काठमाडाैं । निकै बाक्लो जनघनत्व भएको ठहिटी क्षेत्रमा रहेको एक सार्वजनिक विद्यालय झण्डैझण्डै खारेजीमा पुग्न लागेको यथार्थ सायद कमलाई मात्र थाहा होला । काठमाडौँको केन्द्र, बाक्लो बसोबास, नजिकै अन्य कुनै सार्वजनिक विद्यालय नभएको स्थानमा रहेर पनि ठहिटीस्थित शान्ति शिक्षा विद्या मन्दिर बन्द हुने अवस्थामा थियो ।
शिक्षक थिए तर विद्यार्थी थिएनन् । पूर्वाधार थियो तर संरक्षण थिएन । विद्यालयको गुणस्तर अभिवृद्धिमा न स्थानीयको चासो थियो, न विद्यालय जोगाउनुपर्छ भन्ने नै । शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयको विद्यालयप्रति कुनै सदासयता थिएन । कतिपय स्थानीय आफ्ना बालबच्चा उक्त विद्यालयमा नपढ्ने भएकाले हेयको दृष्टिले हेर्दथे त कतिपयले अन्य प्रयोजनका लागि विद्यालयका संरचना प्रयोग कष्टसमेत गर्थे ।
राणाकालमा बनाइएको विद्यालयको पूर्वाधार अत्यन्त जीर्ण थियो । विद्यालयमा खासै विद्यार्थी थिएनन् । शिक्षक कार्यालय आउने हाजिर गर्ने घर जाने प्रवृत्ति मौलाएको थियो । विद्यालयलाई साच्चैको ‘विद्या मन्दिर’ बनाउनेभन्दा पनि आफ्नो अनुकूल प्रयोग गर्ने धेरै थिए । अनियमिता व्याप्त थियो । बाहिरबाट आएका व्यक्तिका सन्तति अध्ययन गर्ने भएकाले स्थानीयको चासो पनि थिएन ।
शिक्षक, कर्मचारीको जागिरे मानसिकता थियो । विद्यालय बनाउनुपर्छ, विद्यार्थी बढाउनुपर्छ भन्ने कोहीलाई थिएन । विद्यार्थी सङ्ख्या अन्यन्त न्यून भएपछि केही ‘अल्छी’ शिक्षकको जागिर खाने थलो बनेको थियो विद्यालय । पर्याप्त विद्यार्थी नभएपछि सरकार पनि सो विद्यालय खारेजी गर्ने कि त मर्जमा लैजाने विषयमा बहसमा थियो । विद्यालय खारेजी वा मर्जरभन्दा पनि विद्यालय बनाउने व्यक्तिको खोजीमा धेरैको ध्यान केन्द्रित थियो ।
उक्त विद्यालयलाई बनाउन तम्सिने कोही थिएन । लामो अनुभव हासिल गरेका शिक्षक पनि शान्ति शिक्षा भनेपछि ‘पछि’ हट्थे, आँट गर्ने कोही थिएन । युवा पुस्ताले नै सार्वजनिक विद्यालयको सुधार नगरे कसले गर्छ भन्ने मान्यताका साथ सुदामप्रसाद गौतमले सो विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाले । दिन रात नभनी विद्यालयको शैक्षिक गुणस्तर बढाउन उनी खटिए । दिन प्रतिदिन विद्यार्थी सङ्ख्या घट्दै गइरहेको, अत्यन्त कमजोर भौतिक पूर्वाधार, स्थानीयको उतिसाह्रो सहयोग नहुनु उनका लागि निकै ठूलो चुनौती थियो ।
प्रअको जिम्मेवारी सम्हाल्लेलगत्तै गौतमले ती सबै समस्याको समाधान खोज्न थाले । विद्यालयमाथि बढेको चुनौती समाधान गर्न तथा साधनस्रोतको खोजी गर्न अघि बढे । विशेषतः दिनभरी काम गर्ने, बिहान बेलुका छाक टार्ने अभिभावकका विद्यार्थीको उपस्थिति बाक्लो थियो । उनीहरु कहिले विद्यालय आउँदै नआउने त कहिले भोकै आउने, पढ्दापढ्दै निदाउने, पढ्नमा कहिल्यै पनि ध्यान नदिने र नतिजा पनि राम्रो नआउने अवस्था थियो । विद्यालयको शैक्षिक गुणस्तर बढाउनु त छँदै थियो । विद्यार्थी सङ्ख्या पनि बढाउनु उहाँका लागि चुनौतिको पर्खाल थियो ।
