काठमाडौं । सरकारले लकडाउनलाई सहज बनाउँदै उद्योग र ठूला आयोजना सुचारु गर्न सकिने निर्णय गरेको छ । कोरोना रोकथाम सम्बन्धि उच्च स्तरीय समितिको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले गरेको निर्णयअनुसार अब अत्यावश्यक सेवाका लागि उद्योग सञ्चालन गर्न सकिने छ भने अन्य उद्योगहरुले कामदारलाई स्वास्थ्य सुविधासहित काम गराउन सक्नेछन् । तर उनीहरु ओहोर दोहोर गर्न पाउने छैनन् । कम्पनीभित्रै बस्नुपर्नेछ ।
अर्थ तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले ढुवानीको साधनलाई अझ सहज गर्ने र नियमित रुपमा आयात भएका र दैनिक आपूर्ति हुने वस्तुहरुको लेखाजोखा राख्ने बताए ।
उनले मुलुकभित्र अति आवश्यक उद्योग सञ्चालन गर्ने निर्णय भएको बताए । अन्य उद्योगहरुले पनि भित्र कामदारलाई सुरक्षित राखेर, स्वास्थ्यका मापदण्ड पूरा गरेर सञ्चालन गर्न सक्ने उनकाे भनाइ छ। तर,आवागमन रोकेर भित्रै राखेर सञ्चालन गर्न दिने भन्ने निर्णय भएकाे उनले बताए ।
उनले तामाकोशी, मेलम्चीलगायतका ठूला आयोजनामा पनि भित्रै कामदार राखेर काम सुचारु गर्न सकिने पनि बताए । अब लकडाउन सहज भएर राष्ट्रिय गाैरवका आयाेजनाहरूमा नियमित रूपमा काम गर्न सकिने छ ।