१०१ भन्दा बढी सदस्य भएका १५० यातायात समिति कम्पनीमा दर्ता, ‘हट्यो सिण्डिकेट’

<p>काठमाडौँ । शक्तिशाली भनिएका र यातायात क्षेत्रमा सिन्डिकेट चलाइरहेका यातायात समितिहरू कम्पनीमा रूपान्तरण भएका छन् । सरकारले कानुन संशोधन गरेर १८ जेठभित्र कम्पनीमा रूपान्तरण हुने म्याद तोकेको थियो । तोकिएको समयावधिभित्रै १ सय १ भन्दा बढी सदस्य भएका देशभरका सबै यातायात समितिले कम्पनीमा दर्ताका लागि विवरण बुझाएको कम्पनी रजिस्ट्रारको कार्यालयका प्रमुख रजिस्ट्रार भुवनहरि अर्यालले जानकारी दिए । ‘शनिबार [&hellip;]</p>

काठमाडौँ । शक्तिशाली भनिएका र यातायात क्षेत्रमा सिन्डिकेट चलाइरहेका यातायात समितिहरू कम्पनीमा रूपान्तरण भएका छन् । सरकारले कानुन संशोधन गरेर १८ जेठभित्र कम्पनीमा रूपान्तरण हुने म्याद तोकेको थियो ।

तोकिएको समयावधिभित्रै १ सय १ भन्दा बढी सदस्य भएका देशभरका सबै यातायात समितिले कम्पनीमा दर्ताका लागि विवरण बुझाएको कम्पनी रजिस्ट्रारको कार्यालयका प्रमुख रजिस्ट्रार भुवनहरि अर्यालले जानकारी दिए । ‘शनिबार मध्य–रातिसम्म दर्ताका लागि अनलाइन तथा उपस्थित भएर विवरण बुझाएका समितिलाई अध्ययन गरेर दर्ता गर्ने काम भइरहेको छ,’ उनले भने, ‘यो काम आइतबार मध्य–रातिसम्ममा सम्पन्न हुन्छ ।’

१८ जेठमा सार्वजनिक बिदा (शनिबार) भएकाले काम आइतबार गरिएको हो । आइतबार बेलुकासम्ममा १ सय १ भन्दा बढी सदस्य भएका १ सय ५० वटा समितिलाई कम्पनीमा दर्ता गरिएको छ । दर्ताका लागि कागजपत्र बुझाएकाहरू थप भएकाले संख्या केही थपिनेछन् । तर, १ सय १ वा त्योभन्दा कम सदस्य संख्या रहेका समितिलाई भने कानुनी बन्देज नभएकाले अझै दर्ता हुन पाउनेछन् ।

यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफूअन्तर्गतका सबै यातायात समिति र व्यवसायीलाई ५ दिनभित्र कम्पनीमा दर्ता हुन ५ जेठमा सूचना जारी गरेको थियो । महासंघले कम्पनी दर्ता ऐन २०६३ को दफा ९ को उपदफा १ अनुसार कम्पनीमा दर्ता गर्न सूचित गरेको थियो । आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

Share News