्यस्ता प्रयोगमा नरहेका तारहरु हटाउन सम्बन्धित सबैले प्राथमिकता दिएको छ,’ अर्यालले भने ।
‘सेवा प्रदायकहरुले अब तारहरुलाई व्यवस्थापन गर्दै जानु हुनेछ, समन्वय पनि भइ सकेको अवस्था छ, पहिलेदेखि नै हामी भन्दै आएका छौं, उक्त समन्वय अनुसार आफ्नो आफ्नो तारहरुको व्यवस्थापन सम्बन्धित सेवा प्रदायकहरुले गर्नेछन्,’ उनले भने ।
प्राधिरकणले अव्यवस्थित तारलाई व्यवस्थित गर्न भूमिगत गर्ने योजना समेत बनाएको छ ।