
काठमाडौं । नेपाली कांग्रेसले कोरोना महामारीका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असर अध्ययन गर्नका लागि उद्योगपति विनोद चौधरीको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको छ । चाैधरी प्रतिनिधि सभा सदस्य समेत हुन्
लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित बिशेष समितिका सदस्यहरुमा दीपक खड्का, उमेश श्रेष्ठ, ईन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा घले, जिपछिरिङ लामा रहेका छन् । त्यस्तै छत्र गिरि, सूर्यबहादुर केसी, मोहन आचार्य, तेजुलाल चौधरी, अनिल रुङ्गटा, विष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ र खगेश्वर बोहरा पनि सदस्य छन् ।
समितिमा सदस्य संख्या २१ जना नबढ्ने गरी थप्न सकिने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिए । यो समितिले कोरोनाका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असरलाई तत्कालीन र दूरगामी रूपमा सम्बोधन गर्न सकिने नीतिबारे आवश्यक अध्ययन पश्चात् पार्टीको ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ लाई सुझाव दिने कांग्रेसले जनाएकाे छ ।
त्यस्तै दीर्घकालीन रूपमा लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा दूरगामी दृष्टिकोण साथ दिगो परियोजनाहरुको परिकल्पना र कार्यान्वयनमा भूमिका निर्वाह गर्ने पनि कांग्रेसले जनाएको छ ।