काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा गराउन बाहेक कुनै पनि विकल्प नरहेको बताएको छ । प्लस टु तर्फका परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले कक्षा १२ को परीक्षा गराउन बाहेक कुनै पनि विकल्प नरहेको बताएका हुन् ।
एसईईको परीक्षा यस वर्ष नहुने र विद्यार्थीहरुलाई विद्यालयको आन्तरिक मुल्यांकनको आधारमा अंक दिने बताएसँगै प्लस टु मा पति त्यस्तै लागु हुने अनुमान गरिएको थियो । तर स्थित सामान्य भएपछि परीक्षा हुने र कक्षा १२ को लागि अहिलेको अवस्थामा केही पनि विकल्प नरहेको शर्माले बताएका छन् ।
हाल धेरै विद्यालयहरु क्वारेन्टिनको रुपमा प्रयोग भएको र त्यसलाई तत्काल केही गर्ने नमिल्ने उनले बताए । ‘उक्त स्थानहरु खाली भएर अवस्था सामान्य हुने बित्तिकै हामी कक्षा १२ को परीक्षा गराउँछौं,’ उनले भने ।
यस्तै कक्षा ११ को हकमा भने बोर्ड परीक्षा नहुने तर त्यो पछि गएर के गर्ने अझैं निर्णय हुन बाँकी रहेको शर्माले बताए ।
यस बर्ष कक्षा ११ र १२ मा गरेर कुल ९ लाख ६५ हजार विद्यार्थी रहेका छन् जसमा ५ लाख ३२ हजार ६ सय ९२ विद्यार्थी कक्षा ११ मा रहेका छन् र ४ लाख ३१ हजार ३ सय ३० विद्यार्थी कक्षा १२ मा रहेका छन् ।