काठमाडौं । अनुकूल मनसुनका कारण ढकमक फूलसँगै प्रशस्तै दाना लागेपछि उत्पादन राम्रो हुने आशा बोकेका जुनार किसानको सपनालाई केही दिन अघि परेको असिनाले क्षणभरमै चकनाचुर तुल्याएको छ ।
कोभिड– १९ को जोखिम नियन्त्रणका लागि गरिएको ‘लकडाउन’कारण जिल्ला र स्थानीय तहमा किटनाशक औषधिको अभावले केही वर्षदेखि प्रकोपका रुपमा देखिएको औंसाले बाँकी फललाई पनि सखाप पार्ने हो कि भन्ने अर्को चिन्ताले अहिले किसानलाई सताएको छ ।
तीनकन्यामा व्यावसायिक जुनारखेती गर्दै आउनुभएका लोकबहादुर आलेमगर भने, “अनुकूल मनसुनले फूल र दाना राम्रो देखियो, यस वर्ष धेरै फल्छ कि भन्ने लागेको आशलाई केही दिनअघि परेको भारी असिनाले क्षणभरमै निराशामा बदल्यो, आधा चिचिला झा¥यो, टुट्टामा पार्यो, बाँकी फललाई पनि औँसाले खत्तम पार्ने हो कि भन्ने चिन्ता छ ।”
जुनार खेतिका लागि अनुकूल हावापानी भएकाले सिन्धुलीको महाभार क्षेत्रलाई सरकारले चार वर्षअघि सुपर जोन घोषणा गरी जुनार उत्पादन क्षेत्र विस्तार र रोग नियन्त्रणलगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यहाँको गोलञ्जोर गाउँपालिकाका रचनचुरा, जलकन्या, तिनकन्यालगायत क्षेत्र गुणस्तरीय जुनार उत्पादनका लागि पकेट क्षेत्र मानिन्छन् । त्यस क्षेत्रमा गुणस्तरीय उत्पादनका लागि नर्सरी स्क्रिन हाउससमेत स्थापना गरिएको छ ।
कृषक मगरले १८ रोपनी क्षेत्रफलमा लगाइएका ५ सय बोट जुनारबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गर्दै आए । परम्परागत खेती कोदो, फापर, गहुँ, जौ र आलुखेती गर्दै आएका त्यस क्षेत्रका किसान व्यावसायिक जुनारखेतीमा प्रवेश गरेसँगै जीवनस्तर उकास्न ठूलो योगदान पुर्याएको छ ।
त्यहाँको महाभारत इलाकाको सय किलोमिटर क्षेत्र जुनार, सुन्तला, कागती र निबुआका लागि उर्भरभूमि मानिन्छ । जुनारको एउटा बोटबाट एक हजारदेखि एक हजार ५ सयसम्म फल उत्पादन हुन्छ भने एउटा नर्सरी बिरुवालाई १ सय २५ मा बिक्री भइरहेको छ । सिन्धुली जिल्लाबाट मात्र वार्षिक २० करोड रुपैयाँ मूल्य बराबरको जुनार बिक्री हुँदैआएको छ ।
चिचिला मात्र होइन, हाँगैसमेत स्वोत्तर
जिल्लाका चार हजारभन्दा बढी घरपरिवार अहिले व्यवसायी जुनारखेतीमा संलग्न छन् । किसानलाई बेलाबखतमा देखापर्ने विभिन्न रोग किराको प्रकोपबाट बोटबिरुवा र फल जोगाउने चिन्ताले भने सधैँ सताइरहन्छ । अरु अन्नबालीको तुलनामा सजिलो र बढी आम्दानी हुने तथा स्थानीयवासीलाई रोजगारीसमेत प्रदान गर्न पाएकामा त्यसमा संलग्न किसान व्यवसायप्रति सन्तुष्टि व्यक्त गरे ।
जुनारका लागि वर्षमा दुई पटक मल हाल्नुपर्छ भने चारपटक औषधि छर्कनुपर्छ । मल प्रतिडोका सय रुपैयाँमा किनेर हाल्नुपरेको किसान बताउँछन् । किसानले रोग नियन्त्रणका लागि औषधिका किन्न अग्रिमरुपमा रकम जम्मा गरेर परियोजनालाई उपलब्ध गराउँदै आएका छन् । कृषि बीमा कार्यक्रम प्रभावकारी नभएका कारण पनि जुनार किसान मारमा परेका हुन् ।
