
काठमाडौँ । अन्नपूर्ण दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष हुन् भगिरथ तिमल्सेना । २०४३ सालदेखि उनी सो संस्थामा आवद्ध भए र ०४६ सालदेखि संचालक समितिको सदस्य काम गरे । उनले संस्थाका नेतृत्व लिएर काम गरेको १२ वर्ष भएको छ ।
भरतपुर नगरपालिकाको वडा नं ६ मा सञ्चालित सो सहकारीले दैनिक २५ हजार लिटर दूध संकलन गर्दै आएको छ । स्थानीय क्षेत्रमा दूध उत्पादन धेरै उत्पादन भएकाले चितवन जिल्लामा दुग्धजन्य पद्धार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्ने योजना रहेको अध्यक्ष तिमल्सेनाले विकासन्यूजलाई बताए । सो सहकारीले नेपाली युवाहरुलाई वैदेशिक रोजगारमा जानबाट निरुत्साहित गर्दै स्वदेश मै उद्यम गर्नु पर्नेमा उत्साहित बनाउने काम गरेको उनले बताए ।
चितवन गीतानगरमा उनले अन्नपूर्ण गाई श्रोत केन्द्र सञ्चालन गरेका छन् । २०६८ सालदेखि उनी यो उद्यममा संलग्न रहेको बताउँछन् । सो केन्द्रबाट नेपालका ४२ जिल्लामा २ हजार गाई र बाछी उत्पादन गरी बिक्री गरिसकेको उनले बताए । सेलेक्टेड गाईहरुलाई कृतिम गर्भाधान(एआई) गरेर बाच्छी उत्पादन गर्ने र स्थानीय कृषकहरुलाई बिक्री वितरण गर्ने गरेको उनले बताए ।
शुरुमा पन्जाबबाट उन्नत खालको जर्सी गाई र होलस्टेनको गाई ल्याएर स्थानीय गाईहरुमा क्रसविट गराई नेपालमा नै पहिलो पटक यस प्रक्रियाद्वारा गाई उत्पादन गरेको उनले बताए । राज्यले ठाउँठाउँमा गाई श्रोतकेन्द्र खोलेर किसानलाई उद्यम गर्न उत्साहित पार्नु पर्ने उनको धारणा रहेको छ ।
राज्यबाट पर्याप्त सहयोग छैन
सामान्य किसानहरुलाई राज्यले जुन प्राथामिकता दिनु पर्ने हो, त्यो दिइरहेको छैन । कृषि र पशुपालन पेसामा आवद्ध मानिसलाई विपन्न तथा अशिक्षित उपमा दिने गरेको हुँदा यो दृष्टिकोण बदल्न राज्यबाट समेत पहल हुनु पर्ने अध्यक्ष तिमल्सेनाको भनाई छ । उनले भने-‘जबसम्म कृषि र पशुपालनलाई सरकारले मान्यता दिंदैन, तब युवा जनशक्ति यो पेशाप्रति आकर्षित हुँदैन । लाई यस पेशा प्रति सकारात्मक उर्जा आउँदैन ।
चीनबाट गाई ल्याउनु जरुरी छैन
अध्यक्ष तिमल्सेनाका अनुसार अन्य राष्टबाट नयाँ उपकरण भित्राउनु राम्रो हो, चीनबाट गाई ल्याउने प्रदेश सरकारको निर्णय राम्रो होइन । स्वदेश मै उत्पादन भएका दूधालु गाईलाई व्यवसायीकरण गर्नु पर्छ । उनी भन्छन्–‘सरकारले हाल चीनबाट ३२ अर्बको गाई ल्याउने सम्झौता गरेको छ, यसप्रति हाम्रो संस्थाको विरोध रहेको छ ।’ चीनबाट गाई भित्र्याउने सरकारको निर्णयप्रति किसानहरु आन्दोलित हुने उनले बताए ।