बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडले तिलोत्तमा नगरपालिकाको शंकरनगर र कोटिहवामा शाखा कार्यालयको उद्घाटन गरेको छ ।
शंकरनगर शाखा कार्यालयको उद्घाटन प्रदेश नम्वर ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले गरेका छन् । त्यस्तै, कोटिहवा शाखाको उद्घाटन तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले गरेका हुन् ।
कार्यक्रममा मन्त्री गिरीले जनता मार्फत बैंकहरुले संकलन गरेको रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउन र सरकारले तर्जुमा गरेका योजनामा लगानी गर्न वित्तीय संस्थाको महत्वपूर्ण भुमिका रहने बताए । उनले कृषिलाई प्रमुख आधार बनाई उद्योग र पर्यटनका माध्यमबाट प्रदेशको समृद्धि सम्भव रहेकाले तिनै क्षेत्रमा लगानी गरी समृद्धिको अभियानको सहयात्री बन्न पनि बैंकलाई आग्रह गरेका छन् ।
तिलोत्तमा व्यापार संघका अध्यक्ष जे.पी. कण्डेलले स्थानीय लगानी र रोजगारमा आधारित यस विकास बैंकबाट व्यवसायीहरुले सहज र सरल सुबिधा प्राप्त गरेको जानकारी दिएका छन् ।
सोही अवसरमा बैंकले शंकरनगरका स्थानीय जेष्ठ नागरीकहरु १ सय वर्षीय गायत्री ज्ञवाली, ९३ वर्षीय लालबहादुर खड्का, ८९ वर्षीय कविराज गुरुङ्ग, ८७ बर्षीय पुर्णभद्र तिवारी र ८६ बर्षीय सुमित्रा पोखरेल तथा स्थानीय शान्तिटोल आमा समुहका अध्यक्ष सिता अर्याल, कालिका परोपकारी आमा समुहका अध्यक्ष गंगा खरेल, जनजागरण आमा समुहका अध्यक्ष गोमा खड्का, स्वास्थ्य आमा समुहका अध्यक्ष सरस्वती बराल, नमुना आमा समुहका अध्यक्ष बिष्णुमाया पोखरेल र महिला उद्यमी संगिता गौतम अर्याललाई सम्मान गरेको थियो ।
यसैगरी तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले नगरपालिकाले लिएको सबै नगरबासीको बंैक खाता अभियानलाई सहयोग गर्न र बैंकको लगानीलाई नगरको समृद्धिसँग जोड्न आग्रह गरेका छन् । नगरप्रमुख घिमिरेले तिलोत्तमा नगरपालिकामा लगानी क्षेत्र र सम्भावना धेरै रहेको उल्लेख गर्दै थप सम्भावनाको पहिचानका लागि नगरपालिकाले लगानी सम्मेलन गर्ने सोच बनाएको समेत जानकारी गराए ।
सोही अवसरमा बैंकले स्थानीय जेष्ठ नागरीकहरु ९० वर्षीय लक्ष्मी कोइराला, ८४ बर्षीय जंगबहादुर गुरुङ्ग, ८३ वर्षीय एकदेव पाण्डे, ८२ वर्षीय हरीकला पाण्डे र ८१ वर्षीय सैना गुरुङ्ग तथा प्रगतिशिल आमा समुहका अध्यक्ष लक्ष्मी घिमिरे, दुर्गा आमा समुहका अध्यक्ष राधा कोइराला, पशुपति आमा समुहका अध्यक्ष योगमाया पाण्डे र कालिका आमा समुहका अध्यक्ष मिना पाण्डेलाई सम्मान गरेको थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) प्रकाश पौडेलले स्थानीय पूँजी, स्थानीय श्रम, स्थानीय विकास, स्थानीय सम्बृद्धि भन्ने मूल नाराका साथ यस क्षेत्रमा सञ्चालित बैंकले स्थानीय जनताको आवश्यकताका आधारमा गुणस्तरीय र सर्बसुलभ बैकिङ्ग सेवा प्रवाह गर्दै आईरहेको जानकारी गराएका छन् ।
साथै, स्थापनाको १० वर्ष पुरा गर्न लाग्दा १ अर्ब ६२ करोड चुक्ता पूँजी, १६ अर्ब २५ करोड निक्षेप र १४ अर्ब ७५ करोड कर्जा रहेको संस्थाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । सीईओ पौडेल प्रदेश सरकार र स्थानीय सरकारसंगको सहकार्य र समन्वयमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने र प्रत्येक घरमा खाता खोल्ने गरी बैंकले योजना बनाएको बताएका छन् ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक आगामी फागुन ११ गते स्थापनाको १० औं बर्ष पुरा गरी ११ औं बर्षमा प्रवेश गर्दै छ ।