
धेरै अघिको कुरा हो कुनै गाउँमा एउटा मन्दिर थियो । त्यो मन्दिरमा एकजना बृद्ध पुजारी थिए जो विद्वान हुनुका साथै सज्जन पनि थिए । एक दिनको कुरा हो पुजारीले मन्दिरमा पूजा गर्दै गर्दा कतैबाट एउटा कुकुर त्यहाँ आइपुग्यो ।
त्यो कुकुर भोक र प्यासले छटपटाइरहेको थियो । यस्तो देखेर ती पुजारीलाई दया आयो । उनले पूजालाई बिचमै रोकेर त्यो कुकुरलाई खाना खुवाए र पानी पियाए । कुकुरलाई खाना खुवाइसकेपछि पुजारी फेरी पूजालाई निरन्तरता दिन थाले ।
पुजारीले पूजा गरिरहँदा कुकुर भने आफ्नो पुच्छर हल्लाउँदै पुजारीको काखमा बस्ने कोशिस गरिरहेको थियो । पूजाको काममा व्यवधान पर्ने ठानेर पुजारीले आफ्नो शिष्यलाई बोलाए र भने कि मेरो पूजा नसकिँदासम्म यस कुकुरलाई बाहिरको रुखमा बाँधिदेऊ । शिष्यले पनि पुजारीले भने अनुसारै गरे ।
त्यस दिनदेखि त्यो कुकुर मन्दिरमै बस्न थाल्यो र जब पुजारी पूजा गर्न बस्थे शिष्यले कुकुरलाई रुखमा बाँधिदिन्थे । यो क्रम सधैं नै चल्न थाल्यो ।
केहि दिनपछि पुजारीको मृत्यु भयो । उनको मृत्युपछि उनका शिष्यलाई मन्दिरको पुजारी बनाइयो । ति शिष्य पनि कुकुरलाई रुखमा बाँधेर मात्र पूजा गर्न थाले । केहि वर्षपछि ती नयाँ पुजारीको पनि अकस्मात् मृत्यु भयो । पुजारीको अकस्मात मृत्यु भएपछि मन्दिरका सम्पूर्ण सदस्यहरुले आपसमा मिटिंग राखे र निर्णय गरे कि अबका दिनमा कुकुरलाई रुखमा बाँधेर मात्र पुजारीहरुले पूजा गर्न पाउनेछन् ।
पूजाको समयमा कुकुरलाई रुखमा बाँध्नैपर्छ भन्ने कुरा एउटा परम्पराको रुपमा बस्यो र त्यो परम्परालाई कडाईका साथ पालना गर्न थालियो । धेरै वर्षको अवधिमा सो मन्दिरमा केहि पुजारीहरुको मृत्यु भइसकेको थियो भने धेरै कुकुरहरु पनि मरिसकेका थिए । तर त्यहाँ नियुक्त हुने पुजारीले जहाँबाट भएपनि कुकुर खोजेर ल्याउनुपर्थ्याे र रुखमा बाँधेर मात्र पूजा ल्याउनुपर्थ्याे ।
जब कोहि पढेलेखेको मानिसले कुकुरलाई पूजाको समयमा रुखमा बाँध्नुको कारणबारे सोध्थे तब पुजारीको उत्तर हुन्थ्यो कि, ‘यसको ठ्याक्कै कारण त थाहा छैन तरपनि हाम्रो पूर्वजहरुकै पालादेखि चल्दै आएको चलन हो । पूर्वजहरुले विनाकारण त यसो पक्कै गरेनन् होला ।’
वास्तवमा, यो कथामा बताइए जस्ता कति अन्धविश्वासहरु हामीले आजका दिनमा पनि मान्दै आइरहेका छौं । हामीले यो कहिल्यै सोचेनौं कि पूर्वजहरुले जे गरे हुनसक्छ त्यो कुरा उक्त समयमा केहि विशेष कारणले गरे होलान् । तर त्यसलाई आज हामीले परम्पराको रुपमा मानेर निरन्तरता दिने गरेका छौं ।
यो कुनै एउटा व्यक्ति विशेषको कुरा होइन बरु हाम्रो समाजमा हरेक मानिस कुनै न कुनै अन्धविश्वास अवश्य मानेर बसेको छ र जसलाई पनि सोधौं कि उसले किन यस्तो काम गर्छ तब उसले पनि यहि भन्छ कि यो त हाम्रा पूर्वजहरुले नै गर्दै आएकोले मैले पनि गरेको हुँ ।
तर अव हामीले गहिरिएर सोच्ने वेला भइसकेको छ कि यस्ता रुढिवादी कुराहरुबाट माथि उठ्यौं भने मात्र हाम्रो विकास सम्भव छ ।
(हिन्दीसोचडटकम बाट भावानुवाद गरिएको)