काठमाडौं, २० बैशाख । संघिय नेपालको दुई नम्बर प्रदेशका सांसदहरुले विकासे रोडम्याप तयार पारेका छन् । सो क्षेत्रको प्रतिनिधित्व गर्ने ३१ जना सांसदहरुले फास्ट ट्रयाक, निजगढ विमानस्थल, हुलाकी राजमार्ग, पुर्व पश्चिम रेलवे, औद्योगीक क्षेत्रको विस्तार लगायतका एक दर्जन बढि योजना अघि सारेका छन् । बारा क्षेत्र नम्बर ६ का सांसद पुरुषोत्तम पौडेलको संयोजकत्वमा समुह बनाएर दुई नम्बर प्रदेशका सांसदहरुले विकासे योजना अघि सारेका हुन् । आगामी आर्थिक बर्षको बजेट मार्फत ती योजनाका लागि यथेष्ठ बजेट बिनियोजन गराउन प्रधानमन्त्रीलाई समेत भेटिसकेका छन् ।
‘हामीले दुई नम्बर प्रदेशको विकास र समृद्धिका योजनाको खाका तयार पारेका छौं, त्यो खाका प्रधानमन्त्रीलाई बुझाएर नयाँ बजेटमा समावेश गर्न आग्रह समेत गरिसकेका छौं ।’ रौतहत क्षेत्र नम्बर ६ का सांसद रामकुमार भट्टराईले भने । उनीहरुको अभियानमा सो प्रदेशका ३२ जना सांसदहरुको सहभागीता रहेको छ । ‘दुई नम्बर प्रदेशको विकास हाम्रो मुल ध्येय हो, पाँच जना भएपनि अभियान जारी रहन्छ, तर हामीले सबैको साथ पाईरहेका छौं ।’ अभियानका संयोजक सांसद पुरुषोत्तम पौडेलले भने ।
सर्लाहीकी सांसद रञ्जना सरकारले दुई नम्बर प्रदेशको विकास र समृद्धि बिना देशमा स्थिरता सम्भव नभएको बताउँदै त्यसका लागि आफुहरु लागिपरेको बताईन् । पर्साका सांसद विचारी यादवले दुई नम्बर क्षेत्रलाई देशकै विकसित र समृद्ध क्षेत्र बनाउने अठोट सहित विकासे रोडम्याप तयार पारिएको बताए ।
यस्ता छन् विकासे योजना
फास्ट ट्रयाक
काठमाडौं–तराई–फास्ट ट्रयाकलाई पहिलो प्राथमिकतामा राखेका छन् । त्यसँगै पथलैया–निजगढ तथा पथलैया–बिरगञ्ज सडकलाई ६ लेनको बनाउनु पर्ने अवधारणा अघि सारेका छन् ।
तराई मधेश हुलाकी राजमार्ग
तराई मधेशको लाइफलाइनका रुपमा अघि बढाइएको हुलाकी राजमार्गलाई उनीहरुले अर्काे महत्वपुर्ण विकासे परियोजनाका रुपमा अघि सारेका छन् । त्यसका लागि यथेष्ठ बजेट बिनियोजन गर्न पनि सरकारसँग माग गरेका छन् ।
पुर्व–पश्चिम रेल वे
जनकपुर–वर्दिबास–पथलैया रेलवे निर्माणलाई पनि द्रुत गतिमा अघि बढाउनु पर्ने र त्यसका लागि आवश्यक बजेट तर्जुमा गरिदिन सरकारसँग आग्रह गरिएको छ ।

औद्योगीक क्षेत्र
बिरगञ्ज–पथलैया औद्योगीक करिडोरकोे व्यवस्थित विकास, सिमरा–डुमरवाना बिशेष आर्थिक क्षेत्र, जनकपुर–सागरनाथ औद्योगीक क्षेत्र र राजबिराज औद्योगीक क्षेत्रको सञ्चालन तथा विकासका लागि पनि उनीहरुले जोड दिएका छन् ।
तराई पर्यटन
जानकी मन्दिरसहित वृहत्तर जनकपुर क्षेत्र, बराह क्षेत्र–चतराधाम, गढीमाई मन्दिर, बाराको शहिद हिरालाल पार्क, पर्सा बन्यजन्तु आरक्ष, सिम्रौनगढ क्षेत्र, छिन्नमस्ता, लोहराज ताल, सलेश धाम, मानिक दह ताल, जलेश्वर महादेव, सोनामाई, टुटेश्वर, गहवा पोखरी, नुनथर लगायतका क्षेत्रको विकास र प्रचार गर्न ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
कृषि क्षेत्रको वैज्ञानिक व्यवसायीकरण
उनीहरुले सिरहा र सप्तरीलाई आँप, धनुषा र महोत्तरीलाई माछा, सर्लाही र रौतहटलाई धान र गहुँ, तथा बारा र पर्सालाई उखु र माछाको पोकेट क्षेत्रका रुपमा अघि बढाउनु पर्ने उनीहरुले बताएका छन् ।
त्यसका अलवा सांसदहरुले तराई मधेशमा व्यवस्थित शहरको विकास, सुनकोशी, कमला र बागमति नदिमा सिंचाई परियोजना सञ्चालन गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

