काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहका समेस्टर प्रणालीका परीक्षाहरुको नतिजा पनि आन्तरिक मूल्यांकनबाटै गरिने तयारी भइरहेको बताइएको छ । कोरोना भाइरसले उत्पन्न लकडाउनको कारण प्रभावित स्नातकोत्तर तहका परीक्षाहरुको नतिजा आन्तरिक मूल्यांकनबाट गर्ने तयारी भइरहेको स्रोतले बताएको छ ।
कोरोना भाइरसको कारण सञ्चालन हुन नसकेको सेमेस्टर प्रणालीका परीक्षाहरु आन्तरिक मूल्यांकन र प्रि-बोर्ड परीक्षाको आधारमा नतिजा निकाल्ने तयारी भइरहेको हो । स्रोतका अनुसार त्रिवि अन्तर्गका विभिन्न संकायका विभागहरुले कलेजले लिएको आन्तरिक परीक्षाको आधार मानेर विद्यार्थीहरुको मूल्यांकन गरी नतिजा नकाल्नको लागि त्रिविमा पत्र पठाइसकेका छन् ।
कतिपय सेमेस्टरहरुको परीक्षा गरिसक्नु पर्ने भएपनि कोरोनाको कारण परीक्षा लिन नपाएको र अब परीक्षा लिन धेरै ढिलो भइसकेकोले आन्तरिक मूल्यांकनको आधारमा नतिजा निकाल्नु पर्नेसहितको पत्र उनीहरुले त्रिविलाई पठाएका हुन् । यस्तै, विश्वविद्यालय अनुदान आयोगले कोरोना भाइरसको सुरक्षा प्रोटोकल कायम गरी विश्वविद्यालयका स्थगित परीक्षा लिन सिफारिस गरेको छ । आयोगले परीक्षा लिन सम्भव नभएका विश्वविद्यालयले विद्यार्थीलाई माथिल्लो सेमेस्टर वा वर्षमा पठनपाठन कायम गरी दुईवटा सेमेस्टरको परीक्षा एकैपटक लिन सिफारिस गरेको छ ।
त्रिविका अनुसार विभिन्न संकायमा विभागबाट आएका पत्र र आयोगले गरेको सिफारिसका आधारमा निर्णय हुने बताएको छ । सिफारिसमा कोभिडको तयारी स्तर, परीक्षाको आवासीय स्थिति र महामारीको स्थानीय स्थिति विस्तृत रूपमा अवलोकन गरेर मात्र परीक्षा सञ्चालन गर्नुपर्ने उल्लेख गरेको छ ।
निर्देशिकामाा परीक्षा सञ्चालकका लागि अन्तिम वर्षका अथवा अन्तिम सेमेस्टरका विद्यार्थीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उल्लेख छ । तर, स्नातक तह तथा स्नातकोत्तर तहका पाठ्यक्रममा तोकिएका मौखिक परीक्षाहरू अनलाइन मिटिङ एप्समार्फत सञ्चालन गर्न सकिने बताइएको छ ।
त्रिभुवन विश्वविद्यालयका रजिष्टार पेसल दाहालले सकेसम्म परीक्षा लिने र सम्भव नभएमा शैक्षिक सत्र खेर नजाओस् भनेर सेमेस्टर स्तरोन्नति गर्न सिफारिस आएको बताएका छन् । विद्यार्थीको समय खेर नजाने किसिमले अगाडि बढ्ने उनले बताए । गत चैतमै हुनु पर्ने स्नातकोत्तरका परीक्षाहरु हालसम्म हुन नसकेकोले अब चाँडै नै यसको बारेमा सोच्नु पर्ने उनको भनाई छ ।
चैतमा व्यवस्थापन संकायका स्नातकोत्तर तहमा दोस्रो र चौथो सेमेस्टरको परीक्षा सञ्चालन भइरहेका थिए भने एमए दोस्रो र चौथो सेमेस्टरको परीक्षा सुरु हुन दुई दिन मात्र बाँकी थियो । यसबाट स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने लाखौँ विद्यार्थी प्रत्यक्ष रूपले प्रभावित भएका छन् ।
विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षाका लागि अझै केही महिना कुर्नुपर्ने अवस्था रहेको बताए । विश्वविद्यालयले सेमेस्टर प्रणालीका माध्यमबाट पठनपाठन हुने र हाल अनलाइन माध्यमबाट कक्षा सञ्चालन भएका विद्यार्थीको परीक्षा कुन आधारमा सञ्चालन गर्ने भनेर अध्ययन भइरहेको उनको भनाई छ ।
सरकारले कोरोनाको सङ्क्रमण बढ्ने अवस्था देखिएपछि चैत ५ गते विश्वविद्यालयका सबै परीक्षा रोक्न निर्देशन गरेको थियो । सरकारको सो निर्देशनपछि विश्वविद्यालयले चैत ७ गतेबाट जारी परीक्षा स्थगन गर्ने निर्णय लिएको थियो ।