जुनार र सुन्तलाको व्यवसाय खेती गर्दै आउनुभएकी कृषक देवकुमारी ठकुरी भने, “लगातार परेको असिनाले जुनारका चिचिला लग्यो, किसान निराश छ, हाँगैसमेत भाँचेर स्वोतर बनाएको छ, ठूलो समस्या भो, ३० वर्ष लगाएर हुर्काएर बोट खतम भए । हामी अहिले विचल्लीमा परेका छौँ ।” ठकुरीले पोहरसाल ११ लाख बराबरको जुनार सुन्तला बिक्री गरे । त्यस क्षेत्रका किसानले जुनारको गोडमेल, मल हाल्ने र टिप्ने कार्यमा संलग्न गराई स्थानीयवासीलाई ठूलो राजगारी प्रदान गर्दै आएका छन् ।
प्रकोप सिन्धुलीमा विषादी काठमाडौंमा
“बाँकी फल पनि जोगाउन मुस्किल होला जस्तो छ, मुलुकमा लकडाउन छ, औंसा बगैँचामा सलबलाउन शुरु गरिसके, रोग किरा नियन्त्रण गर्ने औषधि काठमाडौँमा छ, यसको कसरी व्यवस्थापन गर्ने भन्ने किसानमा पिरलो परेको छ ” कृषक देवकुमारी ठकुरीले भने ।
बिजुको तुलनामा कलमी बोटको सुनौलो रङ्गको जुनार गुणस्तरीय मानिन्छ । रतनचुरा चिसापानीका योगेन्द्र थापाको बगैंचामा ६ सयसम्म जुनारको बोट छ । जिल्लामा वार्षिकरुपमा एक लाखभन्दा बढी मूल्यको जुनार बिक्री गर्ने किसानको सङ्ख्या हजारभन्दा बढी छ ।
जुनार सुपरजोन परियोजना प्रमुख देवराज अधिकारी भने, “यस वर्ष जुनारको फूल रामै्र फुलेको थियो, असिनाले ५० प्रतिशत साना दानामा क्षति पु¥याएको छ, बाँकी रहेकालाई बचाउन सकियो भने पनि ठूलै उपलब्धि हुन्छ ।”
त्यस क्षेत्रमा किसानले सञ्चालन गरेका सहकारी कृषकको हितमा प्रभावकारी देखिएका छन् । त्यस्ता सहकारीमा आबद्ध हुने किसानको सङ्ख्या दुई हजारभन्दा बढी छ । औंसाले अघिल्ला वर्षमा ४० प्रतिशतसम्म क्षति पु¥याएकामा किरा नियन्त्रण कार्यक्रमपछि क्षति घटेर १५ प्रतिशतमा झरेको जानकारी दिँदै उनले भने, “किरा नियन्त्रणका लागि विषादी वैशाख अन्तिमभित्र छर्नुपर्छ, विषादि काठमाडौंबाट ल्याउन पहल र प्रयास गरिरहेका छौँ ।”
सातसयदेखि बाह्रसय मिटरसम्मको हावापानीमा फस्टाउने जुनारखेती सिन्धुली, रामेछाप, उदयपुर, धनकुटा, भोजपुर र ओखलढुङ्गामा निकै राम्रो सम्भावना छ । पछिल्ला वर्षमा सिन्धुलीका जुनार काठमाडौँ र तराई जाने यात्रुका लागि कोसेली बनिरहेको छ ।
उद्योग त छ तर विडम्बना छ !
चीनले सिन्धुलीका उत्पादित जुनार निर्यात गर्न सम्झौता गरिरहेको छ । आन्तरिक बजार पनि राम्रो रहेको हुँदा मुलुकको आयात निर्यातबीच सन्तुलन कायम गर्न जुनार विकल्प बन्न सक्छ । त्यसका लागि जुनार खेतीको विकास र विस्तार गर्नुपर्ने विज्ञको सुझाव छ । जुनार उत्पादन कार्तिकदेखि फागुनसम्म हुने भए पनि मंसिर र पुस महिनाभित्र बढी उपयुक्त मानिन्छ ।
सिन्धुलीका जुनार जनकपुर, विराटनगर, पोखरा र काठमाडौँको अतिरिक्त भारतको विहारसम्म बिक्री हुँदै आएका छन् । त्यहाँका जुनार मौसमअनुसार, प्रतिकिलो ६० देखि १ सय ८० सम्म बिक्री हुने गरेको छ । जुनार भण्डारणका लागि सिन्धुलीमा ५ सय मेक्ट्रिकटन क्षमताको कोल्डस्टोर निर्माण गरिएको छ ।
अत्यन्त न्यून ज्यालामा मजदूरीका लागि विदेशी भूमिमा पसिना बगाइरहेका युवालाई स्वदेशमै रोजगारी दिन र फलफूलमा आत्मनिर्भर तुल्याउन जुनारको व्यावसायिक खेती विस्तार विकल्प हुन सक्छ । रासस