काठमाडौं । संसारभरी नै विद्यार्थीहरुलाई गुणस्तरीय एवं जीवन उपयोगी शिक्षा दिने लहर चलेको अवस्थामा पनि नेपालको शिक्षा प्रणालीमा खासै परिवर्तन हुन नसकेको सन्दर्भमा प्रयोगात्मक, व्यवहारिक र व्यवसायिक शिक्षा दिँदै विद्यार्थीहरुको सिर्जनशिलताको विकास गर्ने र विश्व बजारका लागि विकाउ एवं सक्षम नागरिक तयार गर्ने उद्देश्यले स्वस्तिश्री गुरुकुल सञ्चालनमा ल्याइएको छ ।
केवल किताबी ज्ञान र शिक्षक केन्द्रीत शिक्षणले बालवालिकाहरुको चौतर्फी विकास गर्न सक्दैन । बालमैत्री, व्यवहारिक एवं क्रियाशील शिक्षण पद्धती, प्रकृति र समुदायसँगको अन्तरक्रिया, गहन एवं अन्वेषक विश्लेषण, नियमित मूल्याङ्कनले मात्र प्रतिस्पर्धी विश्वबजारका लागि सक्षम नागरिक तयार गर्न सक्दछ ।
विद्यार्थीहरुले बन्द कोठा भित्रभन्दा बढी समय प्रयोगशालाहरु, खेलकुद मैदान, समुदाय र वातावरणसँग बिताउनेछन् । जहाँ सैद्धान्तिक सिकाईभन्दा बढी व्यवहारिक, प्रयोगात्मक र व्यवसायिक शिक्षा दिइने छ । नेपाल सरकारले निर्दिष्ट गरेको नियमित पाठ्यक्रम अन्तर्गत रहेर यस स्कुलले समय सुहाउँदो र विद्यार्थीहरुलाई जीवन उपयोगी शिक्षा प्रदान गर्न केही पाठ्यक्रम थप गरी अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएका सिकाई पद्धतिहरुलाई पनि अनुशरण गर्ने लक्ष्य रहेको छ ।
विद्यार्थीहरुको चौतर्फी विकासका लागि विज्ञान विषयका प्रयोगशालाको अलावा गणित, अंग्रेजी, नेपाली, सामाजिक शिक्षा लगायतका सबै कक्षा कोठाहरुलाई प्रयोगशाला कै रुपमा विकास गरिने छ । केवल कितावी ज्ञान भन्दा पनि पढेको कुरालाई जीवन उपयोगी बनाउन सकियो भने मात्र त्यसको दीगो अर्थ रहन सक्छ । त्यसैले चारवटा पर्खालहरु भित्रको कक्षा कोठामा दिइने पुरातन शिक्षा पद्धतिलाई परिवर्तन गरी सिकाइलाई प्रकृति र समुदायसँग अन्तरक्रिया गर्ने र घुलमिल हुने वातावरणको निर्माण गर्दै शिक्षालाई व्यवहारिक बनाइने छ ।
यसका साथै सबै कक्षा कोठाहरु स्मार्ट बोर्ड सहितको उच्च प्रविधियुक्त (स्मार्ट कक्षा), विद्यालय परिसरमा अत्याधुनिक इन्टरनेट सुविधा उपलब्घ हुनेछ । विद्यार्थीहरुलाई अत्याधुुनिक सेवा, सुविधा दिने उद्देश्यले खोलिएको यस स्कुलमा सबै कक्षाकोठाहरु वातानुकुलित (एयर कण्डिसन), फुटवल, बास्केटवल, टेवलटेनिस, ब्याडमेन्टिन, स्केटिङ्ग, कराँते लगायतका खेलकुदको लागि संरचना, जिम हल, अत्याधुनिक तातोपानी सहितको पौडि पोखरी (इन्डोर हिटेड सुइमिङ्ग पूल) लगायत अन्य विभिन्न सुविधाहरु उपलब्ध छन् । विद्यार्थीहरुलाई स्कुल आउन र घर जानको लागि वातानुकुलित आधुनिक बसको सुविधा दिइने छ ।
एउटा राम्रो विद्यालय सञ्चालन गर्न राम्रा र सक्षम शिक्षकहरुको पनि आवश्यकता पर्दछ । त्यसको लागि राष्ट्रिय सञ्चार माध्यममा आवश्यकताको विज्ञापन प्रकाशित गरेर सयौं आवेदकहरुको माझबाट अन्तरवार्ता, लिखित परीक्षा, कक्षा शिक्षण जस्ता चरणहरु पार गर्दै शिक्षक÷शिक्षिकाहरु छनौट भएका छन् र छानिएका शिक्षक÷शिक्षिकाहरुलाई छिट्टै तालिम सञ्चालन गरिने छ ।
गुणस्तरीय शिक्षाका लागि नियमित रुपमा शिक्षकहरुलाई प्रदान गरिने तालिम, चुस्त ब्यवस्थापन जस्ता कारणहरुले पनि प्रमुख भूमिका खेलेको हुन्छ । तालिम एक निरन्तर प्रक्रिया हो र यो वर्षैभरी चल्ने छ । स्वस्तिश्री गुरुकुलले आफ्ना शिक्षक, कर्मचारीहरुलाई तालिम दिन, शिक्षण कार्यमा सहकार्य गर्न, आफ्ना शिक्षक, कर्मचारीहरु तथा विद्यार्थीहरु विच भ्रमण आदान प्रदान गर्न संयुक्त राज्य अमेरिकाको वाटकिन्सन स्कुलसँग सहकार्य गर्ने गरी काम अगाडि बढाइएको छ र छिट्टै सम्झौता समेत हुँदैछ । यसैगरी यस स्कुलले गत बर्षदेखि नै बेलायतको फिल्डओर्क एजुकेशनसँगको सहकार्यमा ईन्टरनेशनल अर्ली इयर करिकुलम (आई.इ.वाई सी.) फ्रेमओर्क सञ्चालनमा ल्याएको छ ।
यस स्वस्तिश्री गुरुकुल दिने शिक्षा २१ औं शताब्दी सुहाउँदो हुने, जसले गर्दा स्वस्तिश्रीका विद्यार्थीहरु संसारका जुनसुकै ठाउँ र शिक्षण संस्थाहरुमा सजिलै घुलमिल हुन सक्नेछन् । विभिन्न कारणले बिचैमा पढाई छाड्ने विद्यार्थीहरुले पनि स्वस्तिश्रीमा सिकेको व्यवहारिक ज्ञान र जीवन उपयोगी शिक्षाका कारण सजिलै जीवन यापन गर्न सक्षम नागरिक तयार गर्ने लक्ष्य रहेको छ ।
अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षाको लागि भन्दै आफ्ना कलिला नानी बाबुहरुलाई विदेशमा पठाउने परम्पराको अन्त्य गर्न नेपालमै राम्रो विद्यालय खुल्नु पर्दछ भन्ने धेरै अभिभावकहरुको मागलाई पूरा गर्दै अभिभावकहरुकै सपनाको विद्यालयको रुपमा स्वस्तिश्री गुरुकुल बन्नेछ भन्ने प्रण यसले लिएको छ ।