३१ साउन । नेपाल वायुसेवा निगमले १४८ जना कर्मचारीका लागि आवेदन खुला गरेकोमा करिव ३० हजार जनाले आवेदन बुझाएको छ । भदौ २ गतेसम्म आवदेन खुला रहेकोमा ३१ गतेसम्म करिव २८ हजार ५ सय २७ जनाले आवेदन बुझाएका छन् ।
प्रबक्ता रामहरि शर्माका अनुसार ४५ हजार फारम बिक्री भएको छ । थप सात दिनसम्म दोब्बर दस्तुर तिरेर आवेदन गर्न पाउने व्यवस्था भएकाले ३० हजार भन्दा बढीले आवेदन बुझाउन सक्ने अनुमान गरिएको उनले बताए ।

निगमले सामान्य प्रशासनमा २४ जना अधिकृत, १८ जना वरिष्ठ सहायक, ५६ जना सहायक कर्मचारी माग गरेको छ । लेखातर्फ २३ जना अधिकृत, ६ जना वरिष्ठ लेखा सहायक र २१ जना लेखा सहायक पदमा कर्मचारी माग गरेको छ ।

आवेदन खुला भएपछि न्यूरोडस्थित निगमको केन्द्रीय कार्यलयमा दैनिक आवेदन गर्न आउनेहरुको ठूलो भीड लाग्दै आएको छ । नेपाल बन्दको दिनमा पनि २ हजार भन्दा बढीले जागिरको लागि आवेदन बुझाएका छन् ।
आवेदन फारम भर्ने र बुझाउनेको भीडलाई व्यवस्थापन गर्न निगमलाई हम्मे हम्मे परेको छ । ‘लागत ५ रुपैयाँ पनि नपर्ने आवेदन फारकको एक सय रुपैयाँमा लिएको छ । तर फारम भर्न एउटा टेबुल पनि राखिएको छैन’ निगमको कम्पउण्डको चौरमा बसेर फारम भर्दै गरेका संगम केसीले बताए ।

उता फारम वितरण गर्दै गरेका कर्मचारीलाई पैसाको विटो समाल्न भ्याई नभई थियो । ‘यहाँ फोटो नखिच्नुहोस्, हामीले गाली खानुपर्छ’ निगमका सुरक्षाकर्मीहरु फोटो खिच्न रोक्ने प्रयास गर्दै थिए ।

आवेदकहरु कोही निगमको मुल गेटमै बसेर फारम भर्दै गरेको देखिन्छन् । केही पेटीमा बसेका छन्, कोही बगैचामा ।

परीक्षा दस्तुर अधिकृत स्तरको लागि ७०० र अन्यको लागि ५०० रुपैयाँ तोकिएको छ । निगमले साउन १४ गते सूचना प्रकाशित गरी २१ दिन भित्र आवेदन गर्न भनेको छ ।

२५ वहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्ने
नयाँ नियुक्ती प्रक्रिया अगाडि बढेपछि आफ्ना मान्छेलाई नियुक्ती दिलाउन व्यस्थापनलाई धेरै किसिमको दवाव परेको निगमका महाप्रवन्धक सुगतरत्न कंसाकार बताउँछन् । तर लिखित र मौखित दुबै परीक्षामा स्वच्छ प्रतिस्पर्धा गराउने उनको दावी छ । ‘निगमले २५ वटा वहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्नुपरेको छ, कसरी प्रतिस्पर्धी र दक्ष मान्छे ल्याउने भन्नेमा हाम्रो ध्यान केन्दीत भएको छ’ उनले भने ।

‘मन्त्री र सभासद्हरु डाइभर र पिउन राखिदिनु पर्यो भनेर फोन गनुहुन्छ । भेट्न आउनेको अनुहार हेर्दा दया लाग्छ । तर नया जहाज किनौ भन्दा तिनै सभासदहरु विरोध गर्नुहुन्छ’ निगमका महाप्रबन्धक कंसाकारले विकासन्युजसँग भने ।

