नौ वर्षमुनिमा बालबालिकामा कोरोना सङ्क्रमण बढ्दै

<p>भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा हालसम्म १ सय ७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो । एक साताअघि प्रदेशभरिमा ६१ बालबालिकामा कोरोना सङ्क्रमण देखिए पनि सो सङ्ख्या बढ्दै गएको निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए । “सङ्क्रमण देखिएका सबै [&hellip;]</p>

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा हालसम्म १ सय ७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो ।

एक साताअघि प्रदेशभरिमा ६१ बालबालिकामा कोरोना सङ्क्रमण देखिए पनि सो सङ्ख्या बढ्दै गएको निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए । “सङ्क्रमण देखिएका सबै बालबालिका बुवाआमासित भारतबाट फर्किएकाहरु हुन्”, उनले भने ।

कोरोना सङ्क्रमणबाट बाजुरामा केही समयअघि दुई वर्षीया बालिकाको समेत मृत्यु भइसकेको छ । त्यसैगरी कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालबाट ११ महिने बालक कोरोना जितेर फर्किसकेका छन् । मङ्गलबार साँझसम्म सुदूरपश्चिमका नौवटै जिल्लामा गरी दुई हजार ४ सय ८३ जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । तीमध्ये ५ सय ७३ महिला सङ्क्रमित छन् ।

“महिलाहरु पनि प्रायः श्रीमान्सँगै भारतबाटै फर्किएका र रोजगारीबाट फर्किएका नै बढी सङ्क्रमित छन्”, उनले भने, “समुदायमा महिला सङ्क्रमित सङ्ख्या न्यून छ ।” कोरोनाबाट यहाँ हालसम्म पाँचको मृत्यु भइसकेको छ भने ४ सय ७९ सङ्क्रमित निको भइसकेका छन् । यहाँ सबैभन्दा बढी कैलालीका ५ सय ९७ र सबैभन्दा कम दार्चुलामा ४३ जनामा सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

निर्देशक डा अवस्थीले कोरोना परीक्षणको दायरा बढाउन सुदूरपश्चिममा तीन जिल्लामा पिसीआर मेसिन जडानको काम थालिने बताए । “डोटी, बैतडी र कैलालीमा गरी तीन ठाउँमा जडान हुने प्रयोगशालाका लागि सामान आउने क्रम शुरु भइसकेको छ”, अवस्थीले भने, “सात/दश दिनमा सबै सामान आइसक्छ ।”

क्वारेन्टाइनलाई आइसोलेसनमा परिणत गरिँदै

सुदूरपश्चिम प्रदेशमा पछिल्ला केही दिनयता सङ्क्रमणको दर तीव्र भएपछि सङ्क्रमितको उपचारका लागि यहाँ स्थापना गरिएका क्वारेन्टाइनलाई आइसोलेसन कक्षमा परिणत गरिँदैछ । सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा हालसम्म १ हजार ९ सय ३४ स्थानमा करिब ७४ हजार ४ सय ३४ श्ययाको क्वारेन्टाइन रहेको छ ।

यहाँका क्वारेन्टिनमा १३ हजार १ सय ७८ बसिरहेका छन् । बितेको एक महिनामा सुदूरपश्चिमका सीमानाका हुँदै १ लाख १५ हजार नागरिक भारतबाट स्वदेश भित्रिएको तथ्याङ्क छ । तीमध्ये अधिकांश क्वारेन्टाइन बसेर घर फर्किसकेका छन् । सरकारले नै सङ्क्रमण पुष्टि भए पनि लक्षण नदेखिएसम्म होम क्वारेन्टाइनमा बसेर सतर्कता अपनाउन भनेपछि यहाँका आइसोलेसन कक्ष खाली छन् ।

त्यसैगरी स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा १५ स्वास्थ्यकर्मीसहित अग्रमोर्चामा खटिने २४ जनामा सङ्क्रमण देखिएको छ । निर्देशक डा अवस्थीले सङ्क्रमित बढेपछि क्वारेन्टिनलाई आइसोलेसन कक्ष बनाउन थालिएको बताए । “पहिले पनि केही स्थानीय तहले आइसोलेसन कक्ष बनाएका थिए”, उनले भने, “सङ्क्रमित बढ्न थालेपछि क्वारेन्टिनलाई नै आइसोलेसन कक्ष बनाउन थालिएको हो ।”

उनले १४ दिन क्वारेन्टाइन बसेकालाई होम क्वारेन्टाइन पठाएर आइसोलेसन बढाउन लागेको बताए । यहाँका प्रादेशिक तथा अस्पतालमा स्थापना गरिएका आइसोलेसन कक्षमा ८२ सङ्क्रमित र ३० शङ्कास्पद बिरामी उपचारत छन् । “होम क्वारेन्टाइन र क्वारेन्टाइनमा सङ्क्रमित रहे पनि स्थानीय तहका सबैजसो स्वास्थ्यकर्मीहरुसित उनीहरूसँग समन्वयमै हुनुहुन्छ”, अवस्थीले भने, ‘लक्षण देखिएर स्वास्थ्यमा समस्या देखिए अस्पताल ल्याएर उपचार गर्ने भनेका छौं ।’   रासस

Share News