
काठमाडौं । सरकारले बिहिबार प्रस्तुत गरेको बजेटप्रति निजि क्षेत्रका व्यवसायीहरू असन्तुष्ट देखिएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा निजी क्षेत्रले अपेक्षा गरेको जस्तो बजेट नआएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
लकडाउनमा र लकडाउन सकिएपछि उद्योग सञ्चालनका लागि सरकारले केही नयाँ ल्याउछ कि भनेर सोचे पनि सरकारले त्यस्तो कुनै कार्यक्रम नल्याएको उनीहरुले बताएका छन् ।
नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले निजी क्षेत्रले चाहे जस्तो बजेट नआएको बताए । ‘साना उद्योगहरुका लागि भने बजेटमा समेटिएको छ, निजी क्षेत्रले अलि अर्कै किसिमबाट बजेट आउला भनेर सोचेको थियो, तर सोचेको जस्तो बजेट आएन,’ उनले भने ।
सरकारले खकेही सेवा सुविधा तथा भक्ता कटौती गर्ने भनेको छ, अन्य ठाउँहरु पनि खर्च कटौती गर्ने ठाउँ थियो, सरकारले स्वास्थ्य क्षेत्रमा मात्रै बढि बजेट हालेको छ, मेरो विचारमा कोरोनाको कारणले थला परेका उद्योगहरुको पक्षमा बजेट आएन, श्रेष्ठले भने ।
यस्तै, नेपाल उद्योग परिसघंका अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्रलाई बजेटले समेट्ने प्रयास मात्रै गरेको बताए । बजेटको बारेमा अझ अध्ययन गरेपछि राम्रोसगँ थाहा हुने उनको धारणा छ ।
‘यो कोरोना विषेश बजेट हो, उद्योगको क्षेत्रमा पनि विजुली महशुल छुट दिने भनेको छ, व्याजमा अनुदान दिने पनि भनेको छ, भनेर मात्र हुँदैन कार्यान्वायनको पक्ष कस्तो हुन्छ भन्ने पनि हो,’ मोरले भने ।
नेपाल चेम्बर अफ कर्मशका बरिष्ठ उपाध्याक्ष राजेन्द्र मल्लको भनाइ पनि त्यस्तै छ । सरकारले श्रमिकलाई पनि समेट्ने प्रयास गरेको बताउँदै उनले त्यति खासै उत्साहजनक बजेट नभएको उनको धारणा छ ।
‘हाम्रो आन्तरिक स्रोत कस्तो हुन्छ? कसरी परिचालन हुन्छ ? त्यसले पनि बजेटमा प्रभाव पार्ने छ, बजेटको कार्यान्वयनको पक्ष कस्तो हुन्छ,’ उनले भने ।
अर्का उद्योगी पशुपति मुरारकाले बजेट निजी क्षेत्रका लागि निरासाजनक रहेको बताए । ‘निजी क्षेत्रका लागि कुनै नयाँ कार्यक्रम आएन, रोजगार कटौतीको विषयमा पनि सरकारले केही सोचेन, उद्योग नै सञ्चालन हुन गाह्रो छ, उनले भने ।