‘उहाँहरुकै मान्छेलाई जागिर चाहिएको रहेछ २८ वर्षमा निगमले जहाज नकिन्दा उहाँहरुले जहाज किन्ने वातावरण बनाईदिनुपर्दैन ?’ कंशाकारले प्रश्न गरे । कंसारकार भन्छन्–दुईटा वाइडबढी जहाज थप्ने हो भनेको विरोध हुन थालेको छ । अहिले १४८ जना नयाँ कर्मचारी थप्न लाग्दा ३० हजार भन्दा बढी आवेदन आईसक्यो । जहाज थप्दा ४० जना पाईलट थप्नुपर्छ । एयर होस्टेज चाहिन्छ । इन्जिनियर चाहिन्छ । धेरैले रोजगारी पाउँछन् ।

निगममा हाल करिव १ हजार जना स्थायी कर्मचारी छन् भने करिव २५० जना करारमा कार्यरत रहेको उनले जानकारी दिए । तर उनीहरुमा प्रतिस्पर्धी क्षमता कम भएको भन्दै संसदीय समितिमा समेत आलोचना हुने गरेको छ । तर कंसाकारले उक्त आरोपमा सत्यता नभएको भन्दै निगमका कर्मचारीको क्षमताको बचाउ गरे । ‘नेपाल टेलिकमलाई एउटा वहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्न कठिन भएको छ, हामीले २५ वटा वहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गरिरहेका छौं । निगम पछाडि परेको काम गर्ने जनशक्ति नभएर होइन, निगमसँग जहाज नभएर हो’ उनी भन्छन्–निगममा जति जहाज छन् तिनलाई अधिकतम प्रयोग गरिएको छ । २४ घण्टा फ्याक्ट्री चलाउन सकिन्छ, तर २६ घण्टा चलाउन सकिदैन ।’
बाहिर खुला प्रतिष्पर्धा, भित्र २७ जना आफन्तको नियुक्ती
बाहिर खुला प्रतिस्पर्धामा आवेदकहरु तछाड मछाड गर्दै गर्दा भित्र आफन्तलाई भटाभट करारमा नियुक्त गर्ने काम भईराखेको छ । वायुसेवा निगमको महाप्रबन्धकमा सुगतरत्न कंसाकार नियुक्त भएपछि मात्रै २७ जनालाई करारमा नियुक्त गरिएको छ ।
करारमा नियुक्ती पाउनेहरु पर्यटन मन्त्री, एमालेमा प्रभावशाली नेता, सभासद, युनियन र महाप्रवन्धकका निकट मान्छे भएको स्रोतले बतायो । नियुक्त गरिएका मध्ये धेरैले कुनै काम पाएका छैनन् भने कतिपयका लागि के काम हो भन्ने समेत नतोकिएको निगमका कर्मचारीको भनाई छ ।
एमाले निकट कर्मचारी युनियनका अध्यक्ष राजन उप्रेतीले आफ्ना भाञ्जा रामकृष्ण अर्याललाई ग्राउण्ड इक्युपमेन्ट अफिसरमा जागिर खुवाएका छन् भने मन्त्री शेर्पाले एमाले कार्यकर्ता पूर्णप्रसाद पाण्डेलाई नियुक्ती दिलाएका छन् । कंसाकारकै घरको काममा सहयोग गर्दै आएकी सम्झना तामाङले पनि निगममा जागिरको मौका पाएकी छिन् । नियुक्त गरिएका मध्ये अधिकांश मन्त्री र महाप्रबन्धक कंसाकारका मान्छे रहेको निगम स्रोतले जनाएको छ । करारमा जागिर पाउनेहरुको नाम निम्नअनुसार रहेको छ ।

नभई नहुने कर्मचारी कर्मचारी राखिएको तत्काल राखिएको महाप्रबन्धक कंसाकारले बताए । ‘हेभी लाईसेन्स होल्डरलाई खोजी खोजी ल्याएर राखिएको छ, पिउन र डाईभरलाई राखिएको छ’–महाप्रबन्धक कंसाकारले बताए ।
‘बेरोजगारीको यति ठूलो समस्या छ समाचार लेखिदैन, १७ जना कर्मचारी करारमा राख्दा राष्ट्रिय स्तरको दैनिक पत्रिकाले ५५ जना कर्मचारी राख्यो भनेर पहिलो पृष्ठमा मूख्य समाचार छाप्यो, फेसबुक र ट्वीटरमा उक्त समाचार झुट हो भनेर भन्न बाध्य भए’–अधिकार क्षेत्रभित्र रहेर हेल्पर नियुक्तीमा पनि अनावश्यक प्रचार प्रसार भएकोमा असन्तुष्टि जनाए ।