भूकम्प प्रतिकार्यको एकिकृत सहयोग ढाँचा प्रभावकारीः विज्ञहरु

<p>काठमाडौँ । विसं २०७२ भूकम्पको प्रतिकार्य गतिविधिबाट सिकिएका पाठहरुको निचोड निकाल्न रेडक्रस अभियानले आयोजना गरेको ३ दिने कार्यशाला सम्पन्न भएको छ । कार्यशालाले नेपालको भूकम्प पश्चात अवलम्बन गरिएको एउटै रेडक्रस अभियान, एउटै खालको योजना अन्तरर्गत एकिकृत सहयोग ढाँचा सफल र उपयोगी भएको निश्कर्ष निकालेको छ । छलफलले रेडक्रसको संस्थागत क्षमता र कानुनी आधारमा थप सुदृढीकरण [&hellip;]</p>

काठमाडौँ । विसं २०७२ भूकम्पको प्रतिकार्य गतिविधिबाट सिकिएका पाठहरुको निचोड निकाल्न रेडक्रस अभियानले आयोजना गरेको ३ दिने कार्यशाला सम्पन्न भएको छ । कार्यशालाले नेपालको भूकम्प पश्चात अवलम्बन गरिएको एउटै रेडक्रस अभियान, एउटै खालको योजना अन्तरर्गत एकिकृत सहयोग ढाँचा सफल र उपयोगी भएको निश्कर्ष निकालेको छ ।

छलफलले रेडक्रसको संस्थागत क्षमता र कानुनी आधारमा थप सुदृढीकरण गर्नुपर्ने, सामुदायिक सहभागिता र जवाफदेहिता, लैंगिक समानता, सञ्चार, अनुगमन मुल्याँकन जस्ता विषयहरुलाई एकाकार गरी उद्यार र प्रतिकार्यसम्बन्धी निर्देशिकाहरु मुलुकको संघीय संरचना अनुकुल ढाल्नुपर्ने,, प्रतिकार्यको लागि स्पष्ट कार्यविधि सहितको एक स्थायी संरचना निर्माण हुनुपर्ने र सहयोग सम्बन्धि सिद्धान्तहरुलाई व्यापक प्रचार गरिनुपर्ने जस्ता रणनीतिक प्राथमिकताहरु तय गरेको छ ।

नेरेसोका अध्यक्ष सञ्जीव थापाले भने–‘भविश्यमा हुनसक्ने ठूला विपद्मा थप प्रभावकारी सहयोग गर्न केन्द्र, प्रदेश र स्थानीय तहमा विपद् जोखिम न्यूनीकरणको लागि दीर्घकालीन लगानी र साझेदारी बढाउन अत्यावश्यक छ ।’

विसं २०७२ सालको विनाशकारी भूकम्प पश्चात रेडक्रसबाट गरिएको तत्काल सहयोग तथा अति प्रभावित जिल्लाहरुमा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रममा भएका राम्रा अभ्यास र चुनौतीहरुको समीक्षा गर्दै भविश्यमा यस्तै विपद् आँउदा समग्र रेडक्रस परिवारले अझ राम्रो गर्न व्यवहारिक उपाय सिक्न कार्यक्रम आयोजना गरिएको अन्तर्राष्ट्रिय महासंघका प्रतिनिधि जुजा किमले जानकारी दिए ।

जापान, थाइलैण्ड, कतार, अष्ट्रेलिया, वेलायत, अमेरिका, क्यानडा, डेनमार्क, फिनल्याण्ड, कोरिया, क्यानडा, स्पेन र स्वीजरल्याड रेडक्रसका प्रतिनिधिहरु, नेपाल सरकारका गृह, शहरी विकास, महिला बालबालिका तथा जेष्ठ नागरीक, कृषि र स्थानीय विकास मन्त्रालयका प्रतिनिधिहरु, केन्द्रीय आयोजना कार्यान्वयन इकाईका साथै भूकम्प प्रतिकार्य र पुननिर्माणमा संलग्न एनसेट, एचआरआरपी लगायतका प्रतिनिधिहरु तथा प्रतिकार्य गतिविधिमा संलग्न केन्द्र एवं जिल्लाका रेडक्रसकर्मीहरु गरी १४० जनाको सहभागिता रहेको सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।

गृहमन्त्रालयका उप सचिव वंशीकुमार आचार्यले भूकम्पको पहिलो दिनदेखि नै आफू हवाइअड्डामा खटिएको र रेडक्रसको कामबाट प्रभावित भएको बताए । मेक्सिकोका परामर्शदाता वानले सहजीकरण गरेको सो कार्यक्रममा सहभागी र नेपालमा भूकम्प प्रतिकार्यमा प्रत्यक्ष सहयोग गर्नुहुने सवैलाई नेरेसोका महामन्त्री देवरत्न धाख्वाले धन्यवाद दिए ।

विज्ञ समूहको छलफलमा एनसेटका डा. रमेश गुरागाईँले हाम्रो सामाजिक परिचालन र प्राविधिक क्षमताको आधारमा हेर्दा ३ वर्षमा मुलुकले पुननिर्माणका क्षेत्रमा ठूलो प्रगति मान्नु पर्ने बताउदै पुननिर्माणको अवधि वढाउनुपर्ने धारणा व्यक्त गरे । एचआरआरपीका लरेन लकुड नेपालको पुननिर्माणले १२ वर्षजति समय लिनसक्ने आँकलन गरे । विज्ञ डा. राम थपलियाले नेपालका संस्थाहरुको निर्णय र कार्यान्वयन क्षमता नै कमजोर रहेको तर्फ औँल्याए ।

समाजशास्त्री डा. जीवन बानियाँले पुननिर्माण निकाय र प्रभावित वीच उपयुक्त सञ्चार हुन नसकेको खोजहरुले देखाएको औँल्याउँदै क्षतिको अवस्था संकलन र पुननिर्माण योजनामा प्रभावितका कतिपय विषयलाई उचित सम्बोधन गर्न नसकिएको बताए ।

Share News