
नेपाल सरकारले गरेको लकडाउनको अवधि कायम रहदासम्म सेयर बजार नखुलाउने नेपाल धितोपत्र बोर्डबाट निर्देशन प्राप्त भएको भन्दै कारोबार स्थगन गर्ने निर्णय भएको जानकारी हिजो शनिबार नेपाल स्टक एक्सचेन्ज नेप्सले गराएको छ । लकडाउन पछाडि अहिलेसम्म बीचमा दुईदिन बजार खुलेपनि बजार घट्यो भनेर बन्द गरियो । लकडाउनको अवधिमा सबैभन्दा लामो समय सेयर बजार बन्द गर्ने देश हाम्रो मुलुक हो ।
कारोबार शुरु गर्दा सेयर बजार घट्छ भनेर अनुमान लगाएको भरमा वा घटेको आधारमा खुला बजारलाई बन्धक बनाउन पाईदैन । नियमक निकायको यो निर्णयले के सबै लगानीकर्ताको हकलाई सम्बोधन गरेको छ ? बजार घट्दा कारोबार नै अनिश्चतकालको लागि बन्द गर्ने तरिका के ससांरको प्रचलित प्रचलन हो ? केही सीमित लगानीकर्ताको बजार बन्द गराउने ईच्छाको मतियार नियमक निकाय बन्न मिल्छ ? भन्ने जस्ता धेरै प्रश्न अहिले उब्जिएका छन् । अहिलेको नियमक निकायको गतिबिधि हेर्दा नियमक निकाय नै केही सीमित लगानीकर्ताको चङ्गोलमा परेको प्रष्ट हुन्छ । सेयर बजारको विकासका लागि चाहिने भौतिक पूर्वाधारको विकासका लागि ध्यान नदिने तर केही सीमित लगानीकर्ताको समूहको पछि लागेर बजार बन्द गरिएको कार्यले मुलुकको अर्थतन्त्रलाई फाईदा पुग्दैन । केही व्यक्तिहरुको लहडको भरमा बजारलाई लामो समय सम्म बन्द गर्नु भनेको नियमक निकाय नेपाल धितोपत्र बोर्डको नेतृत्वकोे असक्षमता हो ।
अहिलेको समय भनेको हचुवाको भरका कुनै समूहले बजार बन्द गर्न आवश्यक भनेर हल्ला गरेको भरमा बजार बन्द गर्ने समय होइन । लामो समयसम्म बजार बन्द हुँदा त्यसको असर राज्यलाई कति परेको छ भनेर लेखाजोखा गर्ने समय अहिले आएको छ । लामो समय बजार बन्द हुँदा सेयर बजारमा करिअर छ भन्ने लगानीकर्तामा निराशा छाउन थालेको छ । अझै पनि नेपालको सेयर बजारलाई सीमित लगानीकर्ताको चाहानामा बढाउने र घटाउने गरेको देखिन्छ । नेपालको सेयर बजार स्वार्थी समूहले चलाएको हल्ला र लहडको भरमा चल्ने गरेको देखिन्छ । हो केही समय मुलुकमा आईपरेको असहज परिस्थितिका कारण सेयर बजार पनि खुल्न सक्ने अवस्थामा थिएन । सिङ्गो मुलुक नै ठप्प थियो । तर अहिले लकडाउन खुकुलो भएर प्रायः सबै कार्यालयहरु खुल्न थालिसकेको अवस्थामा शेयर बजार भने खुल्न सकेको छैन । अहिले सरकारले नै खोल्न नदिने भनेको सार्वजनिक यातायात, डिस्को, क्लब सिनेमाघर र विद्यालय बाहेक सबै क्षेत्र खुलेको अवस्था छ । यस्तो अवस्थामा पनि शेयर बजारलाई बन्द गर्नु भनेको देशको अर्थतन्त्रलाई चलायमान हुन नदिने र सीमित समूहको स्वार्थसिद्ध गर्ने षडयन्त्र मात्र हो ।

लेखक
