ललितपुरको बडिखेलमा बन्ने भयो सामुदायिक पुस्तकालय, लागत रकम २ कराेड

<p>काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका बडिखेलमा जिल्लाकै नमुना पुस्तकालय बन्ने भएको छ । गोदावरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष र रिड नेपालका अध्यक्षले यस सम्बन्धी सम्झौतापत्रमा बिहीबार हस्ताक्षर गरेका हुन् । शान्ती भोलन्टियर एशोशियशन नेपालको मुख्य आर्थिक सहयोगमा बन्न लागेको सामुदायिक पुस्तकालयमा स्थानीय तह र स्थानीय बासिन्दाबाट समेत आर्थिक सहयोग जुटाइनेछ । नगरपालिकाका प्रमुख [&hellip;]</p>

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका बडिखेलमा जिल्लाकै नमुना पुस्तकालय बन्ने भएको छ । गोदावरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष र रिड नेपालका अध्यक्षले यस सम्बन्धी सम्झौतापत्रमा बिहीबार हस्ताक्षर गरेका हुन् ।

शान्ती भोलन्टियर एशोशियशन नेपालको मुख्य आर्थिक सहयोगमा बन्न लागेको सामुदायिक पुस्तकालयमा स्थानीय तह र स्थानीय बासिन्दाबाट समेत आर्थिक सहयोग जुटाइनेछ ।

नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पुस्तकालय निर्माणका लागि चाहिने जग्गा नगरपालिकाले उपलब्ध गराइसकेको र भवन बनाउन तथा पुस्तकालय संचालनका लागि चाहिने आर्थिक स्रोत जुटाउन लागिपरेको बताए ।

भुकम्पले ध्वस्त पारेको ललितपुरको बडिखेलमा सामुदायिक पुस्तकालय स्थापना भई सञ्चालनमा रहेको छ । तर भवनको अभावमा पुस्तकालयले आफ्ना कार्यक्रमहरु संचालन गर्न अप्ठ्यारो भएकाले रिड नेपालको समन्वय र प्राविधिक सहयोगमा २ करोड रुपैयाँको लागतमा पुस्तकालय भवन बन्न लागेको हो ।

काम सुरु भएको १० महिनामा सम्पन्न हुने पुस्तकालय भवनमा पुस्तकालय कक्ष, बालकक्ष, महिला कक्ष, सूचनासञ्चार तथा प्रविधि कक्ष, श्रव्यदृश्य कक्ष, विपद् जोखिम न्युनीकरण कक्ष र सभाहल हुनेछन । शान्ती भोलन्टियर एशोशियशनको सहयोगमा बन्न लागेका ४ वटा सामुदायिक पुस्तकालय मध्ये यो पहिलो पुस्तकालय हो ।

रिड नेपालले बितेका २८ वर्षमा ४२ वटा जिल्लाका ६८ स्थानमा पुस्तकालय बनाइसकेको छ । सामुदायिक पुस्तकालयको विशेषता भनेकै समुदायको विशेष सहयोगमा पारदर्शि हुने र तोकेको समयमा काम सम्पन्न गर्ने हो ।

सबैको सशक्त प्रयासले भवन निर्माण सम्पन्न गरी समयमा नै नयाँ भवनबाट पुस्तकालय सञ्चालन गर्न हामी सफल हुने रिड नेपालका अध्यक्ष भोला कुमार श्रेष्ठले बताए ।

स्थानीय समुदाय, नगरपालिकाका प्रमुख र वडा नम्बर ४ का अध्यक्ष समेतको उपस्थितिमा भएको कार्यक्रममा शान्ती भोलन्टियर एशोशियशन नेपालका राष्ट्रिय निर्देशक ताकाले रिड नेपालको पुस्तकालय मार्फत स्थानीय समुदायमा काम गर्ने मोडल निकै प्रभावकारी भएको उल्लेख गरे ।

ताकाले जसरी बालबालिकाको शारिरिक विकासका लागि पोषणको जरुरी हुन्छ त्यसरी नै मानव समुदायको विकासका लागि ज्ञानको आवश्यकता हुन्छ र यस्तो ज्ञान बाँड्ने उपयुक्त थलो भनेको सामुदायिक पुस्तकालय भएको बताए ।

ग्रामीण शिक्षा तथा विकास, रिड नेपालको सहयोगमा बनेका सबै पुस्तकालयमा न्यूनतम खर्च धान्नका लागि केही न केही आम्दानीको स्रोत पहिचान गरिएको हुन्छ । बडिखेलमा समेत पुस्तकालय भवनको अगाडि पट्टी ५ वटा सटर बनाउने र यसबाट आएको आम्दानीले पुस्तकालयको न्यूनतम खर्च चलाउने व्यवस्था गरिएको छ ।

नयाँ भवन बनेपछि बडिखेल सामुदायिक पुस्तकालयले समुदायको आर्थिक, सामाजिक तथा शैक्षिक विकासमा ठुलो सहयोग पुर्याउने सामुदायिक पुस्तकालयका अध्यक्ष वशिष्ठ अधिकारीको विश्वास छ ।

Share News