काठमाडौं । युरोपेली देश साइप्रसमा अध्ययनका लागि गएका विद्यार्थीलाई अभिभावकले नेपालबाट ३ सय युरो पठाउन पाउने भएका छन् । साइप्रसमा कोरोना भाइरस (कोभिड १९) को कारण जनजीवन प्रभावित भएपछि राष्ट्र बैंकले रकम पठाउने बाटो खुल्ला गरेको हो ।
कोभिड १९ संक्रमण रोक्न भन्दै साइप्रस सरकारले चालेका कदमका कारण नेपाली विद्यार्थीको रोजगारी गुमेको र त्यसले उनीहरुलाई समस्या भएको व्यापक गुनासो आएपछि प्रतिविद्यार्थी ३ सय युरोका दरले रकम पठाउन पाउने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकको विदेशी विनियम विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिए ।
यसरी रकम पठाउन नेपाल राष्ट्र बैंकले विभिन्न शर्त तोकेको छ । शर्तहरुमा यसरी पठाइएको रकम लाभग्राही नेपाली विद्यार्थी हुनुपर्ने, विद्यार्थीको निर्वाह शुल्क वापतको रकम पठाउँदा त्यस्ता विद्यार्थी साइप्रसमा रहेर अध्ययन गरिरहेको काजतसहित बैंक तथा वित्तीय संस्थामा निवेदन दिनुपर्ने र रकम पठाउँदा प्रतिविद्यार्थी बढी युरो ३ सय वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा मात्र पठाउन सकिने व्यवस्था गरिएको छ ।
यस्तै, साइप्रसमा रकम प्राप्त गर्ने विद्यार्थीका अभिभावक/आफन्तले मात्र नेपालबाट करम पठाउन पाउने, सटही सुविधा माग गर्ने व्यक्तिले अन्य बैंक तथा वित्तीय संस्थाबाट यसप्रकारको सुविधा नलिएको स्वघोषणा गर्नुपर्ने, यसरी प्रदान गरिने सटही सुविधा सम्बन्धी विवरण महिना समाप्त भएको ७ दिनभित्रमा सम्बन्धित बैंकले नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागमा रिपोर्टिङ गर्नुपर्ने र यस्तो रकमको दुरुपयोग भएको पाइएमा सम्बन्धित अभिभावक÷आफन्त जिम्मेवार हुनुपर्ने शर्त रहेको कार्यकारी निर्देशक मिश्रले जानकारी दिए ।