चैत ११ अगाडि जुन तरिकाले सेयर खरिदबिक्री भएको थियो त्यसरी सेयर खरिदबिक्री गर्न अब कुनै समस्या छैन । विभिन्न बाहनामा यति लामो समय बजार बन्द गराउँदा मुलुकको अर्थतन्त्र नै अहिले ठप्प रहेको छ । सेयर बजारलाई अर्थतन्त्रको मापकको रुपमा पनि लिइन्छ । त्यसकारण पनि यसलाई चलायमान गराउनु जरुरी छ । अहिलेको समयमा सेयर बजारको नीतिगत सुधारको काम छिटो हुन जरुरी छ । पूर्णअनलाइन समयको माग हो । यसमा नियामक निकायले ध्यान दिन सकेको छैन । कनेक्ट आइर्एपीएइसबाट कारोबार गर्दा अनलाइन कारोबारको सीमा तोक्नु नहुने, हालकै अवस्थामा बजार खोलिए लगानीकर्ताले ब्रोकर कार्यालय नै पुग्नु पर्ने अवस्था भएको हुनाले असहजता पैदा हुने, सेयर लोनमा रहेको चर्को ब्याज घटाउनुपर्ने, मार्जिक लोनको सीमा ८० प्रतिशत राख्नुपर्ने माग लगानीकर्ताको छ । लामो समयदेखि लगानीकर्ताले सेयर कारोबार गर्दा तिर्ने करलाई अन्तिम कर मान्न आग्रह गरिरहेका थिए । उनीहरूको माग बमोजिम नै अर्थ मन्त्रालयले उक्त व्यवस्था गरिदिएको भनाई छ । लगानीकर्ताका जायज मागलाई राज्यका निकाय पनि सम्बोधन गर्न ढिलाई गर्नु हुदैन । तर यही मागको निहुमा अनिश्चितकालसम्म बजार बन्द गराउन खोज्नु राम्रो पक्ष होइन् । कारोबार नै नगरेपछि कस्तो राहत सेयर बजारलाई चाहिने हो त्यो नै प्रष्ट देखिन्न । त्यसकारण पनि पहिला कारोबार शुरु गर्न जरुरी छ । अहिले दवाव समूहमा रहेका बाहेकका लगानीकर्ताहरु बजार खोलेरै सुधारका कामहरु गर्नुपर्छ भन्ने मनस्थितिमा देखिएका छन् ।
शेयर बजारको सबै भन्दा सुन्दर रुप भनेको कारोवारमा हुने मूल्यको घटबढ हो । बजार घट्ने वा बढ्ने भनेको स्वभाविक प्रक्रिया हो । बजार धेरै नघट्न पनि सक्छ । किनभने अहिले बैंकिङ क्षेत्रमा तरलता बढिरहेको छ । लगानीकर्ताले जहिले पनि जोखिम बहन गर्न सक्नुपर्दछ । सेयर बजार भनेको जोखिमको क्षेत्र पनि हो । जोखिम लिन सक्ने क्षमता भएकाहरु मात्र सेयर बजारमा प्रवेश गर्ने हो । लगानीको पछाडि सधैभरी नाफा मात्र हुदैन । स्वभाविक हो आफूले गरेको लगानीमा नोक्सान हुदाँ सबैलाई दुःख लाग्छ । तर,जोखिमको क्षेत्रमा लगानी गर्ने भनेर आएपछि जोखिम लिन पनि सक्नुपर्छ । अहिले ससांरभर कोरोना भाइरसका कारण हजारौ कम्पनीहरु बन्द भएका कारण लाखौले रोजगारी गुमाएका छन् । ससांरभर अर्थतन्त्रमा कल्पना गर्न नसकिने क्षति पुगेको छ । यस्तो अवस्थामा सेयर बजार घट्न हुँदैन, बढ्ने ग्यारेन्टी नहुँदासम्म खोल्न दिनु हुँदैन भनेर माग राख्नु तर्कपूर्ण हुदैन । यस्ता मागले सेयर बजारको बिकासलाई टेवा पुयाउदैन । अर्थतन्त्रमा सामान्य सुधार आउन साथ सबैभन्दा छिटो सुधार सेयर बजारमा नै हुने हो । त्यसको पछिल्लो उदाहरण भारतको सेयर बजारलाई हेरेमा पुग्छ । पछिल्लो अवस्था संसारका धेरै देशमा सेयर बजारले गति लिदै गएको छ । धेरै लगानीकर्ताको लगानी बैंक तथा वित्तीय संस्थामा रहेको र राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थाको हितमा मौद्रिक नीति ल्याएको खण्डमा त्यसको सकारात्मक प्रभाव बजारमा पर्ने छ ।
