
यो एकदमै छिटो रक्तप्रवाहको माध्यमबाट स्वस्थ कोषहरुमा सर्दछ । यसले शरीरमा संक्रमणको साथै अन्य समस्याहरु निम्ताउने गर्दछ ।
बच्चालाई क्यान्सर हुन जति गाह्रो छ तर धेरै जसो बच्चा र किशोरकिशोरीलाई हुने ल्युकेमियाको सफलता पूर्वक उपचार गर्न सकिने विज्ञले बताएका छन् ।
किन हुन्छ ल्युकेमिया ?
के कारणले ब्लड क्यान्सर हुन्छ भन्ने यकिन नभएको बालबालिका क्यान्सर रोग विशेषज्ञ डा. सुधीर सापकोटा बताउँछन् ।
‘यही कारणले बालबालिकामा क्यान्सर हुन्छ भन्ने नदेखिए पनि केही यस्ता कारणहरु छन्, जसले ब्लड क्यान्सर हुने सम्भावन बढेर जान्छ । आमाले गर्भवती अवस्थामा धुम्रपान गर्नु, परिवारमा कसैलाई क्यान्सर हुनु यसका कारण हुन सक्छन्,’ डा. सापकोटाले भने ।
लक्षण
ब्लड क्यान्सरको प्रारम्भिक अवस्थामा पहिचान गर्न सके यसको सफल उपचार हुन्छ ।
सामान्य लक्षणहरु
–लामो समयसम्म ज्वरो आउनु
–अत्याधिक थकान तथा कमजोर महसुुस हुनु
–खोकी लाग्नु
–सास फेर्न गाह्रो हुनु
–सजिलै चोटपटक लाग्नु र रगत बग्न बन्द नहुनु
अन्य लक्षणहरु
–हाडजाेर्नी दुख्ने
–अनुहार, हात, पेट सुन्निने
–भोक नलाग्ने, ताैल घट्ने
–वान्ता हुने
विकसित देशमा निको हुने दर धेरै
कुनै पनि विकसित देशमा जन्मिएको बालबालिकामा क्यान्सर निको हुने दर ८० प्रतिशत छ । अफ्रिका जस्तो देशमा जन्मिएका बालबालिकाको निको हुने दर २० प्रतिशत हुने विभिन्न अध्यनले देखाएकाे डा. सापकोटा बताउँछन् ।
नेपालमा यसको यकिन तथ्यांक नभए पनि निको हुने सम्भावना करिब ४० प्रतिशत रहेको उनको भनाइ छ ।
नेपालमा बालबालिकाको क्यान्सरको अवस्था
सन् २०१८ मा विश्वभर थप ३ लाख बालबालिकामा क्यान्सर लागेकाे फेला पर्याे । याे तथ्यांक अनुसार प्रतिदिन ८ सयभन्दा बढी बालबालिकामा क्यान्सरका नयाँ केसहरु देखिन्छन् । नेपालमा १५ वर्षसम्मका बालबालिकाको संख्या कूल जनसंख्याको ३५ प्रतिशत छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय अध्ययनले देखाए अनुसार नेपालमा पनि प्रत्येक वर्ष १५ सयदेखि २ हजार बालबालिकामा क्यान्सर लागेको हुन सक्ने भएपनि जम्मा ३ सय ५० बालबालिकामा क्यान्सर भएको फेला परेको छ ।
प्राथमिक तहमा क्यान्सर भए नभएको परीक्षण हुनै नसकेका कारण नेपालमा क्यान्सर पीडितको संख्या कम भएको हुन सक्ने विज्ञले बताए ।यसैकारण क्यान्सर भएको यकिन तथ्यांक नआउने र क्यान्सर भए नभएको पत्ता लगाउने दक्ष जनशक्ति र उपकरणको अभाव रहेको डाक्टरहरुको भनाइ छ ।
बालबालिकामा सबैभन्दा बढी ब्लड क्यान्सर
सरकारी निकायसँग नेपालमा क्यान्सर पीडित बालबालिकाकाे यकिन तथ्यांक छैन । तर, ग्राण्डी अस्पतालको तथ्यांक अनुसार क्यान्सर भएकामध्ये ४५ प्रतिशत बालबालिकामा ब्लड क्यान्सर देखिएको छ, जुन अन्तराष्ट्रियस्तरको तथ्यांकसँग मिल्न जान्छ ।

यस्तै, १४ प्रतिशतमा आँखाको क्यान्सर (रेटिनोब्लास्ट), ११ प्रतिशतमा किड्नीको क्यान्सर (विल्मस ट्युमर), ९ प्रतिशतमा लिम्पलोमा क्यान्सर, ७ प्रतिशतमा न्युरोब्लास्टोमा, ४ प्रतिशत जेलसेल ट्युमर र बाँकी अन्य क्यान्सर रहेको छ ।
निको हुने दर ९० प्रतिशत
अन्तराष्ट्रिय तथ्यांक हेर्दा बालबालिकामा देखिने क्यान्सर समग्रमा निको हुने दर ८८ प्रतिशत छ । यसमा सबैभन्दा धेरै होडकिन लिमफोमाको ९७ प्रतिशत छ । यस्तै, ब्लड क्यान्सरको निको हुने दर ९०.६ प्रतिशत छ ।
नेपालको अवस्थामा हेर्ने हो भने टाईफाईड जस्तो रोगको पनि निको हुने दर ९० प्रतिशतभन्दा माथि जाँदैन, जबकि क्यान्सर जस्तो भयावह मानिने यो रोग बालबालिकामा भने सजिलै निको हुन सक्ने डा. सापकोटा बताउँछन् ।
बच्चाले केमोथेरापी धान्दैन भन्नु गलत
सानो उमेर भएकोले बालबालिकाको शरीरले केमोथेरापी धान्न सक्दैनन् भन्ने धेरैको बुझाई छ । तर, यो बुझाई गलत रहेको डा. सापकोटा बताउँछन् ।
ठुलो मानिसमा विभिन्न प्रकारको रोग हुने तर बालबालिकाहरुमा कुनै पनि प्रकारको रोग नभएको कारण उनीहरुले सजिलै केमोथेरापी लिन सक्ने र जसले उपचारको सम्भावना बढी हुने डा. सापकोटाले बताए ।
३ वटा मात्रै सरकारी अस्पताल
बालबालिकामा देखिने क्यान्सरको उपचार गर्न नेपालमा ३ वटा मात्रै सरकारी अस्पताल छन् । काठमाडौंको कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मात्र यसको उपचार हुन्छ ।
२ जना मात्रै विशेषज्ञ डाक्टर
नेपालमा हाल सरकारीस्तरमा दुईजना मात्रै तालिम प्राप्त बालबालिका क्यान्सर रोग विशेषज्ञ छन् । यसबाहेक थोरै संख्यामा केही प्राईभेट अस्पतालमा रहेका छन् । यस्तै तालिम प्राप्त नर्स एक जना पनि छैनन् ।