काठमाडौं । मलेसियामा नेपाली कामदारलाई बन्धक बनाएर १६ लाख असुल गर्ने व्यवसायी डेभिड भनिने दुर्गाबहादुर श्रेष्ठ पक्रराउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले श्रेष्ठलाई महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको हो ।
श्रेष्ठले मलेसियामा श्रीमतीसहितको सहयोगमा दाङका मध्म रैदासलाई बन्धक बनाएर नेपालमा रहेकी श्रीमतीसँग १६ लाख रूपैयाँ असुल गरेको पाइएको बताइएकाे हाे ।
ब्युरोको अनुसन्धानमा श्रेष्ठ, भुटान माईतीघर भएकी धनमाया श्रेष्ठ तथा श्याम नेपाली समेतले डेभिडको योजना बमोजिम मलेसियामा कार्यरत रैदासलाई अपहरण गरी ७ दिनसम्म बन्धक बनाई पीडितकी श्रीमतीलाई फोन गरेर साठी हजार रिङगेट हालेमा मात्र श्रीमानको ज्यान रहने नत्र मारिदिने समेतका धम्कीहरु दिई फिरौती बापतको पन्ध्र लाख बयानब्बे हजार रकम असुलेर अपहरण मुक्त गरेको खुलेको छ ।
उनीहरूले रैदासको राहदानी आफ्नो कब्जामा लिई पिडितलाई नेपाल आउन समेत नदिई बन्धक बनाइराखेको जाहेरी परेपछि ब्युरोले कारवाही थालेको केन्द्रीय अनुसन्धान ब्युरोले बताएकाे छ।
ब्युरोले श्रेष्ठ नेपाल आएको मौकामा उनलाई पक्राउ गरेको हो । श्रेष्ठले मलेसियामा काम गर्न गएका गरिब सोझा नेपाली कामदारहरुलाई धम्काई रकम असुल गर्ने तथा कुटपिट गरी गुण्डागर्दी गर्ने समेतको कुराहरु बुझिन आएको र अन्य व्यक्तिहरुलाई पीडित बनाएको हुनसक्ने भएकाले थपअनुसन्धान भइरहेको जनाएको छ । उनी मलेसियामै बार तथा रेष्टुराँ सञ्चालन गर्दै आएका थिए ।