रुख कटानीकाे आरोपमा अध्यक्ष सहित तीन पक्राउ

<p>काठमाडौं । अवैधरूपमा सालका रुख कटानीमा संलग्न रहेको आरोपमा पक्राउ परेका कञ्चनपुरको लालझाडी गाउँपालिका–५ स्थित अपि सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीलाई अनुसन्धानका लागि थुनामा राखिएको छ । पक्राउ परेका सामुदायिक वनका अध्यक्ष मदन नाथ, कार्यालय सचिव धर्मानन्द भट्ट र काठ ढुवानी (ओसारपसार)मा संलग्न रामकृष्ण चौधरीलाई डिभिजन वन कार्यालयको सशस्त्र वन सुरक्षा शाखाको हिरासतमा राखी बयान [&hellip;]</p>

काठमाडौं । अवैधरूपमा सालका रुख कटानीमा संलग्न रहेको आरोपमा पक्राउ परेका कञ्चनपुरको लालझाडी गाउँपालिका–५ स्थित अपि सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीलाई अनुसन्धानका लागि थुनामा राखिएको छ ।

पक्राउ परेका सामुदायिक वनका अध्यक्ष मदन नाथ, कार्यालय सचिव धर्मानन्द भट्ट र काठ ढुवानी (ओसारपसार)मा संलग्न रामकृष्ण चौधरीलाई डिभिजन वन कार्यालयको सशस्त्र वन सुरक्षा शाखाको हिरासतमा राखी बयान लिने कार्य शुरु गरिएको हो ।

पक्राउ परेका तीन र अन्य केही व्यक्तिको संलग्नतामा सामुदायिक वनमा अवैधरूपमा रुख कटानी भएको खुल्न आएको डिभिजन वन कार्यालयका अनुसन्धान अधिकृत निरञ्जन कँडेलले बताएका छन् । “पक्राउ परेका रामकृष्ण चौधरीसँग बयान लिने कार्य पूरा भएको छ”, उनले भने, “अन्यसँग सामान्य सोधपुछ गरिएको छ, केही अन्य व्यक्तिसमेत काठ कटानीमा संलग्न भएको पाइएकाले खोजी कार्य शुरु गरेका छौँ ।”

बयानका क्रममा जेठ २७ गतेदेखि सामुदायिक वनमा स्वीकृति नलिई अवैध रूपमा सालका रुख कटानी गर्दै आएको पक्राउ परेकाहरुले बताएको अधिकृत कँडेलले बर्ताउँछन् । पक्राउ परेकाहरुको संलग्नतामा काटिएका २६ गोलिया (२३६ दशमलव ३६ घनफिट) काठ बरामद गरी सवडिभिजन कार्यालयमा घाटगद्दी गरी राखिएको छ ।

अदालतबाट सात दिनको म्याद थप गरी डिभिजन वन कार्यालयले पक्राउ परेका तीनै जनामाथि अनुसन्धान थालेको छ । स्थानीयवासी उपभोक्ताको सहयोगमा अवैधरूपमा काठ कटानीमा संलग्न तीनै जनालाई असार ९ गते पक्राउ गरिएको थियो ।

अवैधरूपमा काठ कटानीमा संलग्न अन्यका लागि पक्राउ पूर्जी जारी गरिएको छ । पक्राउ परेका तीनै जनाको बयान लिने कार्य सकिएपछि सरकारी वकिलको राय लिएर अदालतमा पेश गरिने अनुसन्धान अधिकृत कँडेलले बताए । वन ऐनअनुसार अवैध रूपमा रुख कटानी गरी हानी नोक्सानी गर्नेलाई बिगोको दोब्बर जरिवाना वा एक वर्ष कैद हुने व्यवस्था रहेको छ । रासस

Share News