नेपालको व्यापार घाटा घट्दा भारतको टाउको दुखाई, सोध्यो-‘के कारणले भारतमा निर्यात बढ्यो?’

<p>काठमाडौं । पछिल्लो समय नेपालको वैदेशिक व्यापार घाटा लगातार घट्दै गएको छ । नेपालबाट निर्यात हुने वस्तुको परिणाम बढेकाे र विदेशबाट आयात वस्तुको परिणाम घटिरहेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । नेपालको व्यापार घाटा पछिल्लो महिनाहरुमा निरन्तर घटेपछि भारतले नेपालबाट निर्यात हुने वस्तुको वृद्धि के कारणले बढेको हो भनेर नेपाललाई पत्र पठाएको छ । गत आर्थिक [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय नेपालको वैदेशिक व्यापार घाटा लगातार घट्दै गएको छ । नेपालबाट निर्यात हुने वस्तुको परिणाम बढेकाे र विदेशबाट आयात वस्तुको परिणाम घटिरहेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

नेपालको व्यापार घाटा पछिल्लो महिनाहरुमा निरन्तर घटेपछि भारतले नेपालबाट निर्यात हुने वस्तुको वृद्धि के कारणले बढेको हो भनेर नेपाललाई पत्र पठाएको छ । गत आर्थिक वर्ष २०७६/०७६ को पहिलाे पाँच महिनामा नेपालले ६ खर्ब ६ अर्ब रूपैयाँको आयात गरेकोमा चालु आवको पाँच महीनामा चार दशमलव २१ प्रतिशतले आयातमा गिरावट आएको छ । अर्थात ३६ अर्बले कम आयात भएको छ ।

नेपालमा उत्पादन नहुने र प्रशोधित मात्र हुने पाम आयलको अस्वाभाविक निर्यात बृद्धि भए पछि भारतले चासो देखाएको हो । नेपालमा उत्पादन नै नहुने आयातित पाम आयलको निकासीे गत वर्षदेखि  बढेको थियो ।

निकासीमा वृद्धिसँगै भारतले नेपाललाई पाम आयलमा कति प्रतिशत मूल्यवृद्धि भएको छ भनेर पत्र पठाएको हो । भारतले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र मार्फत प्रश्न गरेको हो । परराष्ट्र मन्त्रालयमार्फत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई भारतले प्रश्न सोधेको छ ।

‘आफ्नो देशमा उत्पादन नहुने पाम आयल आयात गरी प्रशोधनपछि भारत निर्यात हुँदा कति प्रतिशत मूल्यवृद्धि भएको छ ।’ छिमेकी देश भारतको प्रश्नपछि मन्त्रालयले आयातित पाम आयलमा भएको मूल्यवृद्धि निकाल्न एउटा समिति गठन गरेको थियो ।

समितिले पाम आयल प्रशोधन गरेर भारत निकासी गर्ने प्रशोधन उद्योगहरुको स्थलगत भ्रमण गरी मूल्य ठिक छ भनि प्रतिवेदन भारतलाई पठाएको छ । उद्योग मन्त्रालयका वाणिज्य उपसचिव नवराज ढकालले कच्चा पाम आयललाई प्रशोधन गरेपछि निकासी गर्दा ३० प्रतिशत मूल्यवृद्धि भएको बताए ।

‘नेपाली उद्योगहरुले प्रशोधन गर्दा साउथ एसियन फ्रि ट्रेड एरिया (साफ्टा) को नियमअनुसार नै गरेका छन’, हामीले नेपाल र भारतका प्रतिनिधिहरुलाई नै सहभागी गराएर प्रशोधन गर्ने उद्योगको अवलोकन गराएका छौँ , भारतका प्रतिनिधिहरुले पनि ठिक रहेछ भनेर जानकारी दिए ।’ उनले भने ।

उद्योग मन्त्रालयका वाणिज्य सचिव  बैकुण्ठ अर्यालले मन्त्रालयले गरेको अध्ययनबाट पाम आयल प्रशोधन गरेर निकासी गर्दा हुनुपर्ने आवश्यक मूल्यवृद्धि अनुसार नै भएको बताए ।

बाह्य मुलुकबाट आयात गरेर सार्क मुलुकमा निर्यात गर्दा २० प्रतिशत मात्रै मूल्यवृद्धि भए पुग्छ । विदेशबाट ल्याएर नेपालमा प्रशोधन गरि सार्क निकासीमा त्योभन्दा बढी मूल्यवृद्धि हुँदै आएको छ ।

यस्तो छ नेपालबाट भारतमा पाम आयलको निर्यात

भारतमा धेरै खपत हुने पाम आयल २ वर्ष पहिले खासै थिएन । तर, पछिल्लो २ वर्षमा पाम आयलको निर्यातमा ह्वातै वृद्धि आएको छ । गत आर्थिक वर्षको ५ महिनामा नेपालबाट ३७ अर्ब ५० करोड रुपैयाँको निर्यात भएको थियो । चालु आर्थिक  वर्षको ५ महिनामा ४७ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । चालु आवको ५ महिनामा १० अर्बले बढेर निर्यात भएको छ ।

निर्यात बढे यस वर्ष पाम आयलले नेपालको निर्यातको ठूलो हिस्सा ओगट्ने देखिन्छ । यस अवधिमा नेपालबाट निर्यात भएको सबै पाम आयल भारत गएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

यी देशबाट आयत हुन्छ नेपालमा पाम आयल

पाम आयल नेपालमा उत्पादन हुँदैन । इण्डोनेसिया, मलेसिया, पपुवा न्युगिनि, सिंगापुर र चीन लगाएतका देशबाट नेपालमा पाम आयल आयात हुन्छ ।
नेपालमा सबभन्दा बढी ९ अर्ब ६९ करोडको पाम आयल इण्डोनेसियाबाट आयात हुँदै आएको छ । मलेसियाबाट ५९ करोड, पपुवा न्यूगिनिबाट १४ करोड, सिंगापुरबाट ३ करोड र चीनबाट १ करोडको आयात भएको छ ।

विभिन्न देशबाट कच्चा र प्रशोधित दुवै पाम आयल नेपाल भित्रिएपनि ९० प्रतिशत हिस्सा कच्चा आयलले ओगट्छ । पाँच महिनमा १० अर्ब ४८ करोड रुपैयाँको पाम आयल आयात भएको छ । नेपालबाट निर्यात भएको पाम आयल भारतको बजारमा जम्मा १ प्रतिशत मात्रै बजार ओगटेको छ ।

Share News