काठमाडौं। नियमित क्याम्पस जान नपाउने विधार्थीहरुको लागि त्रिभुवन विश्वविद्यालयले घरमै बसेर पढ्ने र परीक्षामा सहभागी हुन पाउने प्राइभेट परीक्षा कार्यक्रम यो वर्षदेखि बन्द गरेको छ। यसबाट धेरै विधार्थीहरु प्रभावित हुने देखिन्छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार गत वर्ष मात्र यो कार्यक्रममा ५ हजारभन्दा बढी विद्यार्थी सहभागी थिए।
यसरी परिक्षा दिनेमा अधिकांश सेना, प्रहरी, निजामती सेवा, गैरसरकारी र निजी क्षेत्रमा कार्यरत कर्मचारीहरु रहेका थिए। यस कार्यक्रममा राजनीतिशास्त्र र मास्टर्स इन पब्लिक एड्मिनिस्टेसन (एमपीए) पढ्न पाइन्छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार गत वर्ष स्नातकोत्तर तहको प्राइभेट परीक्षा दिनेमा राजनीतिशास्त्रतर्फ ३ हजार २ सय १५ र एमपीएमा २ हजार ९ सय ३१ विद्यार्थी थिए।
त्रिविले यसै वर्षदेखि स्नातकोत्तर तहमा उपत्यकाका सबै क्याम्पसमा सेमेस्टर प्रणालीमा पढाइ सुरु गरेको छ। उपत्यकाबाहिर भने यसलाई अनिवार्य बनाइएको छैन। यसअन्तर्गत भर्ना विद्यार्थी कक्षामा नियमित उपस्थित हुनुपर्छ। शिक्षकले दिएको ‘असाइनमेन्ट’ पनि पूरा गर्नुपर्छ। कक्षाको गतिविधिलाई आधार मानेर प्रयोगात्मक परीक्षामा अंक दिइने हुँदा सेमेस्टर प्रणालीमा कक्षामा विद्यार्थी नियमित उपस्थित हुनुपर्छ।