काठमाडौं । पछिल्ला वर्षहरूमा विश्व समुदायमाझ नयाँ रोगले महामारीको रूप लिइरहेको छ । यस्ता महामारीले लाखौं मानिसको ज्यान पनि लिइरहेको छ ।
यस वर्ष कोरोना भाईरसले संसारभर महामारीको रुप लिएको छ । यस्ता महामारीको रुपमा फैलदै गर्दा स्वास्थ्य सेवा प्रदायकहरुले कसरी तयार गरिरहेका छन् भन्ने एउटा मुख्य प्रश्न हो ।
महामारी आउने संकेत पहिला आउँदैन । कुन रोगले कतिबेला महामारीको रुप लिन्छ भन्न पनि सकिदैन । नेपालमा विभिन्न समयमा विश्वभर फैलिएको महामारी तथा नेपालमा मात्रै फैलने माहामारीले पनि धेरैको ज्यान लिने गरेको छ ।
के छ त अस्पतालहरुको तयारी ?
त्रिवि शिक्षण अस्पताल
त्रिवि शिक्षण अस्पतालमा महामारी व्यवस्थापनको लागि छुट्टै डिजास्टर टिम रहेको अस्पतालका निर्देशक प्रेमकृष्ण खड्काले बताए । यो टिमले कसरी काम गर्ने भन्ने विषयमा अस्पतालले माहामारी व्यवस्थापनको लागि आफ्नै ३६ पानाको प्रोटोकल तयार पारेको र त्यही अनुरुप काम गर्ने खड्काले जानकारी दिए ।
यद्यपि विश्वभर आतंक मच्चाएको कोरोना भाइरस (कोभिड–१९) लागि भने अस्पतालले खासै तयारी गरेको छैन । कोरोना रोकथाम र उपचारको लागि के कस्तो सावधानी र तयारी गर्ने भन्ने सन्दर्भमा अस्पतालले छुट्टै कमिटी बनाउँदै गरेको खड्काले बताए ।
पाटन अस्पताल
कुनै पनि महामारीको लागि आफूहरु पहिलादेखि नै तयार रहेको पाटन अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्मा बताउँछन् ।
‘हामीले महामारी व्यवस्थापनको लागि आफ्ना कर्मचारीहरुलाई समयसमयमा तालिम दिईरहेका हुन्छौं, एकपटक तालिम दिएर याद नहुने हुनाले हामीले समुह बनाएर तालिम दिदैं आईरहेका हुन्छौं, हामी आफ्नो प्रोटोकल अनुसार कुन व्यक्ति कहाँ खटिने, कसरी खटिने भन्ने कुरा निर्धारण गरिसकेका हुन्छौं,’ शर्माले भने ।
महामारी व्यवस्थापनको लागि आईसोलेसन बेड छुट्टाउनेदेखि लिएर रोग फैलन नदिनलाई अस्पतालका कर्मचारीहरुले अपनाउनु पर्न पूर्वसवाधानीका सबै विकल्प अपनाइएको उनको भनाइ छ । पाटन अस्पतालले कोरोनाको लागि ५ वटा आईसोलेसन बेड छुटाएको छ ।
सुमेरु अस्पताल
धापाखेलस्थित सुमेरु अस्पतालले पनि आफूहरु पूर्वतयारी अवस्थामा रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । अस्पतालले कुनै पनि महामारी त्यसमा पनि सरुवा रोगहरुको लागि ३ खण्डको आईसोलेसन वार्ड छुटाएको बताएको छ ।
सुरुमा महामारीको वा कुनै पनि सरुवा रोगको शंकामा आएका बिरामीलाई अस्पतालले ईमर्जेन्सी वार्डमा राख्ने, त्यसपछि रोग पुष्टी भएको अवस्थामा जेनरल वार्डमा विशेषज्ञहरुले जाँच्ने र थप उपचारको लागि बेग्लै वार्डमा सार्ने गरेको छ । आफ्नो पहल र प्रयासले मात्रै अपुग भएमा सरुवा रोगको विशेषज्ञता प्राप्त टेकु अस्पतालसँग सहयोग लिने गरेका छ ।
हाल अस्पतालमा मास्क, स्यानिटाईजर, पन्जाहरुको समस्या भइरहेको प्रशासनले बताएको छ । आफूहरुसँग यस्ता सामाग्रीहरुको स्टक पनि बाँकी नरहेको र यस्तै अवस्था रहे संक्रमण रोगहरुको उपचारमा समस्या आउने बताएको छ ।
मेडिसिटी अस्पताल
नख्खु स्थित मेडिसिटी अस्पतालले पनि आफुहरु कुनै पनि महामारीको लागि तयारी अवस्थामा रहेको अस्पतालका आईसियु प्रमुख डा. दिपेश आर्यलले बताए । मेडिसीटी अस्पताल एनएबीएच मान्यता प्राप्त अस्पताल हो ।
एनएबीएच अस्पताल र स्वास्थ्य सेवा प्रदायकहरुको लागि राष्ट्रिय मान्यता दिने बोर्ड हो ।
अल्का अस्पताल
जावलाखेलस्थित अल्का अस्पतालले पनि आफूहरु कुनै पनि प्रकारको महामारीको लागि जहिले पनि तयारी अवस्थामा रहेको जानकारी दिएको छ । अस्पताल प्रशासनले आफूहरुसँग यस्तो समयमा खटिने एउटा विशेष टिम रहेको र उनीहरुले कुनै पनि अवस्थामा अस्पतालले कसरी काम गर्ने भन्ने सुझाव दिने गरेका जानकारी दिएको छ ।
यस्तै, कोरोनाको लागि अस्पतालले एउटा रुम छुटाएको छ र केही थप समस्या आइपरेको अवस्थामा स्वास्थ्य मन्त्रालयले ललितपुरको हब अस्पतालको रुपमा तोकेको पाटन अस्पतालसँग समन्वय गर्ने गरेको जानकारी अल्का अस्पातलले दिएको छ ।
बीर अस्पताल
दशकै जेठो अस्पताल बीरले पनि महामारीहरुसँग सामना गर्नको लागि तयारी रहेको अस्पताल नर्सिङ प्रशासककी मिरा श्रेष्ठले बताईन् । अस्पतालले हाल कोरोनाको लागि भने ५ वटा आईसोलेसन बेड छुट्टाएको छ ।
‘हामी एकदम तयार अवस्थामा छौं तर हाम्रो अस्पतालमा देशभरबाट मानिसहरु आउने र त्यसमा पनि विशेष गरेर आर्थिक स्थिति कमजोर भएकाहरु आउने गर्छन्, यस्तो विरामीको सामान्यतः रोग प्रतिरोधात्मक क्षमता अन्यको दाँजोमा कम हुन्छ, जसले गर्दा उनीहरुमा संक्रमण बढ्ने जोखिम अधिक हुन्छ,’ श्रेष्ठले भनिन् ।
त्यसैले पनि बीरमा त्यस्ता बिरामीको लागि आईसोलेसन वार्ड नराख्न आफुहरुले चाहेको श्रेष्ठ बताउँछिन् ।