
काठमाडाैं । विश्व विख्यात इटालियन टू व्हिलर कम्पनी‘अप्रिलिया’ ले केहि महिना अघि नेपालमा ‘स्टर्म १२५’ नामक स्कुटर सार्वजनिक गरेको थियो । नेपाली बजारमा दुई लाख २४ हजार नौ सय रुपैयाँ मूल्य पर्ने सो स्कुटर अप्रिलिया ब्राण्डकै सबैभन्दा सस्तो स्कुटर पनि हो । कम्पनीका अनुसार यो स्कुटर बजेट फ्रेण्ड्ली भएता पनि अप्रिलियाले प्रदान गर्ने क्वालिटीमा भने कुनैपनि किसिमको कम्प्रमाइज गरिएको छैन ।
‘अप्रिलिया एसआर १२५’ मा आधारित भएर बनाइएको यस स्कुटरकोस्टाइलिङ्ग र कलरहरु चाहिँ उक्त स्कुटर भन्दा फरक छन् ।‘स्टर्म १२५’म्याट रेड र म्याट एल्लो गरी दुई कलर अप्सनहरुमा उपलब्ध छ भने यसमा अप्रिलिया एसआर १२५को भन्दा फरक ग्राफिक्स दिइएको छ ।
स्टर्म १२५ मा १२ इञ्चको अलोए व्हिल्स् र डुअल पर्पोज नबि टायरहरु दिइएका छन् । यी नबि टायरहरु र १६० मिलिमिटरको ग्राउण्ड क्लियरेन्सको कारण यो स्कुटरको अफरोड पर्फमेन्स पनि राम्रो भएको छ ।
यस स्कुटरमा १२५ सीसी को कार्बुरेटेड इञ्जिन दिइएको छ जसले ९.५२ बीएचपीको पावर र ९.९ एनएमको टर्क प्रोड्युस गर्दछ । ट्युव्लर स्टिल फ्रेम दिइएको यस स्कुटरमा अगाडि तर्फ टेलिस्कपिक फोर्क जडान गरिएको छ भने पछाडि तर्फ चाहिँ मोनोशक समावेश गरिएको छ । त्यसैगरी अप्रिलिया स्टर्म १२५का दुवै चक्काहरुमा ड्रम ब्रेक दिइएका छन् ।