काठमाडौं । नेपाल र बंगलादेशबीच बंगलादेशको ढाकामा २० र २१ फागुनमा वाणिज्य वार्ता हुने भएको छ । दुई दिनसम्म चल्ने व्यापार वार्ताको लागि नेपाली टोली आज ढाका प्रस्थान गर्ने भएको छ ।
बैठकमा नेपाल र बंगलादेशबीच विभिन्न ९ ओटा मुद्धामा छलफल हुने छ । नेपालबाट निर्यात योग्य २० प्रकारका नेपाली वस्तुको निर्यात र बंगलादेशीबाट सोही परिमाणको वस्तुको आयातका विषयमा छलफल हुने छ ।
वार्तामा नेपालले अदुवा, चिया, हर्बलका प्रडक्ट, अम्रिसाेकाे कुच्चो, धागो, तरकारी र फलफुल जस्ता वस्तुको निर्यातको विषयमा छलफल हुने छ । छलफलका क्रममा उक्त वस्तुमा लगाइएको उच्च भन्सारदर घटाउन नेपाली पक्षले पहल गर्ने छ ।
नेपालबाट बंगलादेशतर्फ विभिन्न करिब ८० ओटा वस्तुको निर्यात सम्भावना छ । नेपालबाट डेरीका प्रडक्ट, तरकारी, धागो लगायतका वस्तु नेपालबाट बंगलादेश निर्यात सम्भावना छ ।
वार्तामा नेपालको साल्ट ट्रेडिङ र बंगलादेशको नेशनल ट्रेडिङबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर हुनेछ । यस्तै, दुई देशको क्वारेन्टाइनका विषयमा पनि समझदारी पत्रमा हस्ताक्षर हुने छ ।
सन् २००९ सम्म बंगलादेशसँगको व्यापारमा नेपाल नाफामा थियो । पछिल्लो समयमा नेपालको बंगलादेशसँग व्यापार घाटा छ ।
नेपालबाट निर्यात बढाएर व्यापार घाटालाई न्यूनीकरण गर्ने विषयमा वार्ता केन्द्रित हुने वाणिज्य सहसचिव नवराज ढकालले बताए ।
‘वार्तामा बंगलादेशको बंगलाबन्ध नाकाको स्तरोन्नतीमा पनि नेपालले जोड दिइने छ, दुई देशका नागरिकलाई एकअर्को देशमा भ्रमणमा जाँदा भिषा सहजै उपलब्ध गराउने विषयमा पनि छलफल हुन्छ,’ ढकालले भने ।