काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको निःशुल्क उपचारबाट सरकार पछि हट्न लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सबै संक्रमितको अब सरकारले निःशुल्क उपचार नगर्ने संकेत गरे ।
मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा गौतमले निःशुल्क कोभिड १९ को लागि लक्षित समूह पहिचान गरिएको बताए । उनले आर्थिक रुपमा विपन्न, अशक्त र असाह्य अवस्थामा रहेका नागरिक, एकल महिला, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरु, सररफाई कर्मचारी, सुरक्षाकर्मीहरु लगायत जोखिमपूर्ण क्षेत्रमा काम गर्ने कर्मचारीहरु लक्षित समूहमा परेको जानकारी दिए ।
‘निःशुल्क कोभिड–१९ को लागि लक्षित समूह भनेको आर्थिक रुपमा विपन्न, अशक्त र असाहय अवस्थामा रहेका नागरिक, एकल महिला, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरु, सररफाई कर्मचारी, सुरक्षाकर्मीहरु लगायत जोखिमपूर्ण क्षेत्रमा काम गर्ने कर्मचारीहरुमा लक्षण वा चिन्ह देखिएमा परीक्षण निःशुल्क गरिनेछ तर उल्लेखित व्यक्तिहरुले कुनै बीमा कम्पनीबाट कोरोना बीमा गरिएको भएमा परीक्षण र उपचार खर्च निजको बीमा रकमबाट व्यहोरिने छ,’ प्रवक्ता प्राडा गौतमले भने ।
उनले यो अभिव्यक्तिबाट दुईटा कुराको संकेत गरेका छन् । पहिलो कुरा त सबै नागरिकको कोरोना संक्रमणको परीक्षणदेखि उपचारसम्म निःशुल्क हुदैन । निःशुल्क परीक्षण र उपचार गर्ने समूह भनेका यी हुन् भनेर उनले किटान गरे ।
दोस्रो, निःशुल्क उपचार गर्नुपर्ने लक्षित समूहमा परेका व्यक्तिहरुले कोरोना बीमा गरेका रहेछन् भने त्यस्ता व्यक्तिहरुले कोरोना बीमा दाबी रकम पाउने छैनन् । सरकारले निःशुल्क उपचार गरिदिन्छु भनेर किटान गरेको समूहमा परेका व्यक्तिको परीक्षण र उपचारमा समेत कोरोना बीमा रकमबाट गरिने भनेपछि लक्षित समूहमा नपरेका व्यक्तिहरुले यस्तो बीमा रकम पाउने वा निःशुल्क उपचार पाउने सम्भावनाबारे शंका उत्पन्न भएकाे छ ।
मन्त्रालयको नियमित मिडिया ब्रिफिङपछि विकासन्युजसँग कुरा गदै प्रा.डा गौतमले थप विषयको खुलासा गरेका छन् । उनले अस्पतालको खर्च व्यहोर्ने गरी बीमा गरेका व्यक्तिहरुको उपचारको लागि लागेको खर्च बीमा कम्पनीहरुले तिर्नुपर्ने उनले बताए ।
‘कोरोना बीमाको मात्रै कुरा होइन, अस्पतालको खर्च व्यहोर्ने गरी जसजसले जे जस्तो बीमा गराउनु भएको छ, उहाँहरुलाई उपचार गर्दा लागेको खर्च बीमा कम्पनीहरुले भुक्तानी गर्नुपर्छ, कति रकम दिने भन्ने कुरा भने बीमा पोलिसीमा उल्लेख भए अनुसारको हुनेछ,’ प्राडा गौतमले विकासन्युजसँग भने ।
मारमा निर्जीवन बीमा कम्पनी नै
मन्त्रालयको निर्णयले निर्जीवन बीमा कम्पनी नै थप मारमा पर्ने भएका छन् । अस्पतालको खर्च व्यहोर्ने गरी गरिने बीमा भनेको स्वास्थ्य बीमा हो । यस्तो बीमा निर्जीवन बीमा कम्पनीहरुले गर्छन् ।
तर, स्वास्थ्य बीमामा पनि महामारीको दायित्व व्यहोर्ने शर्त भने हुँदैन । सरकारले स्वास्थ्य बीमा बोर्डमार्फत पनि स्वास्थ्य बीमा गराउने गरेको छ ।
समस्या छैन जीवन बीमा कम्पनीलाई
जीवन बीमा कम्पनीहरुले गर्ने बीमामा अस्पताल खर्च व्यहोर्ने शर्त हुँदैनन् । केही बीमा कम्पनीहरुले ल्याएका केही पोलिसीमा मात्रै अस्पताल खर्च व्यहोर्ने व्यवस्था छ ।
जीवन बीमा कम्पनीहरुले जीवन बीमामा पनि राइडरको रुपमा घातक रोगको उपचार बीमा प्रदान गर्ने गरेका छन् । यस्तो बीमामा घातक रोगको किटान नै गरिएको हुन्छ भने महामारीको दाबी भुक्तानी पाइने व्यवस्था हुदैन । कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठनले नै विश्व महामारी घोषणा गरेको छ ।