“ओ…हो शर्मा जी, कहिले आउनु भो पहाड बाट ? के सारो मोटाउनु भएको ….पेट पनि लागेछ । पहाड त फापेछ, बैंकको जागिर जचेछ हजुरलाई । टन्न कमाउनु भो कि क्या हो ?” वाह् ! नेपाली समाज, अलिकति मोटायो भने कमायो भनिदिन्छन् । दुब्लायो भने चिन्ता पर्यो की भनिदिन्छन् । दुईचार दिन दारी काटेन भने किन बैराग्गेको भनिदिन्छन् ।
अचेल त बानी परिसकें म । बल्ल बल्ल चार दिनको घर विदा मिलाएर बिराटनगर गएको बसबाट उत्रँदै गर्दा छिमेकी टिकाराम सरसँग ट्याक्क बाटैमा भेट भयो । चार दिनको बिदा पनि के भन्नु र ! बिकट पूर्वि पहाडको दुर्गम शाखा र त्यसको कर्मचारी भएदेखि जानै एक दिन लाग्छ आउन एक दिन । दुई दिन बिदा त बाटैमा सकिन्छ । यो पल्ट पनि घरमा धेरै कहाँ बस्न पाउँछु र !
घर नपुग्दै श्रीमतीजीले भन्छिन्, “यो पल्ट त बिदा टन्न लिनु भाको होला नि…, हेर्नु है… जहिल्यै हतार गर्न पाइँदैन नि, मैले भन्दिएको छु, फेरि म रिसाउँछु नि ।” अनि अठार महिनाको छोरी मलाई देखेर मैसँग डराउँछिन् । “नानु बाबा हो नि, बाबा भन…” सानी छोरी डराएर रुन्छे र पर पर भाग्छे । मन अमिलो हुन्छ… थुक घुटुक्क निल्छु । “यो पल्ट त बिदा टन्न लिनु भाको होला नि ।” फेरी जिज्ञासा आउँछ । पहिलो भेटमै श्रीमतीलाई खिन्न नपारुम भनेर बिस्तरै “अँ…” मात्र भन्छु ।
“ल आउनुस खाना खाम् । अब यहाँ जाने… यो किन्ने … अँ त्यहाँ पनि जानु पर्छ तपाईंलाई थाहा छ ? फलानोको छोरा त विदेस गयो नि…, तपाईं राम्रो भन्नु हुन्थ्यो नि पर्तिरको छिमेकीसँग अस्ति हाम्रो सिमानामा देबाल लगाउँदा कम्ति झगडा परेन… ए साँच्चि, त्यो अंकिता थि नि… तपाईंले चिन्नु भएन ? नयाँ छिमेकी हुन् क्या, त्यो त भागी नि… ।” बल्ल बल्ल भेट भएको म सँग ऊ महिनौं देखिका उकुसमुकुस एकै सासमा यो सुनाउँ कि त्यो सुनाउँ भन्दै खसी ब्याएको सम्म सुनाउँछिन् । “ल मैले आज हजुरलाई भनेर तिन थोक तरकारी पकाएको छु । पहाडमा तरकारी पाउँदैन के खानु हुन्छ तपाईं ? पुरै दुब्लाउनु भएछ ।” बैंकको जागिर खाए देखि करिब पाँच÷छ महिना पछि घर जाँदा म आफूलाई पूर्ण र बिछट्टै परिवर्तनको वातावरणमा पाउँछु । एउटा मानविय परिवेसमा ।
