काठमाडौं। फर्निचर तथा फर्निसिङ एक्स्पोको सातौं संस्करण यही भदौ २५ गतेदेखि सुरु हुने भएको छ। नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा हुन लागेको एक्स्पो भृकुटीमण्डपमा हुन भएको हो।
बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष रुपेश प्रधानले एक्स्पोको सबै तयारी पुरा भईसकेको जानकारी दिएका छन्। बढ्दो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको ईन्टेरियर डिजाइनका लागि एक्स्पो उचित हुने बताईएको छ।
किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री प्रदर्शनीमा राखिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसैगरी, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकले जनाएको छ।
मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने संघका अध्यक्ष रुपेश प्रधानले बताए । प्रदर्शनीमा फर्निचरको प्रदर्शनीमात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमापनि अवलोकनकर्तालाई जानकारी गराउने मेलाका संयोजक मनिष अग्रवालले बताए ।
एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गर्नेे जनाइएको छ । इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले फरक शैलीमा एक्स्पोको सातौं संस्करण आयोजना हुन लागेको बताए । एक्स्पोमा स्वदेशी तथा विदेशी गरी डेढ सय फर्निचर र फर्निसिङजन्य सामाग्रीका स्टल रहने आयोजकले जनाएको छ ।
५ दिन सम्म चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सयको हाराहारीमा फर्निचर र फर्निसिङजन्य सामाग्रीका स्टल रहनेछन्। नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रभार्दन गर्ने उदेश्यले सन् २०१२ देखी नियमित रुपमा एक्स्पोको आयोजना हुँदै आएको छ।
नेपालमा बर्षेनी फर्निचर तथा फर्निसिङका उत्पादनहरुको ४० अर्ब रुपैंया बराबरको कारोबार हुने गरेको आँकलन छ।