बेवारिसे शव व्यवस्थापन गर्ने विनयलाई १५ सय डलर सहयोग

<p>काठमाडौं । विनयजंग बस्नेतले कुनै समय अत्यन्त खराब जीवन बाँचे । उनी आफैंलाई आफ्नो जीवन देखेर विरक्त लाग्थ्यो । ६ वर्षअघि उनले महसुस गरे, उनी जे गरिरहेका छन्, त्यो ठीक भइरहेको छैन । त्यसपछि उनी जीवन बदल्ने सोचमा लागे । दुव्र्यसनबाट बाहिर निस्किए । अनि समाजसेवामा लागे । अहिले उनी आर्यघाटमा वा काठमाडौं तथा बाहिर [&hellip;]</p>


काठमाडौं । विनयजंग बस्नेतले कुनै समय अत्यन्त खराब जीवन बाँचे । उनी आफैंलाई आफ्नो जीवन देखेर विरक्त लाग्थ्यो । ६ वर्षअघि उनले महसुस गरे, उनी जे गरिरहेका छन्, त्यो ठीक भइरहेको छैन ।

त्यसपछि उनी जीवन बदल्ने सोचमा लागे । दुव्र्यसनबाट बाहिर निस्किए । अनि समाजसेवामा लागे । अहिले उनी आर्यघाटमा वा काठमाडौं तथा बाहिर पनि बेवारिसे रुपमा फालिएका शवहरुको व्यवस्थापन गर्न लागिपरेका छन् ।

‘बाँचुन्जेल त मानिसले समान रुपमा बाँच्न पाएका छैनन्,’ मंगलबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा बस्नेतले भने, ‘मृत्युपछि शवमाथि पनि अहिले अन्याय गरिन्छ, त्यसलाई रोक्नु आजको आवश्यकता हो ।’

तिनै विनयलाई उनको काममा सहयोग होस् भनेर अष्ट्रेलियाको शिक्षण संस्था बक्स हिलका म्यानेजर तथा अन्तर्राष्ट्रिय भाइस प्रिन्सिपल जोन क्यूले सहयोग गरे । उनले विनयको काम राम्रो भएको भन्दै आफू र कलेजको तर्फबाट विनयलाई १५ सय अष्ट्रेलियन डलर दिएका हुन् ।

‘उहाँले गरेको काम साँच्चिकै मानवीय भावले ओतप्रोत छ,’ जोनले कार्यक्रममा भने, ‘यसलाई सहयोग गर्दा मेरो मन पनि प्रफुल्ल भएको छ ।’

यो कार्यक्रम अष्ट्रेलियाका शिक्षण संस्थाहरुमा जाने नेपाली विद्यार्थीलाई समायोजन गरिरहेको शैक्षिक परामर्श कम्पनीहरुको संस्था नायरले समायोजन गरेको थियो । कार्यक्रममा नायरका महासचिव उद्धव खड्काले भने, ‘विनयजीको काम साँच्चिकै सम्मानयोग्य छ, उहाँलाई यो सहयोग गर्ने अवसर जुटाउन पाएकोमा हामी खुसी छौँ ।’

त्यस्तै, नायरका अध्यक्ष विज्ञान श्रेष्ठले पनि यो कार्यक्रम गर्न पाउँदा नायरलाई खुसी लागेको बताए । ‘अष्ट्रेलियामा हामी विद्यार्थी पठाइरहेका छौँ,’ उनले भने, ‘त्यहाँका शिक्षण संस्थाहरुले नेपाली समाजप्रति देखाएको यो सदाशयता निकै प्रशंसनीय छ ।’ यो कार्यक्रम हब प्रोफेसनल सर्भिसेसको सहयोगमा सम्पन्न भएको थियो ।

Share News