“टिरिङ्…टिरिङ्…”, बिहानको ठिक ५ बजे मोवाइलमा अलार्म बज्छ । “ओहो ! अघि भर्खरै मात्र सुतेको जस्तो लाग्छ, कति चाँडै बिहान पो भइसकेछ ।” हत्तनपत्त उठ्दै अनि हल्काराले दलिनमा फ्याँकेको दैनिक पत्रिका बैठकको टेवुलमा राख्दै ऊ नुहाउनका लागि बाथरुम पस्छे । एक्कासी उसलाई मिटिङमा उपस्थित हुन चाँडै अफिस पुग्नुपर्ने कुरा याद आउँछ र टाउको मात्र नुहाएर निस्किन्छे ।
बैठकमा पत्रिका पढिरहेका ससुरा र मोवाइल चलाउँदै बसिरहेका सासु तथा श्रीमानका लागि भनेर चुलोको एकातिर चिया र अर्को तिर तरकारी बसाउँदै ऊ सुतिरहेका छोराछोरीलाई उठाउँछे र दुध बिस्कुट दिँदै होमवर्क गर्न लगाउँछे । एक्कासी तरकारी डढेको गन्ध उसको नाकसम्म आउँछ र विवस अनुहारमा झन् तनाव थोपरिदिन्छ । ऊ आफैंसँग विस्तारै फत्फताउँछे – “हत्तेरिका, तरकारीको कारणले फेरी सासु कराएको सुन्नुपर्ने भो ।”
विहानको घरधन्दा सकिओरी साढे ८ बजिनसक्दै ऊ हतारहतार नजिकैको चोकमा माइक्रो कुर्न पुगिसक्छे । अफिस पुग्ने हतारले माइक्रोको ढोका बाहिरसम्म झुण्डिएको भीडलाई नजरअन्दाज गर्नु उसको विवसता नै बनिसकेको हुन्छ ।
हतार गरेर पनि केही फाइदा भएन, आजपनि अफिसमा ९ः३५ मा मात्र उसको क्लक इन (प्रवेश) हुन्छ । दुइ दिन भइसक्यो ऊ यसरी ढिलो अफिस आइपुगेको । महिनामा तिन दिन मात्र पनि ९ः३० भित्रै अफिस आइपुगिएन भने एक दिन को बिदा कट्छ । यो अफिसको नियम नै हो ।
तनाव पनि कति थरिका, अघिल्लो दिनकै मात्र कुरा हो, टेलरमा बस्दा जम्मा १ हजार रुपैयाँको हिसाब नमिल्दा पनि उसलाई कम्ति टेन्शन भएको थिएन । धन्न, सबै स्टाफहरु बेलुका ७ बजेसम्म बसेर भएपनि गल्ती पत्ता लगाइदिएपछि मात्र उसले सन्तोषको सास फेरेको कुराले आज उसलाई अलि चनाखो बनाएको छ ।
मिटिङ सुरु भयो । मेनेजरसँग आँखा जुधाउन उसलाई डर लागिरहेको छ । त्यो डरका पछाडि दुई ओटा कारण छन् । पहिलो, आफूले अघिल्लो साँझ सवै स्टाफलाई ढिलो गराइदिएको, र दोस्रो यो हप्ता आफूले थोरै संख्यामा मात्र खाता खोलाउन सकेको । बैकहरु धेरै संख्यामा भएको हुनाले ठूलो प्रतिष्पर्धा भइरहेको र आफ्नो बैंकले नाफा कमाएन भने तलव खुवाउन सक्दैन भन्ने कुरा उसले नबुझेकी पनि होइन । तर, सोचेजस्तो कहाँ हुँदो रहेछ र !
मिटिंग सकिएको केही बेरमै उसको पेट नराम्रोसँग दुख्न थाल्यो । “उफ, सेनिटरी प्याड त ल्याउनै पो बिर्सेंछु ।” खुइय सुस्केरा हाल्दै उ मनमनै सोच्न थाल्छे, “सानो शाखा थोरै कर्मचारी, त्यसमा पनि महिलामा म एक्लै । मिटिङका वेला महिलालाई छुट्टै ट्वाइलेट् चाहिन्छ भनी प्रस्ताव राखौं भन्छु, बोल्ने हिम्मत नै आउँदैन । त्यसमाथि आफ्नो त क्यास डिपार्टमेन्ट, एकछिन छोडेर पसल जान पनि नमिल्ने । पुरुष सहकर्मीलाई कसरी प्याड ल्याइदेउ भन्नु ?”
