काठमाडौं । नाडा अटोमोबाइल्सले भिसिटिएस तथा करसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार आयोजित उक्त कार्यक्रम होटेल विग रोडसिस विराटनगरमा सम्पन्न भएको हो ।
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाको संस्थागत एशोसिएशन मोरङ्ग अटोमोवाइल्स डिलर्स एशोसिएशनसंगको संयुक्त पहलमा आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा भिसिटिएस तथा कर सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको नाडाले जानकारी दिएको छ ।
नाडाका अनुसार यस्तो किसिमको प्रशिक्षण कार्यक्रम नाडाले विगतमा पनि गर्दे आएकोे र यही २०७६ साल माघ ९ गते पनि यस्तो कार्यक्रम काठमाण्डौमा सम्पन्न गरेको थियो । यस्ता प्रशिक्षण कार्यक्रम ७ वटै प्रदेशमा सम्पन्न गरिने छ । मोरङ्ग अटोमोवाइल्स डिलर्स एशोसिएशनका अध्यक्ष सुभाष आचार्यको सभापतित्वमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा मोरङ्ग अटोमोवाइल्स डिलर्स एशोसिएशनमा आवद्ध विभिन्न फर्म कम्पनीहरुकोतर्फबाट कूल ४२ जना प्रशिक्षार्थिले सहभागिता जनाएका थिए ।
उक्त कार्यक्रममा राजश्व अनुसन्धान कार्यालय मोरङ्गका अधिकृत हितेस बस्नेत, आन्तरिक राजश्व कार्यालय मोरङ्गका अधिकृत पशुपति घिमिरे, जोगवनी भन्सार कार्यालयका भन्सार अधिकृत मणिराम पौडयाल, सि.ए तथा कार्यक्रमका प्रमुख प्रशिक्षक साहिल अग्रवालले प्रशिक्षण दिएका थिए ।
सरकारको प्रतिनिधित्व सहित यस किसिमको प्रशिक्षण कार्यक्रम आयोजना गरेको यो चौथौं भएको नाडाले जनाएको छ । खासगरी अटोमोवाइल व्यवसायीहरुले भोग्नु परिरहेका विविध समस्याहरुलाई दृष्टिगत गरी यस किसिमको प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त कार्यक्रमबाट धेरै हदसम्म अटोमोवाइल व्यवसायीहरु लाभान्वित भएको नाडाले जनाएको छ । उक्त कार्यक्रमको संयोजन तथा व्यवस्थापन नाडाका महासचिव सुनिल रिजालले गरेका थिए । त्यसैगरी सो कार्यक्रममा नाडाका पदाधिकारी र सदस्यहरु लगायत मोरङ्ग अटोमोवाइल्स डिलर्स एशोसिएशनका पदाधिकारी तथा सदस्यहरु समेतको उपस्थिति रहेको थियो ।