काठमाडौं । सरकारले रेल सञ्चालनसम्बन्धी कानुन निर्माण नगरी खरिद प्रक्रिया अघि बढाएको छ। जनकपुर-जयनगर रेल सञ्चालन गर्न सरकारले बजेटसहित रेल खरिद प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। तर रेल सञ्चालनसम्बन्धी कानुन भने छैन। सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल किन्ने निर्णय गरिसकेको छ।
रेल खरिद सम्झौता गर्न रेल विभागले एक साताअघि भारतीय कम्पनीलाई पत्राचार गरिसकेको छ। विभागका महानिर्देशक बलराम मिश्रा सम्झौता भएको तीन महिनाभित्र रेल सञ्चालन हुने दाबी गर्छन् । जनकपुर–जयनगर रेल रेल्वे कम्पनीमार्फत सञ्चालन गरिनेछ। तर, रेल सञ्चालन गर्ने रेल्वे कम्पनीसम्बन्धी कानुन छैन ।
मिश्राका अनुसार रेल्वे कम्पनीको संगठन संरचना र कर्मचारी विनियमवलीको मस्यौदा तयार भइसकेकाले रेल सञ्चालनमा कुनै समस्या नहुने बताउँछन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।