चिटिक्क परेको लुगा, टाइ, सुट, कोट, टलक्क जुत्ता, हँसिलो मुहार अनि आत्मविश्वासका साथ ठाँटिएर कार्यालय गएको आजको बैंकिङ युवावर्ग देख्दा जोकोहिलाई पनि लोभ लाग्दो हो । आहा… कति राम्रो नोकरी, कती सुन्दर जागीर, म पनि खान पाए हुन्थ्यो । तर उनीहरुलाई के थाहा… त्यो टाइभित्रको अर्थ, कोट भित्रको अर्थ, अनि टलक्क टल्केको जुत्ता भित्रको पिडा । यो जुत्ताले कैयौं पल्ट मेरा आफ्ना सपना र रहरहरु कुल्चेका छन्, ब्यक्तिगत जीवन र जिन्दगी… मनका हजारौं आकांक्षाहरु दबिएका छन् । कार्यालय र काम ब्यस्तताले के थाहा छिमेकीको विवाहमा सरिक नहुनुको पिडा, आफन्तको मुत्युमा मलामी जान नपाउनुको पिडा, अनि सुटुक्क झिसमिसेमै श्रीमती र छोरीसँग छुट्टिनुको दुःख । फ्रन्ट डेस्कमा बसेर केवाईसी भरिरहँदा पहिलो पल्ट छोरी बामे सरेको फोनबाटै सुनेर चित्त बुझाउनुको दुःख । यो टाइ, सुट र कोटले मेरा एक युगका सपना र रहर उधारै छोडेका छन् ।
कहिलेकाहिँ त लाग्छ म मान्छे नभएर ढुंगा हुँ, बिहान नौ बजे देखि एकनासले बेलुका अबेरसम्म सेवाग्राहीको काम गर्दागर्दा म मेसिन हुँ, प्रबिधि हुँ, फगत मात्र ढुंगा । कोरोनाको डरले सारा विश्व… मानिस मानिससँग डराएको वेला अति आवश्यकिय सेवा भन्दै कार्यालय खोल्नुुको पिडा । खै बुझेको यो समाजले हामी बैंकरको पिडा । किन कटाक्ष गरेर सोध्छ समाजले बोनस कति खानु भो, व्हेल फेयर कति आयो, तपाईं घमण्डी हुनुहुन्छ, व्यस्त छु भन्नु हुन्छ खालि, …व्यस्त त बहाना हो काम के नै हुन्छ र बैंक मा… ।
दिनरात उनिहरुकै सेवामा खटिँदा पनि किन बुझ्दैन समाजले । किन बैंकरलाई मिहिनेत अनुसारको इज्जत गर्न हिचकिचाउँछन् । फेरी बैंकमा दिन प्रतिदिन जोखिम पनि त छ नि । अरु क्षेत्रको जस्तो निश्चित कार्यालय समय मात्र काम कहाँ हुन्छ र बैंकमा ! बदलिँदो प्रबिधि र परिवर्तित नितीसँग अपडेट भैरहनु पर्यो । उफ्… गाह्रो छ । समाजको मात्र के कुरा हामी बैंकरहरु ब्यक्तिगत रहर र पारिवारिक इच्छाहरुलाई दवाएर कार्यालयलाई नै घर मान्दै गर्दा र सिनियरलाई अभिभावकको नजरले हेर्दै गर्दा खालि टार्गेट मात्र किन सोधिन्छ ? काम काम मात्र किन भनिन्छ ? काम त गरिहालिन्छ नि गरिएकै छ नि ।
कहिलेकाहीं सदा भन्दा अलि पर सोचेर के छ घर परिवार को खवर ? बुबा आमा सन्चै हुनुहुन्छ ? भनेर सोध्दा के बिग्रिन्छ र ! बैंकका लाखौं ग्राहकलाई सिस्टमले अटो एस.एम.