जहाँ कोरोनाको त्रास छैन

<p>विद्यालय तहमा पढ्दा साथीहरुसँग एउटा शिर्षकमा वादविवाद निकै खेलिन्थ्यो । हरेक शुक्रबार आउने बित्तिकै वादविवादको शिर्षक हुन्थ्यो, ‘शहरी जीवनभन्दा गाउँले जीवन बेश वा गाउँले जीवनभन्दा शहरी जीवन बेश ।’ सरहरुले बिहीबार नै वादविवादको शिर्षक दिनुहुन्थ्यो । बिहीबार रातभर किताबका पाना खोजी–खोजी सोही शिर्षकको पाठ गज्जवले घोकिन्थ्यो । पछिल्लो दिन शुक्रबार आउँछ । बिहीबार रातभर रटेको [&hellip;]</p>

विद्यालय तहमा पढ्दा साथीहरुसँग एउटा शिर्षकमा वादविवाद निकै खेलिन्थ्यो । हरेक शुक्रबार आउने बित्तिकै वादविवादको शिर्षक हुन्थ्यो, ‘शहरी जीवनभन्दा गाउँले जीवन बेश वा गाउँले जीवनभन्दा शहरी जीवन बेश ।’

सरहरुले बिहीबार नै वादविवादको शिर्षक दिनुहुन्थ्यो । बिहीबार रातभर किताबका पाना खोजी–खोजी सोही शिर्षकको पाठ गज्जवले घोकिन्थ्यो । पछिल्लो दिन शुक्रबार आउँछ । बिहीबार रातभर रटेको सबै पाठ सकि नसकि भनिन्छ । सरहरुले गरेको मूल्याकंनको नतिजा आउँछ । मेरो स्मरण रहेसम्म वादविवादमा म पहिलो दोस्रो वा तेस्रो नभएको शुक्रबार हुन्थेन ।

तर, मैले पनि एकिन गर्न सकेको थिएनँ कि शहरमा बेश कि गाउँमा । चिट तानेर दुई मध्ये एक शिर्षकमा आफ्नो धारणा म गज्जवले राख्थेँ । किनकि म ती दुवै विषयको बारेमा रातभर घोक्थेँ । तर, बोलेरै पहिलो, दोस्रो वा तेस्रो भएको स्मरण भने ताजै छ । मन खोलेर भन्दा मलाई पनि थाहा थिएन कि साँच्चिकै गाउँमा बेश कि शहरमा ?

यो प्रश्नको उत्तर मैले यो ब्लगमार्फत दिन खोजेको छु । यसको लागि तपाईले म सँगै यात्रा गर्नुपर्ने हुन्छ ।

दशैं आउन १ हप्ता बाँकी थियो । गत वर्षहरुमा एक हप्ता बाँकी हुँदा काठमाडौंबाट घर फर्किँदा फरक खालको माहोल हुन्थ्यो । घरपरिवार र आफूलाई चाहिने लुगाकपडाहरु खरिद गर्न बजारमा ब्यस्त भइन्थ्यो । यो वर्ष भने मैले न कुनै सपिङ गरेँ, नत कोठा बाहिर नै निस्केँ ।

दशैंमा घर जाने वा नजाने निक्र्यौल पनि गर्न सकिएन । कोरोना भाइरसकै डरले ५/६ महिनादेखि कोठाबाटै काम गरिहरेको थिएँ । एकातर्फ दशैंमा घर जाने हुटहुटीले मन छटपटाइरहेको थियो भने अर्कोतिर कोरोनाको डरले मन सिथिल तथा संकुचित । यहीबीचमा रुम पाटर्नर दिनेशसँग परामर्श गरेर हामी सुरक्षित भएर घर जाने निर्णय भयो ।

घर आउनुभन्दा एक हप्ता अगाडि नै हामीले टिकट लियौं । टिकट लिइसकेपछि पनि काठमाडौंमा कोरोना संक्रमण दर झन–झन बढ्यो । हाम्रो मुटु कोरोनानाको संक्रमण दरभन्दा झन बेगले चल्न थाल्यो । कतै सरकारले यहीबीचमा लकडाउन त गर्ने होइन ? त्यो एक हप्ताको अवधिमा हाम्रो मनमा यो प्रश्नले ठाउँ जमाउँदै गयो ।

यसरी एक हप्ताको चिन्तापूर्ण दिनहरु हामीले कोठाभित्रै काट्यौं । असोज ३० गतेको हाम्रो टिकट थियो । अघिल्लो दिन झन मनमा अनेकौं प्रश्नहरु उत्पन्न हुन थाले । भोलि त घर जाने दिन । जाने कि नजाने ? काठमाडौंमा कोरोनाको यति ठूलो त्रास छ । हामी घर गयौं भने कतै घरको मानिसले असहज महसुस त गर्दैनन् ?

