
काठमाडौँ । मारुती सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटोकर्प प्रालिले मारुती सुजुकीको बिल्कुलै नयाँ उत्पादन एस-प्रेसोलाई नेपाली बजारमा चाँडै नै सार्वजनिक गर्ने भएको छ । यकिन मिति नतोकिए पनि सो कार मंसिर पहिलो हप्ता सम्ममा सार्वजनिक भइसक्ने कम्पनीले जनाएको छ ।
करिब एक महिना अघि भारतमा सार्वजनिक गरिएको यो मिनि एसयुभि स्ट्याण्डर्ड, एलएक्सआइ, भिएक्सआइ र भिएक्सआइ प्लस गरी ४ अलग भेरियन्टहरुका साथ नेपाली बजारमा उपलब्ध हुनेछ र यसको सुरुवाती मूल्य चाहिँ २२ लाख ९९ हजार रुपैयाँ तोकिने छ ।
एबिएस, ड्राइभर–साइड एयरब्याग, रियर पार्किङ्ग सेन्सर्स, सिट बेल्ट रिमाइन्डर्स, डिजिटल स्पिडोमिटर र स्पिड अलर्ट सिस्टम जस्ता फिचरहरु यस कारका सवै भेरियन्टमा दिइएको छ भने पेसेन्जर साइड एयरव्याग, म्यानुअल एयरकण्डिस्नर, भ्वाइस रेकोग्निशन सहितको ७.० इञ्च टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, स्टेयरिङ्ग माउण्टेड कन्ट्रोल्स, रियर पार्सल ट्रे र १२ भोल्टको सकेट जस्ता फिचरहरु चाहिँ एस–प्रेसोका अलि महँगा भेरियन्टहरुमा मात्र पाउन सकिन्छ ।
यस कारमा प्रयोग भएको इञ्जिन बिएस६–कम्प्लाएन्ट १.० लिटर पेट्रोल इञ्जिन हो जसले ६८ एचपीको पावर र ९० एनएमको टर्क प्रोड्युस गर्दछ । यस कारमा ५–स्पिड म्यानुअल ट्रान्समिशन दिइएको छ भने यस कारले २१.४ केएमपीएलको माइलेज दिन्छ । त्यसैगरी ५ सिटर यस मिनि एसयुभिको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडिको चक्कामा चाहिँ ड्रम ब्रेक दिइएको छ ।