काठमाडौं । नेपालका लागि बेनेली मोटरसाइकल्सको आधिकारिक बिक्रेता केटिएम इन्टरनेशनल ट्रेडिङ्ग प्रालिले केही महिना अघि ‘टिएनटि १५० आई’ लाई नेपालमा सार्वजनिक गरेको थियो । नेपाली बजारमा तीन लाख १५ हजार रुपैयाँ मूल्य तोकिएको सो मोटरसाइकल १५० सीसीको एउटा बहुप्रतिक्षित नेकेड मोटरसाइकल हो ।
बेनेली टिएनटि १५० आई एउटा मोडर्न फिचरहरु भएको प्रिमियम लुकिङ्ग मोटरसाइकल हो जसको डिजाइन टिएनटि ३०० आई सँग मिल्दोजुल्दो रहेको छ । यस बाइकमा दिइएको रातो रङ्गको फ्रेमले बाइकलाई आकर्षक बनाएको छ । टिएनटि १५० आईमा फुल-डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, हेलोजेन हेडलाइट, एलइडि ब्याकलाइट, एलइडि साइड इन्डिकेटर्स, एलइडि डिआरएलहरु लगायतका फिचर्स दिइएका छन् ।
यस बाइकमा प्रयोग भएको इञ्जिन १४९.५ सीसी सिङ्गल-सिलिण्डर, लिक्विड-कुल्ड, ४-स्ट्रोक, ४-भल्व एफआई इञ्जिन हो । कम्पनीका अनुसार यो इञ्जिनले ९.५ किलोवाटको पावर र ९.५ एनएमकै टर्क प्रोड्युस गर्छ । त्यसैगरी यस बाइकमा ५-स्पिड गियरबक्स र वेट क्लच पनि दिइएको छ ।
१३.५ लिटरको फ्युल ट्याङ्क क्यापासिटि रहेको यस बाइकले दिने माइलेज ५० केएमपीएलको हाराहारी रहेको छ । फ्रन्टमा अपसाइड-डाउन फर्क र रियरमा मोनोशक दिइएको टिएनटि १५० आई को अगाडिको चक्कामा डुअल पिस्टन क्यालिपर डिस्क ब्रेक र पछाडिको चक्कामा भने सिङ्गल पिस्टन क्यालिपर डिस्क ब्रेक दिइएको छ । त्यसैगरी १४४ के.जी. कर्ब वेट भएको यस बाइकको ग्राउण्ड क्लियरेन्स चाहिँ १९० मिलिमिटर छ ।
कम्पनीले जनाए अनुसार अहिलेको चाडपर्वलाई लक्षित योजना अनुसार बेनेली टिएनटि १५० आई को खरिदमा दुई अलग स्क्र्याच कार्ड मार्फत प्रत्येक स्क्र्याचमा कम्तीमा सात हजार रुपैयाँ देखि लिएर एक लाख रुपैयाँ सम्मको नगद छुट प्राप्त गर्न सकिनेछ ।