धितोपत्र वोर्डले जारी गर्यो द्धिअर्थी विज्ञप्ति, थप लगानी गर्ने कि नगर्ने अन्योल झन बढ्यो

<p>काठमाडौं, १५ चैत । धितोपत्र वोर्डले पूजी बजारको बृद्धिप्रति फेरि असन्तुष्टि जनाएको छ । अर्थतन्त्रका आधारभूत परिसुचक सन्तोषजनक नभएको अवस्था देखिएको पूजी बजारको बृद्धिप्रति बोर्डले असन्तुष्टि जनाएको हो । बोर्डले विज्ञप्ति नै निकालेर बजारको बृद्धिप्रति असन्तुष्टि जनाएको छ । तर उसले विज्ञप्तिमा निकालेको भाषा द्धिअर्थी छ । एकातिर बोर्ड आफै भन्छ कि बजार विकास तथा [&hellip;]</p>

काठमाडौं, १५ चैत । धितोपत्र वोर्डले पूजी बजारको बृद्धिप्रति फेरि असन्तुष्टि जनाएको छ । अर्थतन्त्रका आधारभूत परिसुचक सन्तोषजनक नभएको अवस्था देखिएको पूजी बजारको बृद्धिप्रति बोर्डले असन्तुष्टि जनाएको हो ।

बोर्डले विज्ञप्ति नै निकालेर बजारको बृद्धिप्रति असन्तुष्टि जनाएको छ । तर उसले विज्ञप्तिमा निकालेको भाषा द्धिअर्थी छ । एकातिर बोर्ड आफै भन्छ कि बजार विकास तथा सुधारका लागि बोर्डले गरेको कार्यले सहजता प्रदान गरेर बजार बढेको हो । अर्काेतिर आर्थिक परिसुचक राम्रो नभएको कारण हौसिएर वा हल्लाको भरमा लगानी गर्दा डुब्न पनि सकिन्छ भन्ने बोर्डको भनाइ छ । बोर्डको यस्तो विज्ञप्तिमा सजगता अपानाउन भनिएको त छ तर त्यो सजगता भनेको थप सेयर किन्नु भनेको हो कि अब मूल्य बढ्यो भने नकिन्नुस भनेको हो भनेर अनुमान लगाउन गाह्रो छ ।

‘हालसाल धितोपत्रको दोस्रो वजार विशेषरुपले निरन्तर वढोत्तरीतर्फ गइरहेकोमा धितोपत्र बोर्ड संवेदनशील भएको छ, विनासकारी भुकम्प र त्यस पछिको तराई मधेश आन्दोलन आदिले गर्दा देशको अर्थतन्त्रलाई नकारात्मक असर गरी यो वर्ष आर्थिक वृद्धिदर २ प्रतिशतको हाराहारीमा हुने अनुमानको साथै सूचिकृत संगठित संस्थाहरुको अवस्था पनि सन्तोषजनक नरहेको अवस्थामा अर्थतन्त्रको परिसूचकको रुपमा रहेको नेप्से परिसूचक २०७२ आषाढ मसान्तको ९६१.२३ वाट निरन्तर वढ्दै यो परिसूचक १३५० निकै माथिआईसकेको छ,’ बोर्डको विज्ञप्तिमा भनिएको छ ।

बोर्डको यो भाषाले बजार बृद्धि अस्वभाविक छ, लगानी गर्ने हो भने विचार गर्नै पर्ने हुन्छ भन्ने देखाउछ । तर वोर्डले ‘बोर्डबाट गरिएका धितोपत्र वजार विकास तथा सुधार कार्यले यस किसिमको विशेष वृद्धिलाई केही सहज गरे तापनि देशको आर्थिक अवस्था, संगठित संस्थाहरुको वित्तीय अवस्था इत्यादि आधारभूत परिसूचकको आधारमा यस वृद्धिलाई सजगतापूर्ण रुपमालिनु पर्ने देखिन्छ, यसै परिप्रेक्षमा यस बोर्डले लगानीकर्ताहरुलाई हालसाल यो दोस्रो पटक सर्तक गराई यस तर्फ विषेश ध्यानाकर्षण गराइएको छ,’ भनेको छ ।

यस्तै बोर्डले ‘बजारमा चलेका हल्ला र आधारहीन अनुमानको पछाडी नलागी धितोपत्र वजारमा लगानी गर्दा देशको विद्यमान आर्थिक परिदृष्य, सुचिकृत संगठित संस्थाहरुको आधारभुत विश्लेषणलगायत जोखिम वहन गर्न सक्ने क्षमता आदिलाई दृष्टिगत गरी वढी सजग भई लगानी गर्न लगानीकर्ताहरुलाई बोर्ड विषेश अनुरोध गर्दछ,’ पनि भनेको छ । बोर्डले आफ्नो विज्ञप्तिमा प्रष्ट रुपमा बजारको अहिलेको अवस्था यस्तो हो, यतिसम्मको बृद्धि स्वभाविक र यतिसम्मको अस्वभाविक हो भनेर भन्न सकेको छैन ।

Share News