काठमाडौं । उर्जा व्यवसायी गणेश कार्की अफ्रिकन मुलुक मौरिससकाे लागि अवैतनिक वाणिज्य राजदूतमा नियुक्त भएका छन् । उनलाई हिजो नेपालको परराष्ट्र मन्त्रालयले नियुक्ती पत्र हस्तान्तरण गरेको छ ।
पश्मिना, गार्मेन्ट हुँदै हाइड्रो व्यवसायमा जमेका कार्की स्वतन्त्र उर्जा उत्पादकहरूकाे संस्था (इप्पान) का उपाध्यक्ष समेत छन् । कार्की सिंगटी खोला हाइड्रोपावरकाे कार्यकारी निर्देशक हुन् भने पिपुल्स हाइड्रोपावर, क्रिम हाइडेल, बैधिक हाइड्रो इन्भेष्टमेन्ट, बेनी हाइड्रो पावर लगायत जलविद्युत परियोजनाका प्रवर्द्धक हुन् ।
मौरिसस अफ्रिकन सामुन्द्रिक देश हो । विश्व बैंकका अनुसार यस देशमा करिव १३ लाख जनसंख्या रहेको छ । २ हजार किलोमिटर क्षेत्रफल भएको सानो देश भएपनि समूद्रको बीचमा रहेकोले अफ्रिकाको अर्थतन्त्रकाे केन्द्रविन्दुमा रहेकाे छ।
मौरिससमा ५१ प्रतिशत मानिस हिन्दु धर्मालम्बी छन् । सन् १५०७ मा समुद्रको बीचमा फेलापरेको यो देशमा ७० प्रतिशत मानिस भारतीय मुलका छन् । यस देशका नागरिकले सेरोज, भोजपुरी र फ्रेन्च भाषा प्रयोग गर्दछन् ।

उखु उत्पादन, फिल्म सुटिङ र उच्चस्तरका पर्यटकका लागि चर्चित मौरिससमा विश्वका सफल सिनेकर्मीहरुले घरबार बसाएका छन् ।
मौरिसस र नेपालबीच यसै वर्ष श्रम सम्झौता भएको छ । नेपालबाट ५० हजार श्रमिक लैजाना मरिससले प्रस्ताव गरेको छ । २ देशबीचकाे मैत्रिपूर्ण सम्बन्ध बलियाे बनाउँदै आर्थिक सम्बन्ध विस्तारमा आफूले भूमिका खेल्ने नवनियुक्त अबैतनिक राजदूत कार्कीले विकासन्युजलाई बताए ।
‘गणतन्त्र मौरिससका राष्ट्रपति महामहिम पृथ्वीराजसिं रुपुनद्वारा जारी मिति ४ जुन, २०२० को समादेश पत्रमार्फत काठमाडौं उपत्यकामा अवस्थित हुने गरी श्री गणेश कार्कीलाई अवैतनिक वाणिज्यदूत सम्बन्धी नियमावली, २०३९ बमोजिम मौरिससको अवैतनिक वाणिज्यदूत पदमा स्वीकार गर्दै नेपाल सरकारको तर्फबाट यो अनुमति जारी गर्दछु’ परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले हस्ताक्षर गरेको नियुक्तिपत्रमा भनिएको छ ।