भारतीय सेतो अण्डा भित्रिएपछि नेपाली उत्पादन प्रभावित, भारतीय ‘अण्डा’मा निगरानी

<p>चितवन । भारतीय सीमा क्षेत्रका नेपाली बजार हुँदै कुखुराको अण्डा भित्रन थालेकाले नेपाल अण्डा उत्पादक सङ्घले रोक्नका लागि निगरानी बढाएको छ । सङ्घको केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुले नियमित रुपमा त्यस्ता बजारको अनुगमन गरी अवैध रुपमा अण्डा भित्रन नदिन सचेत गराएका छन् । सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार सीमा क्षेत्रका बजारमा भारतीय सेतो अण्डा [&hellip;]</p>


चितवन । भारतीय सीमा क्षेत्रका नेपाली बजार हुँदै कुखुराको अण्डा भित्रन थालेकाले नेपाल अण्डा उत्पादक सङ्घले रोक्नका लागि निगरानी बढाएको छ ।

सङ्घको केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुले नियमित रुपमा त्यस्ता बजारको अनुगमन गरी अवैध रुपमा अण्डा भित्रन नदिन सचेत गराएका छन् ।

सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार सीमा क्षेत्रका बजारमा भारतीय सेतो अण्डा भित्रिएपछि नेपाली उत्पादन प्रभावित बनेको छ ।

कानूनी रुपमा हवाईमार्गबाहेक अन्यत्रबाट कुखुराजन्य पदार्थ आयात गर्न निषेध गरिएको कँडेलले बताउनुभयो । यद्यपि लुकीछिपी सीमाका बजारमा अण्डा आउन थालेपछि केन्द्रीय समितिले नियमित अनुगमन गरिरहेको कँडेलले बताए ।

केन्द्रीय समितिले सशस्त्र प्रहरीको सीमा सुरक्षा बलका अधिकारीलाई भेट गरी अण्डा भित्रन नदिन आग्रह गरेको उनले बताए ।

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय सचिव मदन पोखरेलका अनुसार बर्दघाट, भैरहवा, परासी, महेशपुर, वीरगञ्ज, जनकपुर, सिराहालगायत क्षेत्रमा नियमित अनुगमन भइरहेको छ ।

देशका अन्य सीमा क्षेत्रका बजारमा पनि भारतीय अण्डा भित्रन नदिन सम्बन्धित क्षेत्रका सशस्त्र प्रहरी, व्यवसायी र कृषकलाई आग्रह गरिएको उनले बताए ।

प्रतिक्रेट ३६५ सम्म पुगेको अण्डाको फार्म मूल्य घटेर हाल २७० मा कारोवार भइरहेको पोखरेलले बताए । दुई वर्षअघि अण्डाको प्रतिक्रेट मूल्य ३६५ रहेको थियो । उनका अनुसार देशभरमा दैनिक ३५ लाख अण्डा उत्पादन हुन्छ । जसमध्ये आधा चितवनमा उत्पादन हुँदै आएको छ ।

देशभरिका दुई हजार १०० खोरमा कुखुरा पालिँदै आएको छ । एक लाख ७० हजारभन्दा बढी मजदूर लेयर्स कुखुरापालनमा कार्यरत रहेका छन् ।

सङ्घका केन्द्रीय अध्यक्ष कँडेलका अनुसार नयाँ प्रविधिसँगै थपिएको लगानीका कारण कुखुराजन्य क्षेत्रमा एक अर्ब लगानी पुगेको छ । जसको आधा लगानी अण्डा पार्ने कुखुरामा रहेको छ । रासस

Share News