बजार खोल्ने माग गरेर लगानीकर्ताले राहतको सुविधा माग्नु जायज हुन्थ्यो । बजार बन्द मात्र समस्याको निकास हुनसक्दैन । नेपालमा तीन महिनाको सेयर बजार बन्द भएको अवस्थालाई हेर्दा नेपालमा सेयर बजारप्रति कसैलाई चासो नभएको देखिन्छ । सबै भन्दा बढी चासो अर्थ मन्त्रालय र अर्थमन्त्रीलाई हुनुपर्ने हो तर यस्तो महत्वपूर्ण बिषयमा अर्थमन्त्री मौन देखिएका छन । अर्थमन्त्री युवराज खतिवडा सेयर बजारको विकासको लागि कुनैपनि हिसाबले संवेदनशिल देखिएका छैनन् ।
नेपालको सेयर बजारबारे कुनै समय अर्थमन्त्री डा बाबुराम भटराईले जुवाघर जस्तो भनेर प्रतिक्रिया दिदाँ उनको धेरैले बिरोध गरे । उनको भनाइले लगानीकर्ता डराए । सेयर बजार ओरोलो लाग्यो । तर लगानीकर्ताले आफनो धैर्यता कहिल्लै गुमाएनन् । लगानीकर्ताको उच्च मनोबलका कारणले बजार पुनः बुलिस ट्रेनमा गयो ।
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुकुलो बनाएर व्यापार व्यवसाय सहज बनाउन व्यवसायिक संस्थाहरुले माग गरे । उनीहरुको पहिलो माग आफ्नो व्यवसाय खोल्न दिनुपर्छ भन्ने थियो । तर, नेपालको सेयर बजारमा त्यसको विपरित भयो । यसले नेपालको सेयर बजार अझै पनि परिपक्क भएको छैन भनेर प्रष्ट देखाएको छ । अहिले दोस्रो बजारमा सेयर कारोबार गर्नको लागि ब्रोकरकोमा जानको लागि समस्या देखाईएको छ । अधिकांश लगानीकर्तासँग निजी नै सवारीसाधन छ । अर्को सेयर कारोबार गर्नका लागि ब्रोकरको कार्यालयसम्म जानुपर्ने अनिवार्य बाध्यता छैन । यदि जानु परे पनि ब्रोकर कार्यालयले पनि सामाजिक दूरी कायम राखेर सेवा दिन सक्छन् ।
सेयर बजारको कारोबार शुरु भयोे भने घट्छ भन्ने डरले बजार नै बन्द गर्ने ढिपी केही लगानीकर्ताको पाइन्छ । तर बजार नखुल्दासम्म लगानीकर्ताले राखेका सुधारका कार्यक्रम नआउने जस्तै देखिन्छ । बजार खोल्ने माग गरेर लगानीकर्ताले राहतको सुविधा माग्नु जायज हुन्थ्यो । बजार बन्द मात्र समस्याको निकास हुनसक्दैन ।
नेपालमा तीन महिनाको सेयर बजार बन्द भएको अवस्थालाई हेर्दा नेपालमा सेयर बजारप्रति कसैलाई चासो नभएको देखिन्छ । सबै भन्दा बढी चासो अर्थ मन्त्रालय र अर्थमन्त्रीलाई हुनुपर्ने हो तर यस्तो महत्वपूर्ण बिषयमा अर्थमन्त्री मौन देखिएका छन । अर्थमन्त्री युवराज खतिवडा सेयर बजारको विकासको लागि कुनैपनि हिसाबले संवेदनशिल देखिएका छैनन् । यस प्रकरणमा सबैभन्दा बढी दोषी धितोपत्र बोर्ड रहेको छ । सम्बन्धित निकायका यस्ता गतिविधिले नेपालको सेयर बजार सट्टेवाजी मात्रै त होइन भन्ने प्रश्नलाई बलियो बनाएको छ ।