
काठमाडौँ । पोखरास्थित विन्ध्यवासिनी मन्दिर परिसरमा वृद्ध तथा अशक्त भक्तजनहरुलाई टेवा पुर्याउने उद्देश्यले लक्ष्मी ग्रुप, नेपाल तथा हुन्डाई मोटर कम्पनी, दक्षिण कोरियाको सहकार्यमा लिफ्टको निर्माण गरिएको छ ।

उक्त लिफ्टको फागुन २३ गते राष्ट्रपति विद्यादेवि भण्डारी उद्घाटन गरेकी छिन् । उक्त लिफ्ट समुद्घाटन समारोहमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका तर्फबाट उक्त समितिका अध्यक्ष तथा लक्ष्मी ग्रुप नेपालका अध्यक्ष गणेशबहादुर श्रेष्ठले स्वागत मन्तब्य व्यक्त गरेका थिए । उक्त स्वागत मन्तब्यमा उनले विन्ध्यवासिनी मन्दिरको बारेमा थप प्रष्ट पार्दै समितिका तर्फबाट भएका कार्यहरुको विवरण अवगत गराए ।
समितिले आफ्नो स्थापना भएपश्चात शिवमन्दिर, राधा कृष्ण मन्दिर, शन्तनिवास, गुरुकुलभवन, अष्ट चिरन्जिवी तथा नव ग्रहमन्दिर, यज्ञ मण्डपहरु, अखण्ड हवन मण्डप, विन्ध्यवासिनी बहुउद्देश्यशीय भवन, मन्दिर परिसरमा ढुङ्गा छाप्ने कार्य, जलधारा, पौवाको निर्माण भएको उनले जानकारी गराए ।
उक्त लिफ्ट उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्रीश्री पृथ्वी सुब्बा गुरुङ्ग, पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसी, दक्षिण कोरियाका राजदुत पार्क योङ–सिक, दाता हुन्डाई मोटर कम्पनीका प्रतिनिधि, लक्ष्मी ग्रुप नेपालका प्रतिनिधिहरु र विशिस्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