बर्षेनी घट्दो विद्यार्थी सङ्ख्यालाई रोक्न तथा भोकै आउने विद्यार्थीबाट ‘नतिजा’ खोज्न प्रअ गौतमले दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने तयारी गरे । सीमित स्रोतबाट कार्यक्रम सञ्चालन गर्ने कुनै उपाय थिएन् । अनि सुरु भयो दाताको खोजी । निःशुल्क दिवा खाजा कार्यक्रम सञ्चालन गर्न उनी आफैँले अवधारणापत्र तयार पारी नेपालका लागि इजरायली दूतावासमा पेश गरे । नेपालको आर्थिक तथा सामाजिक विकासमा सहयोग गर्दै आएको इजरायली दूतावास विद्यार्थीलाई निःशुल्क खाना खुवाउने कार्यमा सहयोग गर्न तयार देखियो ।
लगत्तै इजरायली दूतावासले केही सहयोग गर्यो । अनि दुई वर्षदेखि विद्यार्थीलाई निःशुल्क खाना खुवाउने कार्यक्रम शुरु गरियो । अहिले इजरायली दूतावास र ईश्वरलाल फाउण्डेशनले दिवा खाना कार्यक्रमका लागि सहयोग गरिरहेका छन् । दिवा खाना कार्यक्रमसँगै विद्यार्थीको उपस्थिति बाक्लो हुँदै गयो । पेटभर खाएपछि विद्यार्थीले पनि मन लगाएर पढ्न थाले । “अहिले विद्यार्थीको उपस्थिति पनि बढेको छ”, प्रअ गौतमले भने, “विद्यार्थी सङ्ख्यासँगै शैक्षिक गुणस्तर पनि निरन्तर सुध्रिदै गएको छ ।”
दुई वर्षअघि ७०/८० को विद्यार्थी सङ्ख्या अहिले बढेर ३ सय नाघेको छ । शैक्षिक गुणस्तर अभिवृद्धिका कार्यक्रम पनि निरन्तर अघि बढेका छन् । कक्षा ५ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन हुने थालेको छ । विद्यालय पोशाक निःशुल्क गरिएको छ । यसवर्षदेखि १० कक्षासम्मै अङ्ग्रेजी माध्यममा पढाउने तयारी भइरहेको छ । निरन्तर विद्यालयको सुधार देखेर विद्यार्थी पनि उत्साहित छन् । कक्षा ५ मा पढ्दै आएका मोहम्मद रजा अहिले विद्यालयको अवस्था निकै राम्रो भएको र पढ्न मन लाग्ने वातावरण बनेको बताउँछन् ।
विद्यालयमा पूर्वाधार विकासले तीव्र रुप लिएको प्रधानाध्यापक गौतम बताउँछन् । “पूराना संरचना भत्काएर नयाँ बनाउँदै छौँ”, उनले भने, “एसियाली विकास बैङ्कको सहयोगमा नयाँ भवन बन्दैछ । यस्तै नेपालस्थित अमेरिकी दूतावासको सहयोगमा सूचना प्रविधि ‘आइटी’ को व्यवस्था गर्दैछौँ ।” दूतावासद्वारा खाद्यान्न हस्तान्तरण यसैबीच, काठमाडौँस्थित इजरायली दूतावासले दिवा खाना कार्यक्रमका लागि विद्यालयलाई खाद्यान्न हस्तान्तरण गरेको छ ।
विद्यालयमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि इजरायली राजदूत बेनी ओमेरले खाद्यान्न हस्तान्तरण गरे । सो अवसरमा उनले नेपालको आर्थिक, सामाजिक तथा शैक्षिक विकासमा इजरायलले सहयोग गर्दै आएको बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष रवीन्द्रकुमार शाक्यले गुणस्तरीय शिक्षाका लागि इजरायली सहयोगको सरहाना गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्माले विद्यार्थी तथा अभिभावक निजी शिक्षातर्फ आकर्षित भइरहेको अवस्थामा शान्ति शिक्षाको शैक्षिक गुणस्तरले नयाँ आशाको सञ्चार गरेको बताए ।
उनले व्यवहारिक, व्यावसायिक तथा प्राविधिक शिक्षा दिन सुझाव दिए । काठमाडौँ महानगरपालिकाका शिक्षा शाखा प्रमुख मोतिराज खनालले दिवा खाना कार्यक्रमले विद्यालयको शैक्षिक गुणस्तरमा टेवा पुगेको उल्लेख गर्दै शान्ति शिक्षा नमूना विद्यालयका रुपमा विकास हुने विश्वास गर्नुभयो । कार्यक्रममा विद्यार्थीले नेपाली कला संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए । रासस