जेठ आउन लागिसक्यो, यसरी हेर्दा असाढ मसान्त पनि अब धेरै टाढा छैन । सामान्य वेलाको जस्तो पाँचै बजे अफिसबाट निस्कन के मिल्थ्यो र ! त्यसमाथि पनि भर्खरैको मिटिङमा बिजनेस लाई एग्रेशिभ्ली बढाउने म्यानेजरको योजना सुन्दा त आज घर निस्किनलाई सात बज्ने कुरामा ऊ ढुक्क छे ।
रात पर्नै लाग्दा ऊ घर पुग्छे । बिहानदेखिका जुठा भाँडा उसलाई नै पर्खेर बसिरहेका हुन्छन् । घर आइपुग्ने हतारले तरकारी किन्न पनि बिर्सिन्छे । गुन्द्रुकको झोल पकाउने दुस्साहस मात्र के गरेकी हुन्छे, सासुको बचनवाणहरु उसका कानमा आएर ठोक्किन्छन् – “कसैको नभाको जागिर, अरुले पनि त जागिर खाएका छन् नि । विहान डढेको तरकारी खुवाइस् अहिले तरकारी विनैको खाना खुवाउन लागिस् ?”
ऊ एक्कासी सानो स्वरमा झर्किन्छे – “भैगो त आमा, म भोलिनै राजिनामा दिन्छु ।” ऊ दगुर्दै आफ्नो कोठामा जान्छे र भक्कानिन्छे । उसलाई आफ्नो ममी–बाबाको खुब सम्झना आउँछ । बि.बि.एस पास हुने बित्तिकै बाबाले आफ्नै खुट्टामा उभिनु पर्छ भनी हौसला दिएको, बैंकमा जागिर पाउँदा गर्व महसुस गरेको, छोरीले बिर्सिन्छे कि भनेर ममीले सुटुक्क ब्यागमा प्याड राखिदिएको अनि अफिसबाट फर्किंदा चाहिँ टाउको मिचिदिएको जस्ता सम्झनाले उसको मनलाई अमिलो बनाउँछ ।
बिहे अघिसम्म पनि ऊ कहाँ यस्ती थिइ र ! अन्य स्टाफभन्दा अगाडि नै अफिस पुग्थी, साँझ अबेरसम्म काम गर्थी । ऊ वास्तवमै उदाहरण थिई । जहिल्यै मेनेजरले उसको तारिफ गर्थे । तर हिजोआज ऊ शिथिल भएकी छे । अफिसबाट ‘कर्मचारी होमलोन’ लिएर घर बनाउँदा पनि र बिजुली–टेलिफोन तथा बच्चाको स्कुल फिमा मज्जाले सघाउँदा पनि घरका सदस्यहरुले कहिल्यै चित्त नबुझाइदिँदा उसलाई नमज्जा लागेर आउँछ ।
तर जे भएपनि सासु भनेको सासु नै हो, आफूले मान त गर्नै पथ्र्यो । रिसको झोँकमा सासुसँग मुखमुखे लागेको कुरामा भने उसलाई ग्लानी महसुस हुन्छ । यता उसलाई ग्लानी महसुस हुँदै गर्दा उतापट्टि सासुलाई पनि बुहारीले जागिर छोड्ने हो कि भन्ने चिन्ताले सताउन थाल्छ । बुहारीले अघिल्लो साल खाएको वोनसबाट आफूलाई आठ आनाको बेरुवा औंठी किनिदिएको र यसपाली पनि बोनस खाने वेला हुन लागेको कुराले सासुको मानसपटलमा घच्घच्याउन थाल्छ ।
भोलिपल्ट विहान अलार्मको आवाजसँगै बुहारी उठ्दा त सासुले चिया पकाइसकिछन्, अघिनै तरकारी पनि किनेर ल्याइसकिछन् । एकैरातमा सासुमा आफूप्रतिको धारणामा आएको परिवर्तन देखेर ऊ अचम्मित हुन्छे र अब खाइपाइ आएको जागिर कहिल्यै नछोड्ने निर्णय गर्दै भान्सातिर पस्छे ।
बिराटनगर–५
हाल तेह्रथुम