म मात्र होइन, साथी दिनेशले पनि बेला–बखत मलाई यस्तै जिज्ञासाहरु गरिरहन्थे । असाेज ३० गते बिहान साढे ८ बजेको जहाज धनगढीका लागि उड्नेवाला थियो । बिहानै उठियो । फ्रेस भइयो । मनमा त्रास उतिकै। आफूलाई कोरोना संक्रमण हुने डरभन्दा पनि आफूसँग कोरोना रहेछ भने घरपरिवारलाई सारिन्छ कि भन्ने सबैभन्दा ठूलाे चिन्ता ।

त्योबीचमा पीसीआर परीक्षण गर्ने सोच पनि नआएको होइन । तर पीसीआर परीक्षण गरिहाले पनि नतिजाकाे लागि एक हप्ता नै कुर्नु पर्ने बाध्यता । त्यो समयसम्म हामी धनगढी पुगिसकेका हुन्छौं । त्यसैले पनि पीसीआर परीक्षणतिर लागिएन ।

त्यतिकैमा मोबाइल बज्यो , मैले मोबाइलतर्फ आँखा लगाएँ । मेसेज आएको रहेछ । सम्पादक शिव सत्याल सरले शुभयात्रा, ह्याप्पी दशैं भनेर एकाबिहानै पठाएको मेसेजले अघि मनमा स्थान लिँदै गरेको चिन्तालाई केही हलुको भएको मैले महसुस गरेँ ।

त्यसको लगत्तै प्रधान सम्पादक रामकृष्ण पौडेल सरले फोन गर्नुभयो । उहाँले यात्रामा सजग भएर घर जान र उच्च सर्तकता अपनाउन लगायतका सुझाव सल्लाह दिनुभयो । केही मिनेटको उहाँसँगको कूराकानीले पनि मन थप हलुको भएको मैले आभास गरेँ । किन ? उत्तर मलाई पनि थाहा छैन । तर, अगाडिदेखि मनमा लिइरहेको चिन्ताले आधा स्थान छोडिसकेको थियो ।

एउटा ट्याक्सी लिएर दिनेशसँगै त्रिभुवन विमानस्थलतर्फ लाग्यौं । विमानस्थलमा पनि यात्रुको ठूलो भिड । त्यो भिडले अघिल्लो दिन एक पत्रिकामा ‘बसपार्कभन्दा विमानस्थलमा यात्रुको ठूलो भिड’ भन्ने शिर्षक स्मरण गर्न बाध्य बनायो ।

विमानस्थलमा पनि लाईनमा लागेर टिकेटिङको काम गर्यौं । विमानस्थललको भिडले मनलाई भित्रैभित्र झनै तरंगित बनाइहरेको थियो । विमानस्थलमा भनेजति सुरक्षा सतर्कता मैले पाइनँ । जति एउटा कोठामा बसेर आएका समाचार हेरर सुरक्षा सतर्कता अपनाइन्छ भनेको थियो, त्यो दृश्य मेरो आँखाले विमानस्थलमा देख्न पाएन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज धनगढीका लागि उड्यो । जहाजबाट देखिएका मनोरम हिमालयहरुले कोरोनालाई चुनौती दिइरहेका थिए । कोरोनाको त्रासले संकुचन भएको मेरो मन केही मिनेटको सेताम्ये हिमालले निकै फराकिलाे बनाएकाे महसुस गरेँ । करिब ५५ मिनेटपछि जहाज धनगढी विमानस्थलमा अवतरण भयो । हामीलाई लिन धनगढीबाट दाई पाण्डव पूजारा आउनु भएको थियो । शुरुमा उहाँसँग सँगै बस्न असहज महसुस गरेँ । तर, उहाँमा खासै सतर्कता नदेखेपछि गाडीमै धनगढीतर्फ लाग्यौं ।

काठमाडौंको कोरोना महामारीको खाल्डोबाट धनगढी गएका हामी हामीमाथि नै शंका गरिरहेका थियौं । कतै हाम्रो कारणले अरुलाई कोरोना त सर्ने होइन भन्ने बढी चिन्ता थियो । धनगढी विमानस्थलबाट मनमा भएको कोरोनाको त्रासदी बोकेर निवासरतिर लाग्यौं ।

गाडीमा अनेकन प्रश्नहरू  उब्जिए । सडकमा मास्क प्रयोग गर्नेकाे संख्या निकै कम । काठमाडौंको सडकमा मास्क प्रयोग नगरेका बिरलै भेटिन्थे । कोठा बाहिरको पसलमा जाँदा पनि हातमा पञ्जा र मास्क प्रयोग गरेको बानी । धनगढी मुख्य सडकमै धेरैले मास्क नै प्रयोग नगरेको दृश्यले आश्चर्य लाग्नु स्वभाविक नै थियो ।

तर, त्यो अवस्था धनगढी बजारको सडकमा मैले नदेख्दा अनेकौं प्रश्नहरु उठे । केही प्रश्न मैले पाण्डव दाइलाई सोधेँ । पहिले मानिसहरुले धेरै स्वास्थ्य सुरक्षाका विधिहरु अपनाए पनि अहिले विस्तारै मास्क लगाउन पनि छोड्न थालेको उहाँले प्रतिक्रिया दिनुभयो ।