एस बर्थ डे विस गरिरहँदा सिनियर कर्मचारी र केन्द्रिय कार्यालयको, विभागको डेस्कटप बाट आफ्नो कर्मचारीलाई बर्थ डे विस गर्न मिल्दैन र ! कत्ति खुसी लाग्थ्यो होला… हामी सानालाई त्यति ठुलो मान्छेले बर्थ डे विस गर्दा आखिर कतिनै कर्मचारी हुन्छन् र ! के यसले कार्यक्षमता घटाउँछ हो ? ठुलो मान्छेले सानोलाई सम्झिँदा खुसी नै लाग्छ नि होइन र ! आदर बढ्छ नि होइन र ! संस्था प्रति झन् माया हुन्छ नि… लगाब हुन्छ नि । अनि त संस्थाको विकास सजिलै भै हाल्छ नि । बैंकर भनेको पेलिने बस्तु हो र ! बैंकिंग संस्था भनेको सरकारलाई चाहिएको वेला रकम सहयोग गर्ने दुहुनो गाई मात्र हो भन्ने नसोची अलिकति म, अलिकति समाज, अलिकति सरकार बदलिए त भै हाल्थ्यो नि ।
कहिलेकाहीं सोच्छु मैले निजी जिन्दगी जिउन पाइन, परिवारलाई खुसी राख्न पाइन, ब्यस्तताले आमा, बाबा, श्रीमती अनि छोरीलाई समय दिन पाइन । बरु जागिर छोडिदिन्छु र राजिनामाको कागज खल्तीमा राखेर कार्यालय हिँड्छु । अनायासै बाटोभरी कुराहरु खेल्छन् – म को हो र आफैंमा । ऊसँग विवाहको कुरा चल्दा केटो बैंकमा नोकरी गर्ने भनेर बैंककै परिचयले विवाह गर्न सजिलो भएको थियो । फेरी पैसा कहाँ थियो र म सँग, यही बैंकबाटै त हो नि ‘स्टाफ होम लोन’ लिएर घर बनाएको । फेरी यही बैंक त हो नि जसले मलाई पेशागत परिचय दिएको छ र बाँच्ने आधारशिला भएको छ । सम्झिन्छु, श्रावण महिना लाग्दा नलाग्दै आउने मेरो एकमुस्ट बोनस र त्यो बोनसमा श्रीमतीको यो पल्ट किन्ने रानीहारको सपना… जसले केही हदसम्म बिर्साइदिन्छ मैले उसलाई समय दिन नसकेको वर्षौंका उसका गुनासाहरु… अनि फेरि सम्झिन्छु, बोनस पछि लगत्तै दशैंमा आउने एकमुस्ट पेश्की जसले बुबा, आमा र छोरीलाई नयाँ लुगा अनि मिठो खाना ।
फेरी लगत्तै आउने व्हेल फेयर र फोर्स लिभको एकमुस्ट रकम जसले परिवारै नयाँ–नयाँ ठाउँमा घुम्नुको मज्जा दिन्छ र मेरा सबै तिक्ततालाई मेटाइदिन्छ । यही बैंकको नोकरीले त हो नि, जहाँ म मासिक तलब आउने आसमा किराना पसलबाट ढुक्कसँग रासन उठाई परिवार चलाउँछु । बैंक नहुनु हो त मेरो परिचयनै के पो छ र !
बाटोभरी नानाथरी कुराहरु खेलाउँदै गर्दा अनायासै झसङ्ग याद आउँछ सीईओ सर अनि डीसीईओ म्याडमको एउटा इमेल जुन हरेक बर्ष श्रावण १ गते बिहानै मेरो अफिस टेवलको डेस्कटपमा आउँछ, “शर्माजी, बधाइ छ तपाईलाई ! तपाईले हरेक वर्षजस्तै यो आर्थिक बर्षमा पनि सजिलै टार्गेट पुर्याउनु भयो, राम्रो गर्नु भयो, गुड वर्क, किप इट अप”, जसले मेरो बर्षौंको सबै गुनासा र तिक्ततालाई मेटाइ दिन्छन्, अनि मलाई फ्रस्टेशन हुनबाट बचाउँछ र बिच बाटोमै खल्तिको राजिनामा पत्र च्यातिदिन्छु र केही नसोची नयाँ जोसका साथ हतार–हतार अफिस तर्फ लाग्दछु ।
बिराटनगर–५
हाल मेन्छयायेम्, तेह्रथुम