
काठमाडौं। निर्माण सामाग्रीमा हरित क्रान्ति भन्ने नाराका साथ उत्पादित गोर्खा इको प्यानलको प्रयोगबाट काठमाडौंको भंगालमा अन्तराष्ट्रिय पुस्तकालय निर्माण गरिएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं ८ भंगालमा अन्तराष्ट्रिय मैत्री पुस्तकालय निर्माण गरिएको हो । पुस्तकालयको बुधबार शताव्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले उद्घाटन गरे ।
गोर्खा इको प्यानल भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा इटाको विकल्पमा प्रयोग हुने निर्माण सामाग्री हो ।पुस्तकालय निर्माणमा गोर्खा इको प्यानलको प्यानलका साथै गोर्खा इको प्यानलको भगिनी कारखाना गोर्खा प्रिकाष्ट एण्ड विण्डोरका झ्यालढोका पनि प्रयोग गरिएका छन् । पुस्तकालय आरसीसी ढलानको दुईतल्ले छ । पुस्तकालय तीन सय २० स्क्वायर फिट (झण्डै एक आना)को क्षेत्रफलमा रहेको छ ।
परराष्टविद् हिरण्यलाल श्रेष्ठले पुस्तकालय स्थापना गरिदिएका हुन् । व्यक्तिगत पुस्तकालयलाई थप परिष्कृत गरी उनले सवै जनताले प्रयोग गर्न सक्ने औपचारिक रुपमै कार्यक्रम गरी सार्वजनिक गरिदिएका हुन् ।
कार्यक्रममा पूर्व राजदूतसमेत रहेका उनले सवैले सार्वजनिक जग्गा व्यक्तिको बनाइरहेको खबर आइरहेको बेला आफूले व्यक्तिगत पुस्तकालयलाई सार्वजनिक गरेको भन्दै गर्व प्रकट गरे । प्रमुख संस्कृतिविद् जोशीले अन्तराष्ट्रिय पुस्तकालयले नेपालको कुटनीतिलाई सवल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।