काठमाडौँ । प्रहरी जवान पदबाट २७ प्रहरी हवल्दार पदमा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको पत्र आदेशले बढुवा भएका सबै प्रहरी हवल्दारहरुलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले दर्ज्यानी चिन्हद्वारा शुशोभन गरेका छन् ।
उक्त अवसरमा ढकालले पदोन्नती भएका प्रहरी हवल्दारहरूलाई बधाई तथा शुभकामना दिँदै नेपाल प्रहरी सबैको भरोसाको केन्द्र भएकोले नेपाल सरकार तथा संगठनले लिएको लक्ष्य र प्राथमिकता कार्यान्वयन गर्न थप जिम्मेवार र लगनशील भई तोकेको दायित्व पूरा गर्न निर्देशन दिए ।
कर्मचारीहरुको क्षमता वृद्धिमा समेत संगठन सदैव क्रियाशिल रहेको बताउँदै व्यवसायिकता, कार्यप्रतिको निष्ठा र सामुहिक भावना सहित अघि बढेमा सफलता प्राप्त हुने विश्वास उनले व्यक्त गरे । उनले भने ‘विगतका नराम्रा बानी भए सबै छोडनुस्, नयाँ काम गर्न थप उर्जाका साथ तयार र एकजुट हुनुस्, जनताको मन जित्ने काम गर्नुहोस् ।’
त्यस्तै, सोही अवसरमा महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले कार्यक्षेत्रमा प्रदर्शन गरेको व्यावसायिक तथा कार्यदक्षता लगायत पेशागत जिम्मेवारी निर्वाहमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै पदोन्नति गरिएको चर्चा गरेका थिए ।
साथै, आगामी दिनहरुमा समेत उत्कृष्ट कार्यसम्पादनमा कृयाशिल र फौजी अनुशासनमा रहेर नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपत विपत उद्धार कार्यमा सामूहिक भावनाका साथ तल्लीन रहन निर्देशन दिएका छन् ।