चाडबाड नजिकिएसँगै सरकारका प्रतिनिधि र डाक्टरहरुले बारम्बार आग्रह गरेका थिए, ‘यसपालीको दशैँ जहाँ हुनुहुन्छ त्यहीँ मनाउनुहोस्, स्वास्थ्य सुरक्षाका मापदण्ड ख्याल गर्नुहोस् ।’

यी वाक्यहरु घरपुग्दासम्म खेलिरहे । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलबारीमा पुगेँ । हातमा पञ्जा, मुखमा मास्क, खल्तीमा स्यानिटाइजर । सुरक्षा सतर्कता मैले अपनाएको थिएँ । शुरुमा घरपरिवारसँग घुलमिल अर्थात नजिक जान पनि डराएँ ।

घर पुगेको पछिल्लो दिन अर्थात कात्तिक १ गते घर बाहिर निस्किनँ । कतै आफूमा कोरोना संक्रमण छ भने अरुलाई सर्छ कि भन्ने पीर थियो मनमा ।

तर, म आएको थाहा पाएपछि गाउँका साना नानी बाबुहरु घरमै पुगे । उनीहरुबाट म टाढै बस्न प्रयास गरेपनि नजिकै आएपछि उनीहरुको जिद्दीको अगाडि मेरो केही जाेर चलेन ।

मास्कबिनै नजिक आएका उनीहरु कोरोनालाई चुनौती दिइरहेको थिए । न बालबालिका, न युवा न वयस्क, नत वृद्धलाई नै कोरोनाको चिन्ता छ मेरो गाउँमा । मानिसले स्वतन्त्र रुपमा सडकमा गाडी गुडाइरहेका छन् । न मुखमा मास्क छ, न सामाजिक दूरी । कोरोनालाई वेवास्ता गरेर मानिसहरु स्वतन्त्र रुपमा सडकमा निस्किरहेका छन् ।

हुन पनि जति कोेरोनाको वेवास्ता छ, त्यो अनुसारको संक्रमण फैलनु पर्नेमा अहिले धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा सक्रिय संक्रमितको संख्या शून्य छ ।

गाउँमा धेरैलाई मैले मास्क किन लगाउँनु हुन्न भन्ने प्रश्न गरेँ । उनीहरु गाउँको हावाले कोरोना उडाउँछ, हामीलाई कोरोना लाग्दैन , किन लगाउनु पर्यो मास्क भन्ने लगायतका प्रतिक्रिया दिन्छन् । त्यो जवाफले हाँस्नु बाहेक मेरो मुखमा शब्द नफुरेकै हो । करिब ६ महिना काठमाडौंको कोठाभित्रैबाट काम गरेको अनुभव छ मसँग । कोठाबाटै काम गर्दा कहिले ज्वरो आएको जस्तो महसुस हुने, कहिले टाउको दुख्ने, कहिले पूरै शरिर दुख्ने लगायतका लक्षण मलाई देखिन्थे ।

आफूलाई कतै कोरोना त लागेन भन्ने अनेकन प्रश्न मनमा आउँथे । तर, अहिले म गाउँमा छु । काठमाडौंमा बसेर दैनिक लिने पीर सन्ताप अहिले आफै हराएर गएकाे छ । कोठा बाहिर जाँदा पनि मास्कलगायत अन्य स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्ने म गाउँमा आएर मास्क लगाउन छोडिसकेको छु ।

काठमाडौंमा हुँदा अनेकन समस्याहरु देखिने मेरो शरिरमा आजभोलि ती समस्याहरु देखिन छोडिसकेका छन् । काठमाडौंमा स्वास्थ्य सुरक्षा अपनाएर पनि बेग्लै खालको पीर तथा मानसिक तनाव हुन्थ्यो । तर अहिले गाउँमा मास्क नलगाएर पनि न त्यास्ता कुनै लक्षण देखिन्छन् नत मानसिक चिन्ता नै ।

काठमाडौंमा बस्दा दैनिक कोरोनाका बिरामीहरु गणना गरेर बस्ने म आजभोलि देशमा कति संक्रमित छन् कुनै मतलब छैन ।

काठमाडाैं छँदा म सोच्थेँ, यसपालिको दशैंमा गाउँघरमा नरामाइलो होला । टिका लगाउन एक अर्काको घर कोहि नजालान् । तर, गाउँमा त्यो उल्टो देखियो । सबैले एक आपसमा मिलेर दशैं मनाए ।

गाउँमा न सामाजिक काम रोकिएको छ, नत सामाजिक भेलाहरु रोकिएका छन् । गाउँमा न कोरोनाको डर छ । न स्वास्थ्य सुरक्षा अपनाइएको छ नत कोरोनाका संक्रमितहरु छन् । त्यसैले म भन्छु गाउँ नै बेश छ ।

Share News