
काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले बैशाख २०, २१ र २२ गते लुगा धुने साबुन तथा सर्फ बनाउने तालिम सञ्चालन गरेको छ ।
संस्थाले शाखा कार्यालय बौनिया कैलालीमा आबद्ध सदस्यहरु मध्ये ६२ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा तालिम प्रदान गरेको हो । तालिम कार्यक्रमलाई उद्घाटन गर्दै बर्दगोरीया गा.पा. वडा नं. १ का अध्यक्ष जयरुप खतिवडाले यस्तो किसिमको कार्यक्रमले महिलाहरु लाई उद्यमशिल बन्न थप सहयोग पुग्ने कुरा ब्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा शाखा प्रमुख अम्मरबहादुर ओलीले यस कार्यक्रम पश्चात सदस्यहरुको ब्यवसायमा बृद्धी भई यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा लुगा धुने साबुन तथा सर्फ बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै ६३४ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरतातर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।