अस्पताल भरिए, जटिल समस्या भएकोले पनि अस्पतालमा अब बेड नपाउने

<p>काठमाडौं । नेपालमा कोरोना संक्रमित संख्या दैनिक रुपमा ठूलो संख्यामा वृद्धि भइरहेको छ । बिहीबार मात्र नेपालमा ४३ सयभन्दा बढी संक्रमित भेटिएका छन्, जुन हालसम्म एकैदिन देखिएका सबैभन्दा धेरै संक्रमितको संख्या हो । देशभर ४३ सयभन्दा बढी संक्रमित फेला पर्दा काठमाडौं उपत्यकामा मात्रै २५ सय ४० जना संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका [&hellip;]</p>

काठमाडौं । नेपालमा कोरोना संक्रमित संख्या दैनिक रुपमा ठूलो संख्यामा वृद्धि भइरहेको छ ।

बिहीबार मात्र नेपालमा ४३ सयभन्दा बढी संक्रमित भेटिएका छन्, जुन हालसम्म एकैदिन देखिएका सबैभन्दा धेरै संक्रमितको संख्या हो । देशभर ४३ सयभन्दा बढी संक्रमित फेला पर्दा काठमाडौं उपत्यकामा मात्रै २५ सय ४० जना संक्रमित थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म काठमाडौं उपत्यकामा संक्रमितको संख्या ३३ हजार ७ सय ७१ पुगेको छ ।

बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले गरेको अनुरोधले पनि स्थिति असामान्य भइसकेको पुष्टी गर्छ ।

‘संक्रमितको संख्या बढेसँगै कतिपय अस्पतालमा बेडको अभाव हुँदै गएको छ, बिरामीलाई पायक पर्ने ठाउँमा बेड उपल्ब्ध हुन सकेको छैन । विशेष गरेर काठमाडौं उपत्यकामा संक्रमितको उपचार गर्न थप चुनौती बढेको अवस्था छ । यस्तै तरिकारले संक्रमण बढेर जाने भए अस्पतालहरुले भार थाम्न सक्दैनन्,’ उनले भनेका थिए ।

‘अहिले सामान्य रुघाखोकी लागेको अवस्थामा पनि अस्पताल जाने क्रम बढेको छ, यसमा हामी के अनुरोध गर्न चाहान्छौं भने कुनै पनि बिरामीलाई सास फेर्न गाह्रो भएमा, बेहोस भएमा वा होला जस्तो भएमा, पिसाब नभएमा वा कम नभएमा य मात्र अस्पताल जान हामी यहाँहरुलाई अनुरोध गर्दछौं,’ उनले थपेका थिए ।

के साँच्चै उपत्यकामा कोरोना संक्रमणले डरलाग्दो रुप लिएकै हो त ? अस्पतालहरुमा कोभिडका लागि छुटाईएका बेडहरु सबै भरिसकेका छन् ?

हाल उपत्यकामा कोरोना उपचारको लागि १० सरकारी अस्पताल र १० निजी अस्पतालहरु तोकिएका छन् । बिहीबार उपत्यकाका कोरोना उपचार गरिरहेका विभिन्न अस्पतालहरुको जानकारी लिदाँ अधिकांश अस्पतालमा कोरोना संक्रमितको लागि छुटाइएको बेडहरु भरिभराउ भएको र स्थिति असामान्य भइसकेको जानकारी दिए ।

देशकै जेठो अस्पताल वीर अस्पतालमा सबै बेडहरु भरिएका छन् । अस्पतालका आउटबे्रक म्यानेजमेन्ट अध्यक्ष डा. विद्याननिधि पौडेलका अनुसार अस्पतालमा कुनै पनि बेड खाली छैन ।

‘हाम्रो अवस्था नाजुक भइसकेको छ, हामी अब थेग्न सक्ने अवस्थामा छैनौं,’ उनले भने ।

अस्पतालका स्टाफहरु पनि एकपछि अर्को संक्रमित भइरहेकोले बेड थप गर्न नसकिएको उनले बताए ।

‘अस्पतालका कर्मचारी बिरामी हुँदा समेत राख्नको लागि हामीसँग बेड छैन, सोच्नुस् अवस्था कस्तो छ भन्ने,’ डा. पौडेलले भने ।

यस्तै, ९३ बेड छुट्टयाएका त्रिवि शिक्षण अस्पतालमा भने बिरामी बढि भएर बेड थपिएको अस्पतालका कोभिड संयोजक डा. सन्त दासले जानकारी दिए ।

‘अस्पतालमा हाल १०६ जना कोरोना बिरामीको उपचार भइरहेको छ, भएका बेड यति नै हुन्, नयाँ विरामीको लागि बेड उपलब्ध गराउन सक्ने अवस्थामा छैनौं,’ डा. दासले भने ।

उनले अब अस्पतालले यसभन्दा बढी बेडहरु थप्न पनि नसक्ने बताए । अधिकांश स्टाफहरु कोरोना संक्रमित भइसकेको उनको भनाइ छ ।

कोभिडको लागि सबैभन्दा बढी बेड छुट्टयाएको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पनि कोरोना बिरामीको चाप बेड संख्याभन्दा धेरै छ । अस्पतालका डा. प्रविन नेपालका अनुसार कोभिडको लागि छुटाइएको २ सय बेड अपुग भएर साना साना ट्रली बेडहरुमा कोभिड बिरामी राखिएको जानकारी दिए । हाल अस्पतालमा २ सय ९ जना कोभिड बिरामीको उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ ।

हाल आफूहरुले डबल ड्युटी गरेर बिरामीको हेरेचाह गरिरहेको र यसभन्दा बढि गर्न सक्ने अवस्था भने गाह्रै रहेको उनले बताए ।

पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार कोभिड बिरामीको लागि १ सय ५० बेड छुट्टयाइएको र अहिले १ सय ८ जनाको हाल उपचार भइरहेको छ ।

सरकारी अस्पताल मात्र नभएर उपत्यकाका निजी अस्पतालहरुमा कोभिड बिरामीको लागि छुट्टयाइएको बेड पनि अधिकांश भरिएका छन् ।

२ सय शैयाको टोखास्थित ग्राण्डी ईन्टरनेसनल अस्पतालमा २० प्रतिशत बेड कोभिड बिरामीको लागि छुटाइएको छ । त्यसमा भएका सबै बेड प्याक रहेको अस्पताल प्रशाशनले जानकारी दिएको छ ।

कोभिड बिरामीको लागि ३२ बेड छुट्टयाएको किस्ट मेडिकल कलेज तथा टिचिङ अस्पतालमा पनि सबै बेड भरिएका छन् । बेड थप्न कुशल जनशक्ति पनि नभएको कारण बेडहरु थप्न नसक्ने अवस्थामा रहेको अस्पताल प्रशासनले जानकारी दियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुुसार बिहीबार दिउँसो ११ बजेसम्मको रिर्पोट अनुसार काठमाडौंमा कोभिडको लागि छुटाइएको १ सय ८१ आइसियुमा ८२ वटा भरिएका छन् । यस्तै, ७६ भ्यान्टिलेटरमा २७ वटा भरिएका छन् । आइसियु र भ्यान्टिलेटर बाहेकका बेड अहिले खाली छैनन् ।

Share News