वार्षिक साढे छ अर्बको काठ आयात गर्छ नेपाल, बढी भारतबाट

<p>काठमाडौं । झट्ट सुन्दा पत्यार नलाग्न सक्छ मुलुकको कूल भू–भागको झण्डै ४५ प्रतिशत वन क्षेत्रले ओगटेको नेपालले वार्षिक रु साढे अर्बभन्दा बढीको काठ तथा काठजन्य सामग्री आयात गर्छ । तर यो कुरा साँचो हो, आर्थिक वर्ष २०७५/७६ मा विभिन्न मुलुकबाट रु छ अर्ब ६० करोड ६१ लाख ३९ हजारको काठ तथा काठजन्य सामग्री आयात भएको [&hellip;]</p>

काठमाडौं । झट्ट सुन्दा पत्यार नलाग्न सक्छ मुलुकको कूल भू–भागको झण्डै ४५ प्रतिशत वन क्षेत्रले ओगटेको नेपालले वार्षिक रु साढे अर्बभन्दा बढीको काठ तथा काठजन्य सामग्री आयात गर्छ । तर यो कुरा साँचो हो, आर्थिक वर्ष २०७५/७६ मा विभिन्न मुलुकबाट रु छ अर्ब ६० करोड ६१ लाख ३९ हजारको काठ तथा काठजन्य सामग्री आयात भएको छ ।

भन्सार विभागका अनुसार गत आवमा भारत, इन्डोनेसिया, चीन, म्यान्मा, मलेसिया, सिङ्गापुर, जर्मनी, युक्रेन, संयुक्त राज्य अमेरिका, संयुक्त अरब इमिरेट्सलगायत मुलुकबाट सो रकम बराबरका काठका गोलिया, चिरान, प्लाई, बोर्ड, झ्यालढोकामा प्रयोग हुने फ्रेम, टेबल, सजावटका सामग्री तथा अन्य काठजन्य सामान आयात भएका हुन् ।

कूल काठ आयातको ५४ प्रतिशत भारतबाट, १७ प्रतिशत इन्डोनेसिया, १३ प्रतिशत चीन, सात प्रतिशत म्यान्मा र तीन प्रतिशत मलेशियाबाट भएको तथ्याङ्क छ । बाँकी अन्य मुलुकबाट आयात भएको हो । सबैभन्दा बढी प्लाई प्रकारका काठजन्य करीब रु दुई अर्ब, चिरान एक अर्ब २७ करोड, फ्रेम तथा सोही प्रकारका अन्य सामग्री रु ७७ करोड, बोर्ड ५० करोड बराबरका आयात भएको तथ्याङ्क छ ।

बर्षेनी काठ आयात बढ्दै

यसबाहेक काठको कोइला, काठको धुलो, सलाईदेखि दाँत कोट्याउने टुथपिकसम्मका काठजन्य सामान पनि आयात हुने गरेको विभागका निर्देशक एवं सूचना अधिकारी शिशिर घिमिरेले जानकारी दिएका छन् । विभागका अनुसार आव २०७४/७५ मा रु पाँच अर्ब ७५ करोडको काठ तथा काठजन्य सामग्री आयात भएको थियो । त्यस्तै आव २०७१/७२ मा दुई अर्ब १३ करोड रूपैयाँ बराबरको काठ आयात भएको देखिन्छ ।

नेपालबाट काठको निर्यात भने नगण्य मात्रामा छ । गत आवमा रु पाँच करोड ५६ लाख बराबरका प्लाई तथा काष्ठकलाका विविध सामग्री भारत, चीन, अमेरिका, बेल्जियम, नेदरल्यान्डलगायत मुलुकमा निर्यात भएको देखिन्छ ।

वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कअनुसार आव २०७४/७५ मा मुलुकभित्र सरकारी, सामुदायिक र निजी वन क्षेत्रबाट गरी कूल एक करोड ७५ लाख ५२ हजार घनफिट काठ उत्पादन भएको थियो । काठको माग भने मुलुकभर वार्षिक तीन करोड घनफिटको हाराहारी छ । रासस

Share News